'आर्चरसँग सचेत रहनू’

स्टिभ स्मिथले तेस्रो  टेस्ट गुमाउने
(एएफपी)

लन्डन — इंग्ल्यान्डका बेन स्टोक्सले एसेज शृंखलाको बाँकी टेस्टमा जोफ्रा आर्चरबाट अझै बाउन्सर बर्सिने भन्दै अस्ट्रेलियालाई सचेत रहन चेतावनी दिएका छन् । आइतबार लर्ड्समा बराबरीमा सम्पन्न टेस्टमा ‘डेब्यु’ गरेका विश्वकप विजयी बलर आर्चरले बाउन्सरको वर्षा नै गरेका थिए । 

'आर्चरसँग सचेत रहनू’

‘यो खेलको एउटा हिस्सा हो र जोफ्राको खेल पनि । उनी आक्रामक रूपमा प्रस्तुत हुन्छन् र ब्याट्सम्यानलाई सहज हुन दिँदैनन्,’ स्टोक्सले भने । टेस्टमा कुल ५ विकेट लिएका आर्चरले शर्ट पिच बलहरू फाल्दै अस्ट्रेलियाका ब्याट्सम्यानलाई निकै अप्ठ्यारोमा पारेका थिए । आर्चरले ९१.६ प्रतिमाइल घण्टाको गतिमा गरेको बलले स्टिभ स्मिथको गर्दनमा लागेको थियो, जसका कारण ‘कनकसन’ भएका स्टार स्मिथ मैदानमा आउन असमर्थ रहेका थिए ।


‘जब कसैलाई बलले त्यसरी गहिरो गरेर लाग्छ, चिन्ता त अवश्य हुन्छ । तर फेरि अर्को बल सुरु गर्दा यस्तै बल फाल्छु भन्ने विचार आउँछ,’ आफैं पनि सिम बलर रहेका स्टोक्सले भने । स्मिथको स्थानमा मार्नुस लाबुसचेन्नीले लिँदै अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो ‘कनकसन सब्स्टिच्युट’ खेलाडी बन्दै इतिहास रचेका थिए । उनलाई पनि आर्चरले दोस्रो बलमै हेल्मेटमा प्रहार गरेका थिए । ती सबै बल क्रिकेटका नियमअनुरुप नै थिए, जसमा तीव्र बलरहरू पनि रमाउने गर्छन् । त्यसैले स्टोक्स मान्छन् लिड्समा बिहीबार सुरु हुने टेस्टमा आर्चरले आफ्नो शैली परिवर्तन गर्नुपर्ने कुनै कारण छैन ।


यता स्मिथले तेस्रो टेस्ट गुमाउने भएको क्रिकेट अस्ट्रेलियाले मंगलबार जनाएको छ । ३० वर्षे स्मिथले पहिलो टेस्टको दुवै इनिङ्समा शतक बनाएका थिए । दोस्रो टेस्टको पहिलो इनिङ्समा ९२ रन बनाउनेक्रममा उनलाई आर्चरको बलले गर्धनमा लागेको थियो । पहिलो टेस्टको दुई इनिङ्समा स्मिथले १४४ र १४२ रन बनाएका थिए ।


‘मंगलबारको अभ्याससत्रमा उत्रिन नसकेपछि स्टिभ स्मिथले तेस्रो टेस्ट गुमाउने भएको प्रशिक्षक जस्टिन ल्याङ्गरले बताएका छन्,’ क्रिकेट अस्ट्रेलियाले आफ्नो वेबसाइटमा जनाएको छ । स्मिथले खेल्न नसक्नु अस्ट्रेलियाको धक्का हो । अर्का अनुभवी ब्याट्सम्यान डेविड वार्नरले चार इनिङ्समा केवल १८ रनमात्र बनाउन सकेका छन् । तर स्मिथको स्थान लिँदै ‘कनकसन सब्स्टिच्युट’ लाबुसचेन्नीले अर्धशतक बनाउँदै टेस्ट जोगाउन मदत गरी अस्ट्रेलियालाई आशा देखाएका छन् ।


इंग्ल्यान्ड पाँच टेस्टको शृंखलामा १–० ले पछाडि रहे पनि आर्चरको अत्तिरिक्त तीव्र गतिको बलिङले पुनरागमन गर्ने आशा स्टोक्सको छ । एजबास्टनको पहिलो टेस्टमा २ सय ५१ रनले पराजित भएपछि इंग्ल्यान्ड शृंखलामा पछाडि परेको थियो । ‘सबै जोफ्राको लयअनुसार मिलेको छ, त्यसैले बाउन्सर बल कतिखेर आउँछ भन्ने थाहा पाउन कठिन हुन्छ,’ स्टोक्सले भने । लर्ड्सको दोस्रो टेस्टमा इंग्ल्यान्डका बलरले फालेको बलले १२ पटक अस्ट्रेलियाका ब्याट्सम्यानलाई हेल्मेटमा लागेको थियो, त्यसमा ११ पटक आर्चरकै बलिङमा थियो ।


‘उनले हाम्रो तीव्र गतिको बलिङ आक्रामणमा नयाँ आयाम दिएका छन् । उनले पहिलो इनिङ्समा २९ ओभर बलिङ गरेका थिए, त्यसमा अन्तिम आठ ओभरको स्पेलको तीव्र गतिको बलिङ उत्कृष्टमध्ये एक थियो । मैले खेल्न लागेपछि पहिलोपल्ट यस्तो स्पेलको बलिङ देखें,’ स्टोक्सले भने, ‘अस्ट्रेलियाका मिचेल जोन्सनले पनि विगतमा यस्तै बलिङ गरेकै हुन्, विशेष गरी २०१३ मा । जोफ्राले यसलाई अझ सजिलो जस्तो बनाइदिएका हुन् । मलाई उनको बलको सामना गर्नुभन्दा आफ्नै टोलीमा परेकोमा राम्रो लाग्छ । उनी असाधरण प्रतिभा हुन् ।’


प्रकाशित : भाद्र ४, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?