कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एभीसी सेन्ट्रल जोन भलिबल : माल्दिभ्सविरुद्ध बढ्दो आत्मविश्वास

कुशल तिमल्सिना

काठमाडौँ — घरेलु टोली नेपालले बुधबार एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलअन्तर्गत सेमिफाइनल प्रवेशका लागि गर या मरको स्थितिमा माल्दिभ्सको सामना गर्दै छ । पहिलो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित नेपालले माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्ने योजना सार्थक बनाउन आक्रामक खेलको रणनीति आत्मसाथ गर्नेछ ।

एभीसी सेन्ट्रल जोन भलिबल : माल्दिभ्सविरुद्ध बढ्दो आत्मविश्वास

माल्दिभ्सविरुद्ध नेपालका लागि सकारात्मक पक्ष टिमको आत्मविश्वास हो । दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्स नेपालका लागि परिचितमात्र होइन पटक–पटक पराजित गरिसकेको टिम पनि हो । किर्गिस्तानसँगको हारले जित्नैपर्ने अवस्थामा पुगेको नेपाली खेलाडीका लागि यो सकारात्मक मनोबलले काम गर्ने अपेक्षा गरिएको छ ।


‘सेन्ट्रल जोनको इतिहासमा हामीले सबैभन्दा धेरै खेलेको र जितेको टिम माल्दिभ्स हो, उनीहरूविरुद्ध हामीले आक्रामक खेल्नेछौं र उनीहरूको डिफेन्स कमजोर बनाउने प्रयास गर्नेछौं,’ दुई वर्षअघि माल्दिभ्सलाई नै हराएर सेन्ट्रल जोन भलिबलमा कांस्य जित्दाका महत्त्वपूर्ण सदस्य कप्तान इम रानामगरले भने, ‘किर्गिस्तानको खेल्दा हामी शारीरिक रूपमा कमजोर (होचा) भयौं, माल्दिभ्सविरुद्ध हामीले स्वाभाविक खेल खेल्नुपर्छ ।’


कप्तान इमले ब्लक र डिफेन्सकै समस्या नेपालका लागि टाउको दुखाइ भएको औंल्याए । पटक–पटक पराजित गरिसकेको टिम भएका कारण माल्दिभ्सविरुद्ध उच्च मनोबलसाथ उत्रने उनको दाबी छ । ‘हाम्रै कोर्टमा खेल भइरहेको छ र हामीलाई घरेलु समर्थकको साथ छ,’ उनले थपे, ‘तर पछिल्लो समय माल्दिभ्स टिम बलियो छ, हालै श्रीलंकासँगको मैत्रीपूर्ण शृंखला उनीहरूले जितेका थिए, हामीले उनीहरूको क्षमताको नजर अन्दाज पनि गर्नुहुन्न ।’

नेपाली टोलीका प्रशिक्षक हान अविङ माल्दिभ्सलाई कमजोर नठान्न चेतावनी दिन्छन् । उनले बुधबार कडा प्रतिस्पर्धा हुने उद्घोष गरेका छन् । ‘माल्दिभ्सविरुद्धको खेल हामीलाई निकै कठिन हुनेछ । मैले यसअघि हामीले खेलेको भिडियो हेरेँ । माल्दिभ्सविरुद्ध हाम्रा खेलाडीहरू अनुभवी छन्,’ ५८ वर्षीय डच प्रशिक्षक अविङले भने, ‘दुवै टोली एकैस्तरका हुन् । भोलि (बुधबार) कडा प्रतिस्पर्धा हुनेछ । हामी त्यसकै लागि अभ्यास गरिरहेका छौं, हाम्रा लागि एउटा अर्को अवसर छ ।’


नेपालले दुई वर्षअघि तेस्रो सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सलाई ३–१ को सेटमा पराजित गरी कांस्य पदक जितेको थियो । प्रशिक्षक अविङले गर या मरको स्थितिमा बुधबारको खेल पनि त्यस्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे । ‘हाम्रा लागि हरेक अंक गर या मरको स्थितिमा हुन्छ । कुनै खेलाडी कोर्टमा गइसकेपछि अंक हासिल गर्न चाहन्छ र खेल जित्न चाहन्छ । त्यस्तोमा कहिले सफल हुन्छ, कहिले हुँदैन,’ अविङले भने, ‘हामी डराउने छैनौं, खुसीको खोजी गरिरहेका छौं, जुन खास हुनेछ । बुधबार फेरि हलमा खचाखच समर्थक हुनेछन् र हामी राम्रो प्रदर्शन र जितको तयारी गरिरहेका छौं । दुई वर्षअगाडि ३३–३१, २८–२६ को प्रतिस्पर्धात्मक सेटमा नेपाल विजयी भएको गियो । सम्भवत: अहिले पनि त्यस्तै खेल हुनेछ ।’


प्रशिक्षक हानले किर्गिस्तानसँगको पराजयका क्रममा आफ्ना खेलाडीले कमजोर प्रदर्शन नगरेको बरु उनीहरू अर्कै स्तर भएकाले जित्न नसकिएको दाबी गरे । ‘हामी रिसिभमा त्यति कमजोर पनि होइनौं जति चर्चा भइरहेको छ । तर, २–३ जना अग्ला खेलाडीका कारण हामीले ब्लकमा राम्रो गर्न सकेनौं । त्यो विपक्षीको क्षमता पनि थियौं । त्यसले हामीलाई अप्ठ्यारोमा पार्‍यो । त्यस्ता विपक्षीको सामना गर्दा हाम्रा खेलाडीहरूमा अनुभव र एक्सपोजर अझै आवश्यक पर्दछ ।’


समूह ‘ए’ मा रहेका माल्दिभ्स र नेपालबीचको खेल बुधबार साँझ ५ बजेदेखि त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सुरु हुनेछ । त्यसअघि समूह ‘बी’ अन्तर्गत उज्वेकिस्तान र अफगानिस्तानबीचको खेल ३ बजेदेखि सुरु हुनेछ । बुधबारकै तेस्रो खेलमा साँझ ७ बजे साबिक विजेता तुर्कमेनिस्तान र बंगलादेश भिड्ने छन् ।

प्रकाशित : भाद्र ४, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?