१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

यूकेएफसीविरुद्ध सुनसरी विजयी

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टिम यूकेएफसी दार्जिलिङ पहिलो खेलबाट घर फर्किएको छ । सोमबार एलेभेन एरोज सुनसरीसँग २–० ले पराजित भएपछि दार्जिलिङ फर्केको हो ।

यूकेएफसीविरुद्ध सुनसरी विजयी

पहिलो सहभागितामै सुनसरी सेमिफाइनल पुगेको छ । सुनसरीले थ्रीस्टार क्लबवाट खेल्ने रुपेश केसी र विष्णु सुनुवार, मनाङ मर्स्याङदीका प्रवेश दनुवार र एनआरटीका जीवन धामीलाइ मैदान उतारेको थियो । मछिन्द्र क्लबका तीर्थ बस्नेत, सुदीप तामाङ र उमेश कार्की प्लेइङ सेटमै थिए भने क्यामरुनी टोली दाउफिन्सबाट खेल्दै आएका पिउसो र यानिक आना मैदानमा हाबी भए ।


सुनसरीको तर्फवाट दुवै गोल यानिकले नै गरे । उनले दोस्रो हाफको पाँचौं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि उनैले ११ औं मिनेटमा अर्को गोल थपेका थिए । तुलनात्मक होचा र कम उमेर समूहका खेलाडी रहेको दार्जलिङले सुनसरीलाई टक्कर भने दिएको थियो ।


दर्शकको समर्थन पनि दार्जिलिङलाई थियो । पहिलो हाफसम्म बराबरी खेलेको दार्जिलिङ दोस्रो हाफको सुरुमै गोल सामना गर्नुपरे पनि त्यसपछि भने रक्षात्मक खेल्यो र सहानुभूति लिएर फर्कियो ।


मंगलबार गत वर्षको विजेता रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ । रेड स्टारले झापा ११ का कर्ण लिम्बु, पूजन उपरकोटी, नीरज बस्नेत, विकास थुलुङ, बुद्ध चेम्जोङलगायत उतार्ने छ । गत वर्ष विदेशी खेलाडी ल्याएको रेडस्टारले यसपालि सबै नेपाली खेलाडी उतार्दै छ ।


गोर्खाले भने रेडस्टारको साख खोस्न क्यामरुनका तीन खेलाडीसहित थ्रीस्टारका विजय धिमाल, मनाङका दीपक राई र सुरज बिक, आर्मीका एकसहित ए डिभिजन खेलेका खेलाडी ल्याएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?