कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खजुरामा खारिँदै बालबालिका

रूपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका खेलाडीको गाउँ हो । त्यहाँबाट धेरै खेलाडी राष्ट्रियस्तरमा उदाएका छन् । गाउँमा लुकेको खेलसंस्कृति उजागर गर्न त्यहाँ अहिले फुलबल प्रशिक्षण सुरु गरिएको छ ।

खजुरामा खारिँदै बालबालिका

खजुरा गाउँपालिका–२ का १६ वर्षमुनिका बालबालिकालाई प्रशिक्षणमा सहभागी छ । उनीहरू धुलेमाटोमा फुटबलको अभ्यास गर्न तल्लिन छन् । तीन वर्ष नियमित प्रशिक्षण दिएर खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।


‘प्रमुख उद्देश्य फुटबलर बनाउने हो,’ खेल अभियन्ता ऋषि पोखरेलले भने, ‘गाउँमा रहेका प्रतिभालाई प्रशिक्षण दिएर कुशल खेलाडी बनाउने अभियान थालेका हौं ।’ अभ्यासमा व्यस्त स्थानीय शान्ति पौडेल बललाई एकैछिन पनि आफूबाट टाढा राख्न सक्दिनन् । नियमित अभ्यासमा सहभागी भएर राष्ट्रिय खेलाडी बन्ने सपना बोकेर मैदानमा उत्रिएकी छन् । ‘पढाइ अनि घरको काम सकेर अभ्यासमा आउने गर्छु,’ उनले सुनाइन्, ‘राम्रो फुटबल खेलाडी बन्ने सोच छ ।’


उनीसँगै खेलिरहेकी मनीषा सुनारले पनि आफू खेल भनेपछि हुरुक्कै हुने गरेको बताइन् । झन् गाउँमा नै फुटबलको अभ्यास जुरेकामा उनमा खुसीको सीमा छैन । ‘धेरै खुसी लागेको छ । गाउँमै अभ्यास गर्न पाइयो,’ उनले भनिन्, ‘टाढा भएको भए सायद खेल्न पाइँदैनथ्यो होला ।’


खजुराको सीगाउँस्थित एक स्कुलको मैदानमा करिब सय बालबालिका फुटबल अभ्यास गरिरहेका भेटिन्छन् । गाउँगाउँमा रहेका प्रतिभालाई एकैथलोमा ल्याएर कुशल खेलाडी बनाउने यो एउटा अभियान भएको फुटबल क्रेजी भनेर चिनिने जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष भोजराज शाहीले बताए । ‘पहिलो त फुटबलको क्रेज बढाउने र फुटबल खेल्ने सीप सिकाउने योजना हो,’ उनले भने ।

वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को अगुवाइमा बालबालिकालाई फुटबल प्रशिक्षण दिन सुरु गरिएको हो । इन्प्रोक अध्यक्ष तेजविक्रम शाहले खजुरा गाउँपालिकाका धेरै युवा कुलतमा फस्दै गरेकाले फुटबलको अभियान सुरु गरिएको बताए । ‘गाउँकै धेरै युवा लागूऔषध चपेटामा छन्,’ उनले भने, ‘खेलको माध्यमबाट दुर्व्यसन रोक्न खेल अभियान सुरु गरेका हौं ।’


राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेका भीमजंग शाह नेपालगन्जबाट आएर गाउँमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । ‘हाम्रो पालामा सम्भावना थिएन । अहिलेका बालबालिकालाई अवसरै अवसर छ,’ उनले भने, ‘राम्रा खेलाडी उत्पादन गर्ने र कुलतमा फसेका युवालाई खेलमा व्यस्त गराउने अभियान हो यो ।’

प्रकाशित : भाद्र ३, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?