‘कनकसन सब्स्टिच्युट’ को उपयोग

एएफपी

लन्डन — मार्नुस लेबासचेन्नीले अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो ‘कनकसन सब्स्टिच्युट’ खेलाडी बन्दै इतिहास रचेका छन् । उनकै अर्धशतकमा अस्ट्रेलियाले आइतबार लर्ड्समा एसेज शृंखलाको दोस्रो टेस्टमा इंग्ल्यान्डसँग बराबरीको नतिजा ल्याउन सफल भएको छ । 

‘कनकसन सब्स्टिच्युट’ को उपयोग

लेबासचेन्नी आइतबार बिहानसम्म खेल्ने निश्चित थिएन । शनिबार ९२ रन बनाउनेक्रममा अस्ट्रेलियाका स्टिभ स्मिथलाई जोफ्रा आर्चरको बलले टाउकोमा लागेको थियो । सोही कारण स्मिथले खेल्न नसक्ने भएपछि लेबासचेन्नीले खेल्ने मौका पाएका थिए । टेस्ट क्रिकेटमा यसअघि वैकल्पिक फिल्डरमात्र प्रयोग हुने गरेको थियो । लेबासचेन्नीले वैकल्पिक खेलाडीको भूमिकामा ब्याटिङ गर्दै इतिहास रचेका हुन् ।


‘कनकसन सब्स्टिच्युट’ को अर्थ कुनै पनि खेलाडीलाई दखल भएको अवस्थामा उनी खेल्न नसक्ने भएर आउने वैकल्पिक खेलाडीलाई भनिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सुरु गरेको विश्व टेस्ट च्याम्पियनसिपमा यो नियम पनि पहिलोपल्ट प्रयोग गरेको हो ।


कुनै पनि खेलाडी ‘कनकसन’ भएमा उसको स्थानमा टोलीको विकल्पमा रहेका कोही खेलाडी पनि आएर ब्याटिङ र बलिङ गर्न पाउने छ । सन् २०१४ मा सेफिल्ड सिल्डमा बाउन्सरले टाउको पछाडि घाँटीको भागमा लागेर फिल ह्युजको निधन भएपछि अस्ट्रेलियाले घरेलु क्रिकेटमा ‘कनकसन’ नियम ल्याएको थियो, जसलाई अहिले आईसीसीले पनि स्वीकृत गरेको हो ।


लेबासचेन्नीले यो केवल छैटौ सहभागिता हो । अन्तिम अवस्थामा आएको मौकामा उनले ५९ रन बनाए । उनलाई पनि आर्चरको दोस्रो बलले हेलमेटमा लागेको थियो, जुन बल ९१.६ प्रतिमाइल घण्टाको गतिमा थियो । अस्ट्रेलिया ६ विकेट गुमाई १ सय ५४ रनमा रहेको अवस्थामा टेस्ट बराबरीमा टुंगिएको थियो । ‘मार्नुसले सानदार खेले,’ अस्ट्रेलियाका कप्तान टिम पेनले भने, ‘उनलाई दोस्रो बलमै कडा प्रहार लागेको थियो । त्यसका बावजुद उनले जुझारुपनका साथ सानदार स्किल र टेक्निकले खेले ।’


कप्तान जो रुटले अस्ट्रेलियालाई ४८ ओभरमा २ सय ६७ रन बनाउनुपर्ने असम्भव चुनौती दिएपछि इंग्ल्यान्डले शृंखला १–१ को बराबरीमा ल्याउने भरपूर प्रयास गरेको थियो । त्यसभन्दा अघि बेन स्टोक्सले अविजित १ सय १५ रन बनाउँदै इंग्ल्यान्डलाई उकासेका थिए । चिया समयमा अस्ट्रेलिया १३२–३ को स्थितिमा रहँदा टेस्ट बराबरीमा टुंगिने निश्चित जस्तै देखिएको थियो । वर्षाले सुरुको पहिलो पाँच सेसनको खेल हुन नदिँदा र शनिबारको खेल पनि ढिलो गरी सुरु हुनाका बावजुद टेस्ट नतिजाका लागि रोमाञ्चक स्थितिमा पुगेको थियो ।


एजबास्टनको पहिलो टेस्ट २ सय ५१ रनको फराकिलो अन्तरले जितेको अस्ट्रेलियाले १७ रनको अन्तरमा ३ विकेट गुमाएपछि इंग्ल्यान्डको आशा पलाएको थियो । अन्तिम ओभरमा खेल पुग्दा इंग्ल्यान्डलाई ४ विकेट चाहिएको थियो । प्याट कमिन्सले ज्याक लिचको तीन बल खेल्दै सुरक्षित भएपछि टेस्ट बराबरीमा टुंगिएको हो । डेब्यु गरिरहेका तीव्र गतिका बलर आर्चरले ३२ रन खर्चेर ३ विकेट लिँदै टेस्टमा ५ विकेट लिए । लिचले ३७ रन खर्चेर ३ विकेट लिए ।


‘बलियो रूपमा पुनरागमन गर्न महत्त्वपूर्ण थियो, मलाई लाग्छ हामीले त्यही गर्‍यौं,’ रुटले भने । पहिलो टेस्टको दुवै इनिङ्समा शतक बनाएका स्मिथले टाउकोमा लागेको चोटका कारण बिहीबारदेखि लिड्समा सुरु हुने तेस्रो टेस्ट पनि गुमाउने सम्भावना छ । १८ वर्षपछि इंग्लिस भूमिमा टेस्ट जित्ने आशामा रहेको अस्ट्रेलियालाई स्मिथ अनुपस्थित रहेमा ठूलो धक्का लाग्नेछ ।


‘उनले अर्को टेस्ट खेल्नेमा म निश्चित छैन,’ पेनले स्मिथबारे भने, ‘उनको स्वास्थ्यमा अझ सुधार हुन जरुरी छ, त्यसमा कुनै शंका छैन । उनले खेल्ने छन् भन्ने हाम्रो आस छ । क्रिकेट अस्ट्रेलियाले स्मिथको घाँटीको स्क्यान गरेपछि मात्र उनको स्थिति कस्तो रहने थाहा हुने जनाएको छ । यता स्मिथ घटनापछि क्रिकेट अस्ट्रेलियाले घाँटीमा पनि सुरक्षित साधन लगाउनुपर्ने दिन नजिक आइसकेको जनाउ दिएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?