एभीसी सेन्ट्रल जोन भलिबल : नेपालको पहिलो परीक्षा

कुशल तिमल्सिना

काठमाडौं — ऐतिहासिक उपलब्धिको लक्ष्यसहित नेपालले एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआती खेलमा पूर्व च्याम्पियन कीर्तिस्तानको सामना गर्दैछ  । समूह ‘ए’ मा यी दुईको खेल सुरु हुनुअघि लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा प्रतियोगिताको उद्घाटन हुनेछ  ।

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालको पहिलो परीक्षा

पहिलोपल्ट घरेलु माहोलमा हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालको तयारी पूरा भएको छ । नेदरल्यान्ड्सका प्रशिक्षक हान अविङले २ महिनायता नेपाली टोलीको कमजोरी सुधारको प्रयास गरिरहेका छन् । अन्तिम छनोटमा परेका १२ खेलाडीमा अधिकांश युवा छन् । समग्रमा नेपाली टिम युवा जोस र घरेलु कोर्टको आत्मविश्वासका साथ तयार अवस्थामा छ ।


नेपालले १४ खेलाडीको अन्तिम टिम छनोट गरी तयारीलाई अन्तिम रूप दिएको थियो । प्रतियोगिताको नियमअनुसार १२ खेलाडीमात्र टिममा राख्न पाइने भएपछि अलराउन्डर विशाल विक र लिब्रो विनोद चन्द टिमबाट बाहिर भएका छन् । गत साता अफगानिस्तानसँगको मैत्रीपूर्ण शृंखलाका क्रममा चोटग्रस्त बनेका कप्तान इम रानामगर र मुख्य स्पाइकर धनबहादुर भट्ट फिट भइसकेका छन् । उनीहरूले शनिबारदेखि प्रशिक्षण गरेका छन् ।


माल्दिभ्समा सम्पन्न यही प्रतियोगिताको तेस्रो संस्करणमा नेपालले कांस्य जित्दा स्वर्ण जितेको टिम हो कीर्गिस्तान । त्यसअघि बंगलादेशमा भएको दोस्रो संस्करणमा पनि उसले फाइनल खेलेको थियो । तर सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो । त्यसयता नेपालको स्तर यथावत रहँदा कीर्गिस्तानले भने फडको मार्‍यो । सेन्ट्रल जोन इतिहासमा पहिलो खेलमा जित हासिल गरे पनि त्यसपछि नेपाल र कीर्गिस्तान ३ पटक आमनेसामने भएकोमा नेपालले आफ्नो पक्षमा नतिजा ल्याउन सकेको छैन ।


दोस्रो र तेस्रो संस्करणको लिग चरणमा र चौथो संस्करणमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । गत वर्ष इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा १५ औं स्थानको प्लेअफ खेलमा कीर्गिस्तानले वाकओभर दिएको थियो ।


‘समग्रमा यस प्रतियोगितामा खेल्ने सबै टिम समान वरीयताका हुन्,’ नेपाली टोलीका सहायक प्रशिक्षक सुदेश रिमालले भने, ‘शारीरिक र प्राविधिक रूपमा उनीहरू हामीभन्दा केही राम्रा छन् । घरेलु मैदानको फाइदा हामीलाई हुनेछ । पहिलो खेलमै उनीहरूलाई दबाबमा राख्न सकियो भने प्रतियोगिताका बाँकी खेलहरू हामीलाई सहज पनि हुन्छ ।’


नेपाली टोलीले के बुझेको छ भने कीर्गिस्तानजस्तो बलियो टिमविरुद्ध खेल्दा नेपालले स्वाभाविक खेल कायम राख्ने प्रयास गर्नुपर्छ । यसअघि नेपालको मुख्य प्रशिक्षकसमेत रहेका रिमालले पनि आक्रमण प्रदर्शनमा नेपाल बलियो रहेको बताए । रक्षात्मक खेलका लागि हामीले सुधार गर्नुपर्ने रिसिभमा नै हो । डच प्रशिक्षक हानले पनि जिम्मेवारी लिएदेखि नै रिसिभ र ब्लकमा केन्द्रित रही विशेष प्रशिक्षण दिइरहेका छन् ।

‘ठूलो सफलताका लागि अग्रसर हुँदा हाम्रा लागि पहिलो खेल निकै नै महत्त्वपूर्ण छ । यस खेलमा अंक हासिल गर्नका लागि हाम्रा खेलाडीले रिसिभमा कुनै गल्ती गर्नु हुँदैन,’ प्रशिक्षक रिमालले भने, ‘यदि हामीले रिसिभमा अपेक्षाकृत प्रदर्शन गर्न सक्यौं भने हाम्रो जित प्रबल छ ।’ उनले पहिलोपल्ट टिममा परेका खेलाडीहरूले प्लेइङ सेटमा स्थान बनाउने सम्भावना प्रबल रहेको बताए । अफगानिस्तानविरुद्धको खेलमा पहिलोपल्ट टिममा परेका राजेन्द्र विष्ट, टेकराज अवस्थी र दुर्गा खडकाको प्रदर्शनबाट प्रशिक्षक हान पनि प्रभावित बनेका छन् ।


इमले पनि सकारात्मक मनोबलका साथ खेल्दा कीर्गिस्तानलाई हराउन असम्भव नरहेको बताए । ‘हाम्रो प्रतिद्वन्द्वी बलियो हो तर हराउनै नसक्ने होइन । पहिलो संस्करणमा पनि हामीले पराजित गरिसकेका छौं र यसपल्ट घरेलु कोर्ट र समर्थकमाझ हामी उनीहरूलाई कडा टक्कर दिनेछौं,’ सेन्ट्रल जोनमा यसअघिका चारै संस्करण खेलेका इमले भने, ‘हाम्रो माहोलमा उनीहरू अभ्यस्त भइसकेका छैनन् । पहिलो खेलमै सकारात्मक नतिजा ल्याउन सके हामीलाई पनि सजिलो हुनेछ ।’


कप्तान इम र उपकप्तान कुलबहालुर थापाबाहेक अन्य सबै खेलाडीको अनुभव लामो छैन । बाँकी सबैले सेन्ट्रल जोन भलिबलकै क्रममा अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । तीन खेलाडी पहिलोपल्ट टिममा परेका छन् ।

इम रानामगर (कप्तान), ३२ वर्ष, लिफ्टर


नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, इम । २०६२ सालमा नेपाल पुलिस क्लबमा आबद्ध भएयता केही वर्ष स्पाइक पोजिसनमा खेले । मांसपेशीमा समस्या आएपछि पोजिसन परिवर्तन गरी उनी लिफ्टर बने, यही पोजिसनले उनलाई अन्तर्राष्ट्रिय सफलतामा ठूलो मार्गनिर्देश गर्‍यो ।

सन् २०१० मा बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुदमार्फत नेपाली टोलीमा डेब्यु गरेका उनले त्यसयता नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमको प्रतिनिधित्व गरेका छन् । सेन्ट्रल जोन भलिबलको पहिलोदेखि चौथो, भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद, इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा उनी टिमको महत्त्वपूर्ण सदस्य हुन् । कास्कीका इम २००६ मै राष्ट्रिय टोलीको क्याम्पमा परेका थिए । छनोट नभएपछि उनले बीच भलिबल पनि खेले । पुलिस क्लबका पनि कप्तान इमले अन्तर्राष्ट्रिय आमन्त्रणसहित बंगलादेशको प्रिमियर लिगमा पनि सहभागी भएका छन् ।


कुलबहादुर थापा, ३२ वर्ष


आउटसाइड हिटर (स्पाइकर), ४ नम्बर जोन
२०६७ सालमा नेपाल पुलिसमा आबद्ध हुनुअगाडि नै गुल्मीका कुलबहादुर स्थानीय र क्षेत्रीय भलिबलमा स्थापित भइसकेका थिए । पीलए स्पोर्टस हुँदै पुलिसमा अनुबन्ध भएकै वर्ष उनले राष्ट्रिय टोलीमा डेब्यु गरे । २०६७ सालमा अन्तर्राष्ट्रिय आमन्त्रण कपमा अफगानिस्तानविरुद्ध उनले राष्ट्रिय जर्सीमा पहिलो खेल खेले । उनले सेन्ट्रल जोनका चारै प्रतियोगिता, सन् २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुद र गत वर्ष १८ औं एसियाली खेलकुदमा खेलेका थिए ।

धनबहादुर भट्ट, २८ वर्ष


आउटसाइड हिटर (स्पाइकर), ४ नम्बर जोन
गोरखाका धनबहादुर अहिले नेपाली टोलीका मुख्य स्पाइकर हुन् । २०६९ देखि तीन वर्ष एपीएफ क्लबबाट खेलेका धनबहादुर २०७२ सालमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकै वर्ष राष्ट्रिय टोलीको छनोटमा परेका थिए । त्यही वर्ष बंगलादेशमा सम्पन्न पहिलो सेन्ट्रल जोन भलिबलमार्फत उनले अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।

ईश्वर थापा, ३३ वर्ष, लिब्रो


ईश्वर लिब्रो पोजिसनका टिममा एकमात्र खेलाडी हुन् । तनहुँका ईश्वरले दोस्रो सेन्ट्रल जोन भलिबलमार्फत राष्ट्रिय टोलीबाट डेब्यु गरे । आर्मीबाट खेल्ने उनले त्यसयता सेन्ट्रल जोनका तेस्रो र चौथो संस्करण खेलेका छन् भने १८ औं एसियाली खेलकुदमा पनि उनी टिममा थिए । २०६१ सालमा सेनामा आबद्ध भएका उनी २०६७ सालमा मात्र त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्न थालेका हुन् ।

हरिहजुर थापा, २९ वर्ष, लिफ्टर


आर्मीका महत्त्वपूर्ण सदस्य ओखलढुंगाका हरिहजुरले राष्ट्रिय टोलीबाट धेरै अवसर पाएका छैनन् । २०७२ सालमा बंगलादेशमा भएको पहिलो सेन्ट्रल जोनमा उनी टिमको नयाँ सदस्य थिए । इम र उनको एउटै पोजिसन भएका कारण उनीसँग धेरै खेलको अनुभव छैन । गत साता अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा उनले धेरैलाई प्रभावित पार्न सफल रहे ।

नरेन्द्र गिरी, २७ वर्ष


अपेजिट पोजिसन (अलराउन्डर), २ नम्बर जोन
२०६७ सालमा आर्मीमा अनुबन्ध हुनुअघि नरेन्द्रले स्थानीय र विद्यालयस्तरीय प्रतियोगिताहरू पनि खेलेका थिए । आर्मी क्लबमा आबद्ध भएपछि उनले भलिबल करिअरले उचाइ लिएको हो । २०७३ सालमा बंगलादेशमै भएको दोस्रो सेन्ट्रल जोन भलिबलमार्फत उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । त्यसयता उनले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् ।

हरिबहादुर अधिकारी, २८ वर्ष


मिडिल ब्लकर (क्वीकर), ३ नम्बर जोन
हरिको व्यावसायिक भलिबल करिअर लामो छैन । ओखलढुंगाका उनले स्थानीय स्तरमा पनि भलिबल खेलेका थिए । २०७१ सालमा त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएको ३ वर्षपछि नै उनी राष्ट्रिय टोलीको क्याम्पमा परेका थिए । २०७४ मा माल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोन प्रतियोगितामा डेब्यु गरेका उनी पहिलो प्रतियोगितामै अन्तर्राष्ट्रिय पदक जित्ने भाग्यमानी खेलाडीमा पर्छन् । त्यसयता उनले १८औं एसियाली खेलकुद र सेन्ट्रल जोनकै चौथो संस्करण पनि खेले ।

दीपकराज जोशी, २५ वर्ष


मिडिल ब्लकर (क्वीकर), ३ नम्बर जोन
२०६८ सालमा नेपाल पुलिस क्लबमा अनुबन्ध भएका बझाङका दीपकले २०७४ मा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कपमा राष्ट्रिय टोलीमा पहिलोपल्ट स्थान बनाएका थिए । २ वर्षयता उनी टिमको नियमित सदस्य भएका छन् । गत वर्ष उनले १८ औं एसियाली खेलकुद र चौथो सेन्ट्रल जोनमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

राजकुमार निरौला, २७ वर्ष


अपेजिट पोजिसन (अलराउन्डर), २ नम्बर जोन
खोटाङका राजकुमार पनि ती भाग्यमानी खेलाडीमै पर्छन् जसले डेब्यु प्रतियोगितामै ऐतिहासिक पदक जिते । तेस्रो सेन्ट्रल जोनमा कांस्य जित्दा पहिलोपल्ट टिममा परेका उनी २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । २०७० सालदेखि एपीएफ क्लबमा अनुबन्ध भएका उनले यसबीचमा डेनमार्क, हङकङमा पनि व्यावसायिक भलिबल खेले ।

राजेन्द्र विष्ट, २३ वर्ष


आउटसाइड हिटर (स्पाइकर), ४ नम्बर जोन
लामो समयको प्रयासपछि राजेन्द्रले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । दार्चुलामा २०६६ सालदेखि विद्यालयस्तरीय प्रतियोगिता हुँदै राष्ट्रपति रनिङ सिल्ड र क्षेत्रीय प्रतियोगिता खेलेका राजेन्द्र २०७० मा त्रिभुवन आर्मी क्लबमा आएका हुन् । तीन वर्षअघि राष्ट्रिय क्याम्पमा परेर अन्तिम छनोटमा असफल भएका उनी तेस्रो प्रयासमा टिममा परेका हुन् । गत साता अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । उनी पहिलो रोजाइमा पर्ने सम्भावना छ ।

टेकराज अवस्थी, २३ वर्ष


आउटसाइड हिटर (स्पाइकर), ४ नम्बर जोन
राष्ट्रिय टोलीका नयाँ सदस्य टेकराज टिममा कान्छा खेलाडी हुन् । ४ वर्षदेखि एपीएफ क्लबबाट व्यावसायिक भलिबल खेलिरहेका उनी पहिलोपल्ट क्याम्पमा परे र राष्ट्रिय टिममा छनोट भए । सुरुमा कराँते खेल्ने डडेल्धुराका टेकराजले उमेर र उचाइसँगै भलिबल खेल्न थालेका हुन् । राष्ट्रिय टोलीको सपना पूरा भए पनि उनी पहिलो सेटमा पर्ने प्रयासमा हुनेछन् ।

दुर्गाबहादुर खड्का, २४ वर्ष


मिडिल ब्लकर (क्वीकर), ३ नम्बर जोन
रामेछापमा दुर्गाबहादुर खड्काले त्रिभुवन आर्मी क्लबमा आएपछि भलिबलको आधारभूत ज्ञान लिएका हुन् । २०७२ सालमा नेपाली सेनामा आबद्ध भएको २ वर्षपछि मात्रै उनले भलिबल खेल्न थाले । डच प्रशिक्षक हानको मातहतमा उनले आफूलाई धेरै सुधार गरेका छन् । आर्मीकै टिममा धेरै अवसर नपाएका उनले अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित : भाद्र २, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?