एभीसी सेन्ट्रल जोन भलिबल : नेपाललाई अवसर

कुशल तिमल्सिना

काठमाडौँ — अन्तर्राष्ट्रिय सहभागिताको ४० वर्ष लामो इतिहासमा नेपाली भलिबलले अहिलेसम्म उल्लेख्य सफलताको स्वाद चाख्न पाएको छैन ।

एभीसी सेन्ट्रल जोन भलिबल : नेपाललाई अवसर

सन् १९७८ को एसियाली खेलकुदमा पहिलोपल्ट अन्तर्राष्ट्रिय सहभागिता जनाएयता दुई वर्षअघि एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा जितेको कांस्य पदक नेपालको ठूलो सफलता हो ।


एसियन भलिबल फेडेरेसन (एभीसी) ले मध्य एसियाका तल्लो वरीयताप्राप्त टिमबीच आयोजना गर्ने सेन्ट्रल जोन भलिबलको पाँचौं संस्करण सोमबारदेखि ललितपुरमा आयोजना हुँदै छ । घरेलु भूमिमा ठूलो सफलताका लागि यो राम्रो अवसर हुनसक्छ ।


त्रिभुवन आर्मी क्लबको कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित दुईपल्टको विजेता तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् । समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ । यसअघिका तीन संस्करण बंगलादेशमा आयोजना भएका थिए भने नेपालले पदक जितेको तेस्रो संस्करण माल्दिभ्समा भएको थियो ।


राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठले पनि घरेलु कोर्टमा हुने यस प्रतियोगिता नेपालका लागि ऐतिहासिक अवसर हुनसक्ने अपेक्षा गरेका छन् । उनका अनुसार लगातारको अन्तर्राष्ट्रिय सहभागिताले नेपालको स्तर बढेको छ । विदेशी प्रशिक्षकको आगमनले टिम सुधारिएको छ । आत्मविश्वास तथा उत्साह निकै धेरै छ ।


‘प्रशिक्षक हान अविङले भनेजस्तै अहिले राष्ट्रिय टोलीमा देशकै उत्कृष्ट १४ जना समावेश भएका छन् । मेरो अनुभवमा राष्ट्रिय टोलीमा अतिरिक्त खेलाडीको अभाव सधैं रह्यो । नियमित सेटका खेलाडीको तालमेल बिग्रिएको अवस्थामा अतिरिक्त पनि उस्तै स्तरको हुनुपर्छ,’ पहिलो संस्करणमा मुख्य प्रशिक्षकको भूमिकामा रहेका श्रेष्ठले भने, ‘अहिले आ–आफ्नो पोजिसनमा उत्कृष्ट खेलाडी छन् । प्रशिक्षकका लागि उत्कृष्टमध्ये उत्कृष्ट विकल्प रहनेछ ।’


पहिलोदेखि पाँचौं संस्करणसम्म आउँदा नेपाली टिमको स्तरमा व्यापक सुधार भएको छ । त्यसमाथि घरेलु कोर्ट र समर्थक नेपालका लागि अर्को हतियार हुनेछ । युवा खेलाडीले अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा आफ्नो उत्साह देखाइसकेका छन् ।


‘विपक्षीहरू हामीले पछिल्लो ४ वर्षदेखि खेल्दै आएका टिम नै हुन् । नेपाली टोली पनि पहिलेजस्तो रहेन, अहिले टेक्निकल्ली र ट्याक्टीकल्ली धेरै सुधार आएको छ,’ घरेलु भलिबलका सफल प्रशिक्षक श्रेष्ठले थपे, ‘घरेलु मैदान र समर्थक हाम्रा लागि निर्णायक हतियार हो । त्यो भन्दा महत्त्वपूर्ण पक्ष खेलाडीमा सकारात्मक सोच छ । हामी जित्न सक्छौं ।’


प्रशिक्षक श्रेष्ठको नजरमा नेपाली टोली फाइनल पुग्ने अवसर छ । नेपालले किर्गिस्तानसँग पहिलो खेल खेल्नेछ । तेस्रो संस्करण च्याम्पियन टिमविरुद्धको प्रदर्शन सकारात्मक रहे नेपालका लागि माल्दिभ्सविरुद्धको दोस्रो खेल तुलनात्मक रूपमा सहज हुनेछ । किनभने यही प्रतियोगितामा नेपालले सबैभन्दा धेरै पटक पराजित गरेको टिम हो, माल्दिभ्स । ‘समूह विजेता बन्नसके सेमिफाइनल सहज हुनसक्छ,’ प्रशिक्षक श्रेष्ठले भने ।


नेदरल्यान्ड्सका प्रशिक्षक हान आविङले नेपाली टोलीलाई दुई महिनादेखि प्रशिक्षण दिइरहेका छन् । उनले एकपछि अर्को खेलमा सकारात्मक नतिजासहित प्रतियोगितामा उच्चतम सफलताको खाका कोर्ने बताइसकेका छन् ।


भारतसँगको मैत्रीपूर्ण शृंखला रद्द भएपछि नेपालले बुधबार र बिहीबार अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । ‘नयाँ प्रशिक्षक आएपछि हामीले परम्परागत समस्याको रूपमा रहेको रिसिभ र ब्लकमा धेरै मिहिनेत गरेका थियौं,’ नेपालका कप्तान इम रानामगरले भने, ‘अफगानिस्तानको खेलका क्रममा हामीले त्यसको परीक्षण गर्‍यौं । नतिजा सकारात्मक छ तर सन्तुष्ट हुने अवस्था अझै छैन । प्रतियोगिताको उपाधिसम्मको सपना देखेका हामीले आफ्ना कमजोरी अझै कम गर्न केन्द्रित हुनुपर्छ ।’


यसअघिका चारै संस्करणमा राष्ट्रिय टोलीबाट खेलेका सेटर इमले थपे, ‘प्रतियोगितामा लगभग एकैस्तरका टिम छन्, हामीले सबैसँग खेलेका छौं, बलियो भनिएका टिमलाई पनि कडा टक्कर दिइसकेका छौं । यसपल्ट घरेलु माहोलले हामीलाई साथ दिएको छ र यो एउटा ऐतिहासिक अवसर हुनसक्छ ।’


प्रतियोगिताअघि अफगानविरुद्धको शृंखला जितेको नेपालका लागि मुख्य खेलाडीको चोट चिन्ताको विषय बनेको थियो । कप्तान इम पिडौंलाको चोट र मुख्य स्पाइकर धनबहादुर भट्ट गोलीगाँठाको चोटले थलिएका छन् । तर चोट गम्भीर नरहेको र उनीहरू शनिबार अभ्यासमा फर्किएको सहायक प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । ‘उनीहरूको चोट निको भइसकेको छ । प्रशिक्षण सुरु गरेका छन् । अब नेपाललाई चोटको ठूलो समस्या रहेन,’ उनले भने ।


सन् २०१७ मा माल्दिभ्समा सम्पन्न एभीसीको साधारणसभाले पाँचौं संस्करण नेपालमा आयोजनाको जिम्मा दिएको थियो । पूर्वाधार पर्याप्त नभए पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताले राष्ट्रिय खेलको गरिमा बढ्ने र राष्ट्रिय टोलीले उच्च एक्सपोजर पाउने अपेक्षासहित नेपाल भलिबल संघ प्रतियोगिता आयोजनालाई तयार भएको हो ।

पहिलो संस्करणमा ७ टिमको सहभागिता थियो । त्यसयता ती सातै टोलीले सहभागिता भएको यो पहिलोपल्ट हो । प्रतियोगिताका लागि सबै टिम नेपाल आइसकेका छन् । चारमध्ये तीन संस्करणमा नेपाल चौथो भएको छ ।

पहिलो संस्करणमा नेपालले समूह चरणमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरी सेमिफाइनल पुगेको थियो ।


समूह चरणमा माल्दिभ्ससँग पराजित भएको थियो । सेमिफाइनलमा तुर्कमेनिस्तानसँग पराजित नेपाल तेस्रो स्थानको खेलमा अफगानिस्तानसँग ३–२ को सेटमा निराश बनेको थियो । अफगानिस्तानले त्यसयता पहिलोपल्ट सहभागिता जनाएको हो ।


राउन्ड रोबिन लिगअन्तर्गत खेलाइएको दोस्रो संस्करणमा उज्वेकिस्तान र अफगानिस्तान सहभागी थिएनन् । नेपालले तुर्कमेनिस्तान, किर्तिस्तान र बंगलादेशसँग हार बेहोरेको थियो । लिग चरणमा माल्दिभ्सलाई पराजित गरे पनि तेस्रो स्थानको खेलमा पराजित भएको हो ।


माल्दिभ्समा सम्पन्न तेस्रो संस्करणमा ४ टोलीबीच राउन्ड रोबिन लिगअनुसार खेलाइएको थियो । लिग चरणमा घरेलु टोली माल्दिभ्सविरुद्ध ३–१ को सेटमा पुनरागमन जित हासिल गरी नेपालले अन्तर्राष्ट्रिय भलिबल इतिहासमै पहिलो पदक हात पारेको थियो ।


गत वर्ष बंगलादेशमै भएको चौथो संस्करणमा नेपालले समूह चरणमा बंगलादेशसँग हारे पनि माल्दिभ्सलाई पराजित गरी सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा तुर्कमेनिस्तान र तेस्रो स्थानका लागि भएको खेलमा किर्तिस्तानसँग पराजित भएपछि चौथो स्थानमै सीमित रह्यो ।


चार संस्करणमा नेपालले उज्वेकिस्तानसँग खेल्नुपरेको छैन । किर्तिस्तानसँग खेलेका चारमध्ये ३ खेल हारेको छ भने चारै खेल खेलेको तुर्कमेनिस्तानलाई हराउन सकेको छैन । माल्दिभ्सविरुद्ध ३ जित र २ हारको नतिजा आत्मसाथ गरेको नेपालले बंगलादेशसँग तीनपल्ट खेल्दा दुई हार बेहोरेको छ ।


सेन्ट्रल जोनको इतिहास

पहिलो संस्करण

विजेता : तुर्कमेनिस्तान, उपविजेता : माल्दिभ्स,

नेपाल : चौथो

दोस्रो संस्करण

विजेता : बंगलादेश, उपविजेता: किर्गिस्तान, नेपाल : चौथो

तेस्रो संस्करण

विजेता : किर्गिस्तान, उपविजेता: तुर्कमेनिस्तान, नेपाल : तेस्रो

चौथो संस्करण

विजेता : तुर्कमेनिस्तान, उपविजेता : बंगलादेश,

नेपाल : चौथो


खेलतालिका

समूह ‘ए’ : नेपाल, माल्दिभ्स र किर्गिस्तान

समूह ‘बी’ : तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान

नेपालको खेल

किर्गिस्तानविरुद्ध, सोमबार

माल्दिभ्सविरुद्ध, बुधबार

प्रकाशित : भाद्र १, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?