गोथाइ कपमा नेपाली युथ 

लक्ष्मी लम्साल

बेइजिङ — चीनको छिङताउमा भएको गोथाइ कप फुटबलमा नेपालले समूह चरणमा निराशाजनक प्रदर्शन गरेको छ । नेपालले खेलेका चारमध्ये एकमात्रै जित हासिल गरेको छ ।

१२ वर्ष उमेर समूहमा भाग लिएको नेपालले चारमध्ये छिन चाओ एक्सपेरिमेन्टसँग ४–२ ले, बेइजिङ छिलिन फुटबल क्लबसँग १–० र उरूमुछी होप फुटबल क्लबसँग ३–१ ले गुमाएको थियो । एचजेडएचएक्स फुटबल क्लबसँगको खेलमा ४–३ ले जितेको नेपाली टोली समूह चरणबाटै बाहिरिएको छ । ८–८ खेलाडी उत्रने प्रतियोगिता ४० मिनेट खेलाइएको थियो । प्रतियोगिता आयोजनास्थल सान्तोङमा टाइफुन आएका कारण नेपालले एक खेल आधा घण्टा मात्रै खेलेको थियो ।

प्रतियोगिताको खेल सकिए पनि नेपालले अहिले मैत्रीपूर्ण फुटबल खेलिरहेको छ । नेपालले पाकिस्तान, ताइवान, मंगोलिया र चिनियाँ क्लबहरूसँग मैत्रीपूर्ण खेल खेलेको छ ।

सन् २०१६ देखि सान्तोङ प्रान्तले बर्सेनि आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपालले तीनपल्ट भाग लिए पनि सहभागितामा मात्रै चित्त बुझाउनुपरेको छ । ‘हाम्रो त एक्सपोजर मात्रै हो । जर्मनी, ब्राजिल, इटाली, अर्जेन्टिना, स्पेन, पोर्चुगललगायतका एकदमै राम्रा टिम सहभागी थिए,’ जुनियर फुटबल एकेडेमीमा संलग्न नेपाली टिम म्यानेजर सुवास गौलीले भने ।

छिङताउ सहरले छङयाङलाई स्पोर्ट्स सिटी बनाउन खोजेको बताउँदै गौलीले फुटबलमा कमजोर मानिने चीनले नयाँ उत्थान गर्न खोजेको हुनसक्ने बताए । उनले भने, ‘सानैदेखि फुटबलमा निकै फूर्तिला बच्चाहरू हुर्काइरहेकाले चीनले साँच्चिकै फुटबलमा केही गर्न खोजेको देखिन्छ । निकै राम्रो पूर्वाधार र सुविधा बनाउँदै गएको छ ।’ नेपाली जुनियर फुटबल टोली सोमबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

बिदा भए उत्तरवैदिक साहित्यकार

देवेन्द्र भट्टराई

काठमाडौँ — निमोनियाँ तथा मिर्गौलाको समस्याका कारण ललितपुरको सुमेरु अस्पतालमा उपचाररत साहित्यकार मदनमणि दीक्षितले बुधबार बिहान जेठा छोरा विनोदमणिलाई छेवैमा बोलाएर भनेका थिए, ‘प्रधानमन्त्री केपी ओलीले गायत्री मन्त्रका रचयिता भनेर वशिष्ठ ऋषिलाई भन्नुभएको रहेछ, त्यो गलत हो । विश्वामित्रले यो मन्त्र लेखेका हुन् ।’

जीवनको अन्तिम घडीसम्म सूचना र चेतनाले भरिएर लेखनयात्रामा सक्रिय रहेका साहित्यकार दीक्षितको बिहीबार बिहान ३ बजे कालिकास्थानस्थित निवासमा निधन भएपछि अन्तिम दर्शनका लागि भेला भएका शुभेच्छुकमाझ दीक्षितको विद्वत्ता र सचेत जीवनशैलीबारे चर्चा–परिचर्चा चलिरहेको थियो ।

‘बुबाले बनारसमा एमए गर्दाका गुरु एवं हिन्दु विश्वविद्यालयका उपकुलपति सर्वपल्ली राधाकृष्णनले प्राचीन वैदिक साहित्य र दर्शनबारे अध्ययन गर्न रुचि बढाइदिएका थिए,’ विनोदमणिले कान्तिपुरसँग भने, ‘जतिसक्दो किताब पढ्ने रविद्वद्जनसँग परामर्श गर्न रुचाउने बानीले उहाँको लेखनकर्ममा निखार बढ्दै गयो ।’

०३९ सालमा प्रकाशित वैदिक साहित्यमा आधारित ‘माधवी’ उपन्यासमा मदन पुरस्कार पाएपछि मदनमणिको पत्रकारभन्दा साहित्यकार छवि स्थापित भयो । त्यसअघि दीक्षितको प्रकाशन/सम्पादनमा ०१५ सालदेखि निस्किएको ‘समीक्षा’ साप्ताहिकमा छापिने खरो आलोचना र विवेचनाका कारण मदनमणि ‘बढी पत्रकार’ का रूपमा चिनिने गरेको रचना पत्रिकाका सम्पादक रोचक घिमिरेले स्मरण गरे । आफूले ०१५ सालदेखि मदनमणिसँग संगत गरेको इतिहास कोट्याउँदै उनले ‘आफूले केही नयाँ कुरा लेखेमा वा बहस गर्नुपर्ने आवश्यक ठानेमा साथीभाइ भेला गराएर रचनापाठ गर्ने’ मदनमणिको स्वभावबारे समेत जानकारी दिए ।

‘समीक्षा पत्रिकामा बन्देज लागेपछि ०३४ पुस १ देखि मदनमणिले ‘माधवी’ लेख्न थाल्नुभएको थियो, झन्डै ५ वर्ष लगाएर लेख्नुभएको यो उपन्यासका हरेक पाठ हामीलाई बोलाएर सुनाउने गर्नुहुन्थ्यो,’ रोचक सम्झन्छन्, ‘त्यसबेला मसहित कृष्णचन्द्रसिंह प्रधान, ध्रुवचन्द्र गौतम, नगेन्द्रराज शर्मा र ध्रुव सापकोटा मदनमणिको डेराघर कालिकास्थानतिर आइरहेका हुन्थ्यौं । यसरी पढेर सुनाउँदा कतिपय सन्दर्भमा वैदिक अर्थ र सन्दर्भ पनि हामीलाई बुझाउनुहुन्थ्यो ।’

प्रधानमन्त्री बीपी कोइरालाको सहयोगमा ‘समीक्षा’ साप्ताहिक निकालेपछि र लगत्तै पञ्चायतकाल सुरु भएपछि मदनमणिलाई ‘कांग्रेसी’ भनेर दुःख दिइन्थ्यो । समीक्षामा उनले ‘चक्रपाणिको कलम’ भनेर स्तम्भ लेख्ने गरेका थिए । उक्त स्तम्भको संग्रह ‘मेरो देश, मेरो संसार’ नाममा मञ्जरी बुक्सबाट प्रकाशोन्मुख छ ।

‘समीक्षा’ कै कारण आफ्नो वीरगन्जमा रहेको २ सय २० बिघा जमिन सकिएको दुःखेसो उनी गर्थे । त्यसअघि २००४ सालदेखि वीरगन्जको त्रिजुद्ध हाईस्कुलमा हेडमास्टर बनेर साहित्यकार धच गोतामे, श्यामप्रसाद शर्मासहितलाई मदनमणिलेचेला बनाएका थिए ।

छोरा विनोदमणिका अनुसार बनारसमा विद्यार्थी भएर बस्दा ‘मार्क्सको द्वन्द्वात्मक भौतिकवाद’ बाट अति प्रभावित भएर मदनमणि कम्युनिस्ट बनेका थिए । ‘सन् १९५० मा हामी बनारसबाट वीरगन्ज आयौं, त्यसैबेला म कम्युनिस्ट पार्टीमा प्रवेश गरें,’ होमियोप्याथिक उपचार पद्धतिका जानकारसमेत रहेका मदनमणिले आफ्नो पछिल्लो कृति ‘मेरी माता’ मा लेखेका छन्, ‘मसित त्योबेला औषधिका डेढ सयजति साना सीसीका ब्याग थिए । मैले त्यसबेला बारा, पर्सा, रौतहट, जनकपुर आदि जिल्लामा पार्टी संगठनका काम गर्दै भेटिएका बिरामीलाई त्यो औषधिप्रयोग गर्न दिएको थिएँ ।’

वीरगन्ज बसाइमा स्थानीय स्कुलको हेडमास्टर भएकै कारण चिनारुले ‘माडसाप’ भन्ने गरेको र यही उपनाम पछि प्रचलित बनेको थियो । ‘वीरगन्जमा उहाँ मास्टर पनि रहनुभयो, अरू लवाइ र भिन्न शैलीका कारण पनि माडसाप हाम्रो मुखैमा झुन्डिएको थियो,’ साहित्यकार ध्रुवचन्द्र गौतम भन्छन् ।

'लेखनदास’ राख्ने बानी
साहित्यिक पत्रकार नगेन्द्रराज शर्माका अनुसार मदनमणि दीक्षित आफूले भन्ने र सामुन्ने बसेका व्यक्तिलाई टिपाउने अभ्यासमा पारंगत थिए । झन्डै १७ वर्षयता मदनमणिका ‘तलबी लेखनदास’ रहेका हिमाल जीसीले भने, ‘मलाई कुरा टिपाउँदा शब्द, अर्थ र वाक्य पद्धतिसहित टिपाउनुहुन्थ्यो । दुई दिनअघि मात्रै पनि अस्पतालमै कम्प्युटर बोकेर आउनु भनेर खबर पठाउनुभएको रहेछ । उपचारका बेलामा डिस्टर्ब गर्नु हुँदैन भनेर म गइनँ ।’

जीसीका अनुसार आफ्नो जीवनको दुःख र संघर्षबारे ‘जीवनका उहापोह’ कृति पनि टाइप भएर सकिनै लागेको रहेछ । बनारस हिन्दु विश्वविद्यालयदेखि अहिलेसम्मकै दैनिकीको टिपोट (डायरी) पनि तयारीकै क्रममा थियो । आख्यानकार ध्रुव सापकोटा मदनमणिलाई ‘दार्शनिक साहित्यकार’ भनेर चिनाउन चाहन्छन् । ‘अब मदनमणिपछि प्राच्य धर्म–दर्शनको विवेचना गरेर केही लेख्ने विद्वान् पाउनै मुस्किल भएको छ,’ सापकोटाले भने ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ०५० सालदेखि उपकुलपति रहेका मदनमणिकै कार्यकालमा डा. ध्रुवचन्द्र गौतम सदस्यसचिव थिए । ‘मेरो वीरगन्जकालीन समयदेखि नै उहाँसँगै संगत थियो,’ गौतमले भने, ‘प्रज्ञामा रहँदा हरेक विषयमा निकै लामो परामर्श र छलफल गरेर मात्रै निर्णय लिने उहाँको बानी थियो, यसले गर्दा काममा कहिलेकाहीँ ढिलाइ पनि हुन्थ्यो । आफ्नो निर्णय र कदममा सकेसम्म विवेक देखियोस् भनेर उहाँ सचेत रहनुहुन्थ्यो ।’ वैदिक साहित्यका ज्ञाता र विज्ञानसम्मत व्याख्याताका रूपमा आफूले मदनमणिलाई सधैंसम्झिरहने उनले बताए ।

पछिल्ला महिनामा ‘नेपालको झन्डा उत्पत्तिबारे नेपालमा लेखिएका सामग्री पर्याप्त भएनन्, त्यसमा वैज्ञानिक आधार भेटिएन’ भन्दै मदनमणिले झन्डाबारे टिपोटसमेत उतार्न थालेका थिए । उनका राजा महेन्द्र र चन्द्रशमशेरको व्यक्तित्व झल्काउने कृति पनि प्रकाशोन्मुख छन् । वैदिक साहित्यको दाँजोमा साहित्यको अरू विधालाई तुलनै गर्न नचाहने मदनमणिले ‘माधवी’ सँगै जनकलाल शर्माको ‘हाम्रो समाज’ कृतिलाई संयुक्त रूपमा साझा पुरस्कार दिइँदा असहमति जनाएका थिए ।

छोरा आमोदमणिका अनुसार आफू उपकुलपति छँदै मदनमणिले ‘प्रज्ञा प्रतिष्ठान भनेको चिहानघर होइन’ भन्दै लेखक–साहित्यकारको शवलाई प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम दर्शनका लागि राखिने पद्धतिको विरोध जनाएका थिए । ‘बुबाको यही इच्छाअनुसार हामीले शवलाई प्रतिष्ठान लैजान चाहेनौं,’ उनले भने ।

दीक्षितको ‘माधवी’ संस्कृत एवं क्लिस्ट शब्दका कारण जटिल भएको टिप्पणी आएपछि मदनमणिले ३ वर्षअघि झन्डै १५ सय शब्दलाई सरलीकृत गरेर साझा प्रकाशनमा बुझाइसकेका छन् । यसको संशोधित संस्करण भने प्रकाशित भएको छैन ।

मदनमणिको ०२१ सालमा प्रकाशित कथा संग्रह ‘कसले जित्यो कसले हार्‍यो’ पछि अहिलेसम्म चार दर्जन कृति प्रकाशित छन् । यसमध्ये माधवी, चरैवती, द्रौपदी र सीता, विदुषी गार्गी, मेरी नीलिमा, अमृतत्त्व र कारुणिकता, आनन्दमय आकाश, हाम्रा प्राचीन नारी, भूमिसुक्त, महर्षि याज्ञवल्क्य, ऋग्वैदिक नारी चरित्र आदि चर्चामा छन् । सधैंको लेखपढ गर्ने बानी र हरदम व्यस्त रहने स्वभावबीच मदनमणिले भूकम्प प्रतिरोध, सिँचाइ हातेपुस्तिका, भूकम्पहरू, पराले कुन्युको आगोजस्ता साहित्यिक अर्थ नरहने कृति पनि अनुवाद गरेका छन् । उनी आफूले लेखनकर्म थालेयता २ करोडभन्दा बढी शब्द लेखिसकेको बताउने गर्थे ।

४० वर्षयता मुटुको समस्याबाट ग्रसित मदनमणिको एक दशकअघि ‘बाइपास सर्जरी’ गरिएको थियो । यसबीचमा दुई पटकसम्म हृदयाघात भएर उनले श्रवण क्षमता गुमाउनुपरेको थियो । मदनमणिका ९३ वर्षीया श्रीमती रीता, छोराहरू विनोदमणि, प्रमोदमणि र आमोदमणि तथा छोरी इल्या छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्