पाथीभरा गोल्डकप फुटबल : रेडहर्स सफल सुरुआत

आनन्द गौतम

(ताप्लेजुङ) — चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लबले विजयी सुरुआत गरेको छ । बिहीबार उद्घाटन खेलमा ताप्लेजुङको पोमुकेछाङ स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्‍यो ।

ताप्लेजुङमा बिहीबार सुरु पाथीभरा गोल्डकप फुटबलमा इलाम र ताप्लेजुङका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : आनन्द/कान्तिपुर

रेडहर्सले पहिलो हाफको ८, १७ र २६ औं मिनेटमा गोल गरेको थियो। पहिलो गोल कप्तान पासाङ शेर्पाले गरे भने अन्य दुई गोल विदेशी खेलाडी पपुवा न्युगिनीका फोफनाले गरे। पासाङले २६ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपरलाई छुँदै पोस्टभित्र छिरेको थियो। पोजिसनमा नभएकाले किपर स्वयं झुक्किएका थिए।

फोफना देब्रे साइडबाट नियन्त्रणमा लिएको बल पेनाल्टी बक्सभित्रबाट आफैंले जाली चुमाएका थिए। तेस्रो गोल भने कर्नरबाट आएको बल फोफनाको खुट्टा लाग्दै पोस्टभित्र छिरेको थियो।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको पोमुकेछाङले थुप्रै अवसर पाए पनि गोल फर्काउन सकेन। दुवै टिमले विदेशी खेलाडी उतारेकाले खेलमा दर्शक खचाखच भरिएको थियो।
म्यान अफ द म्याच फोफना भए। उनलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ५ हजार पुरस्कार प्रदान गरे।

शुक्रबार आयोजक ताप्लेजुङ ११ र बेलबारी क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ। भानुजन माविको मैदानमा सुरु प्रतियोगितामा १० टिमको सहभागिता छ।

प्रकाशित : श्रावण ३०, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्

घूस लिने प्रहरीविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा बोक्ने टिपरसँग घूस लिने ट्राफिक प्रहरी तेजप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले लामो समयदेखि मेलम्चीदेखि काठमाडौंसम्म नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरसँग मासिक २ हजार घूस लिँदै आएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले दुई साताअघि काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टका भट्टराईलाई घूससहित रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले विद्युत् प्राधिकरणको त्रिवेणी उपवितरण केन्द्र नवलपरासीका दुई कर्मचारी मेघराज काफ्ले र नारायण कुर्मीलाई ४६ हजार ५ सय ५५ रुपैयाँ घूससहित पक्राउ गरेको छ । थ्री फेज लाइनको मिटर जडान गरिदिन सेवाग्राहीसँग लिएको घूससहित काफ्ले र कुर्मी रंगेहात पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ २१:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्