कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पाथीभरा गोल्डकप आजदेखि, ताप्लेजुङ र इलाम भिड्दै

आनन्द गौतम

ताप्लेजुङ — चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा हुने उद्घाटन खेलमा पोमू केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङ र रेडहर्स क्लब इलाम आमने सामने हुँदै छन् । पहिलो खेल जित्ने दाउमा रहेका दुवै टिमले विदेशी खेलाडी भित्र्याएका छन् । 

पोमु केछाङले इन्डिया लिग खेलेका तीन र मलेसियामा खेलेका एक नेपाली गरी चार राम्रा खेलाडी ल्याएको जनाएको छ । आर्थिक संयोजक दिपेन पोमुले बाँकी खेलाडी धरानका र स्थानीय भएको बताए । विदेशीमा अफ्रिकी खेलाडी हुन् ।


इलामले संकटा क्लबका मुख्य डिफेन्डर फोफोना र जावलाखेलका स्ट्राइकर ट्याम्पेलाई मैदान उतार्ने क्लबका अध्यक्ष सेवक देवानले बताए । बाँकी खेलाडी इलामकै छन् । ‘इलाम जिल्लाभरका राम्रा खेलाडी मैदानमा उतार्दै छौं,’ उनले भने, ‘हुन त खेल हो जित हार भइहाल्छ । जित्ने विश्वास छ ।’


प्रतियोगिताका लागि १५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको छ । गत वर्षभन्दा यो वर्ष तीन हजार बढी अट्ने गरी व्यवस्थापन मिलाइएको आयोजक समिति अध्यक्ष नारायण थापाले बताएका छन । गत वर्ष १२ हजारलाई बनाइएको प्यारापिटमा नअटेपछि टिकट काटेर पनि फर्कनुपरेको गुनासो दर्शकले गरेका थिए । यस वर्ष सकेसम्म त्यो हुन नदिन प्रयास गरिएको थापाले बताए ।


यसपालि नेपालका ८ र भारतका २ टिमले भाग लिएका छन् । साउन ३१ मा आयोजक ताप्लेजुङ ११ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनको विजेताले साउन ३२ मा फिदिम स्पोर्टिङ क्लब पाँचथरसँग खेल्नुपर्नेछ । दोस्रो दिनको विजेताले भदौ १ मा डाँगीहाट क्लब मोरङसँग खेल्ने तालिका छ ।


भदौ २ मा यूके एफसी दार्जिलिङ र एलेभेन एरोज सुनसरीबीच प्रतिस्पार्ध हुँदा भदौ ३ मा डिफेन्डिङ च्याम्पियन रेड स्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ ।


लाखेजात्रा खेल सञ्चालन समितिद्वारा भदौ ६ सम्म आयोजना हुने प्रतियोगिता विजेताले ५ केजी चाँदीमा ३ तोला सुनजडित कपसहित नगद ३ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताको भागमा १ लाख ५१ हजार पर्नेछ ।


हरेक दिन म्यान अफ द म्याचका लागि ५ हजार र म्यान अफ द फाइनलले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षक जनही ६ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?