सुनीललाल स्मृति भारोत्तोलन : संगीता र सञ्जु उत्कृष्ट लिफ्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — पुलिस क्लबका संगीता राई र सञ्जु चौधरी नेपाल स्ट्रोङगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर भएका छन् । दुवैले अघिल्लो दिन कीर्तिमासहित स्वर्ण जितेका थिए । संगीता सिनियर र सञ्जु जुनियरमा उत्कृष्ट भएका हुन् ।

सुनीललाल स्मृति भारोत्तोलन : संगीता र सञ्जु उत्कृष्ट लिफ्टर

काठमाडौं जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोस्रो दिन क्लिन एन्ड जर्कतर्फ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीसाथ कीर्तिमान बनाइन् ।

सिनियर ७६ केजीमा ताराले स्न्याचमा ७२ केजी र कुलमा १७० केजीसाथ स्वर्ण जितिन् । दोस्रो भएकी एपीएफकी जयन्ती श्रेष्ठले स्न्याचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल १ सय १५ केजी उचालिन् । कांस्य जितेकी दाङकी कल्पना चौधरी रहिन् । उनले स्न्याचमा ४० केजी र क्लिनमा ५० गरी कुल ९० केजी भार उचालिन् ।


यस्तै ८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौं राष्ट्रियमा राखेको आफ्नै नामको कीर्तिमान सुधारेकी हुन् । लक्ष्मी स्न्याचमा ६५ केजी र क्लिनमा ८३ केजी गरी कुल १४८ केजी उचाल्न सफल भइन् । यसअघि उनको नाममा ६४, ८२ र कुल १८६ केजीको कीर्तिमान थियो । आर्मीकी मनकुमारी कुमालले स्न्याचमा ५८ र क्लिनमा ६५ गरी कुल १२३ केजीसाथ रजत जितिन् ।


सिनियरकै ८७ केजी तौलमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजीसाथ नयाँ कीर्तिमान कायम गरिन् । उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधारिन् । विद्याले स्न्याचमा ५३ केजी र कुलमा १२९ केजी भार उचालेकी थिइन् । उदयपुरकी कान्ता भुजेलले स्न्याचमा ३५ र क्लिनमा ४५ गरी कुलमा ८० केजीसाथ रजत जितिन् ।


उत्कृष्ट लिफ्टर संगीता राई  ।


८७ केजी माथिको तौलमा आर्मीकी अस्मिता राईले स्न्याचमा ५८, क्लिनमा ७० गरी कुल १२८ केजीसाथ तीनै विधामा कीर्तिमान राखिन् । यसअघि उनले आठौं राष्ट्रियमा ५३, ६८ केजी र कुल १२१ केजीको कीर्तिमान राखेकी थिइन् । पुलिसकी सुधा थापाले स्न्याचमा ५३ क्लिनमा ६७ गरी कुलमा १२० केजीसाथ रजत जितिन् । सिराहाकी मनिता चौधरीले कांस्य जितिन् । उनले स्न्याचमा ४२, क्लिनमा ६० र कुलमा १०२ केजी तौल उचालिन् ।


पुरुषतर्फ ८१ केजी तौलमा पुलिसका विकास थापाले तीन कीर्तिमान राखे । उनले स्न्याचमा १२० केजी उचाले । उनले आठौं राष्ट्रियमा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन् । उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजीसाथ कीर्तिमान कायम गरे ।


विकासले कुलमा २५० केजीबाट २५६ केजी पुर्‍याएर राष्ट्रिय कीर्तिमान बनाए । दोस्रो भएका एपीएफका महेश चौधरीले १०५ केजी स्न्याच, १३० केजी क्लिन र कुल २३५ केजीसाथ रजत तथा एपीएफकै सन्तोष चौधरीले ९० स्न्याच, १२१ क्लिन र कुल २११ केजीसाथ कांस्य जिते । जुनियरतर्फ बाँकेका सुरज वैश्यले स्न्याचमा ८०, क्लिनमा १०१ गरी कुल १८१ केजीसाथ स्वर्ण, कञ्चनपुरका विकास भट्ट (७०, ९२ र कुल १६२ केजी) ले रजत र छोटु स्टेसनरी एन्ड सप्लायर्सका सञ्जय यादव (५५, ८३ र कुल १३८ केजी) ले कांस्य जिते ।


उत्कृष्ट लिफ्टर सञ्जु चौधरी ।


६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्न्याचमा १०६ केजी र क्लिन एन्ड जर्कमा १२५ गरी कुल २३१ भारसाथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौ राष्ट्रियमा १०३, १२२ र २२५ केजीको कीर्तिमान राखेका थिए । वीरगन्ज युनाइटेडका नीरज गुप्ताले ७०, ९० र १६० केजीसाथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कुल १३१ केजीसाथ कांस्य पदक जिते । सिनियरतर्फ आर्मीका जीवन तामाङले स्न्याचमा ८३ केजी, क्लिनमा १०८ गरी कुल १९१ केजीका साथ स्वर्ण, स्न्याचमा सन्तोष थपलियाले ८३, १०७ र १९० केजीसाथ रजत र कास्कीका धनबहादुर झाँक्रीमगरले ८५, ९८ र १८३ केजीसाथ कांस्य पदक जितेका थिए ।


७३ केजी जुनियरमा वीरगन्ज युनाइटेडका सजरुद्दिन आलमले स्न्याचमा ७३, क्लिनमा ५२ र कुलमा १६५ केजीसाथ स्वर्ण जिते । एपीएफका सुलभ बस्नेतले ७३, ८२ र कुल ८२ केजीसाथ रजत तथा वीरगन्जका सुनीलकुमार सर्राफले ३५, ४५ र कुल ८० केजीसाथ कांस्य पदक जिते । सिनियरतर्फ आर्मीका यज्ञबहादुर सारुले स्न्याचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीसाथ स्वर्ण, सेनाकै हेमनारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीसाथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कास्य पाए ।


८९ केजी तौलमा आर्मीका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौंमा राखेको क्लिन एन्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाले । कुलमा २३० केजीलाई बढाउँदै २४० केजी बनाए । उनले स्न्याचमा १०५ केजी भार बहन गरे । रजत जितेका पुलिसका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ केजीसाथ कीर्तिमान बनाए ।


उनले १०५ केजी दोस्रो प्रयासमामा उचाल्दै किर्तिमान बनाएका थिए । दिनेशले तेस्रो प्रयासमा १०५ केजी उचालेता पनि पहिले कीर्तिमान बनिसकेकाले उनले बराबरी मात्र गरे । वैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले । तेस्रो स्थानमा रहेका एपीएफका तिलकबहादुर थापाले स्न्याचमा ९०, क्लिनमा १२५ र कुल २१५ भार बहन गरे । जुनियरतर्फ बाँकेका अश्विन सोनीले स्न्याचमा ६२, क्लिनमा ६५ केजी उचाल्दै स्वर्ण जिते ।


सिनियर र जुनियर महिला तथा पुरुष गरी ४० तौल समूहमा प्रतिस्पर्धा भएको थियो । नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले जनही १ हजार रुपैयाँ पाएका थिए । महिला विधामा मात्र २३ राष्ट्रिय कीर्तिमान स्थापित भएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?