कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यूईएफए सुपर कपमा आज चेल्सी र लिभरपुल भिड्दै

(एएफपी)

इस्तानबुल — योर्गन क्लोप इस्तानबुलबाट फर्किंदा लिभरपुलसँग ट्रफी जित्ने बानी परेको देख्न चाहन्छन् । क्लबको एउटा ठूलो सफलताका लागि लिभरपुलले यूईएफए सुपर कपमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीविरुद्ध बुधबार प्रतिस्पर्धा गर्दै छ ।

यूईएफए सुपर कपमा आज चेल्सी र लिभरपुल भिड्दै

लिभरपुल पेनाल्टीमा एसी मिलानलाई पराजित गर्दै सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेयता बोस्फोरस फर्किएको छ । छैटौंपल्ट युरोपेली च्याम्पियन भएपछि उसले टर्कीको सहरमा चेल्सीको सामना गर्न लागेको हो ।


परम्परागत रूपमा युरोपेली सिजनको सुरुआत मानिएको खेललाई कसैले पनि गम्भीरतापूर्वक लिने गर्दैनन् । कुनै पनि टिमले उपाधि बढाउने अवसर गुमाउन चाहँदैन । लिभरपुलले ट्रफीको खडेरीलाई सात वर्षमा पूर्णविराम लगाएर यहाँ आइपुगेको हो भने फ्रान्क लाम्पार्ड चेल्सीको व्यवस्थापकीय करिअरलाई राम्रो सुरुआत दिन चाहन्छन् ।


यी दुई क्लबले आपसमा गरी चारपल्ट प्रतिस्पर्धा जितिसकेका छन् । तर पछिल्ला १० मध्ये नौपल्ट सुपर कप स्पेनी क्लबले जितेको छ । बुधबारको अर्को एक महत्त्वपूर्ण पात्र स्टेफनी फ्रापार्ट पनि हुँदैछिन् । यी ३५ वर्षीया फ्रान्सेली युरोपका मुख्य प्रतिस्पर्धामा रेफ्री बन्ने पहिलो महिला हुँदै छिन् । बेसिकटासको घरेलु मैदान भोडाफोन पार्कमा हुने खेलमा उनले असीमित खुसी अनुभव गर्न सक्छिन् । प्रिमियर लिगको पहिलो चरणमा म्यानचेस्टर युनाइटेडविरुद्ध ४–० ले हारेको चेल्सीविरिुद्ध यस खेलमा लिभरपुललाई बलियो मानिएको छ ।


कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीविरुद्ध पेनाल्टीमा पराजित भएपछि लिभरपुलले मोहम्मद सलाह, भर्जिन भान डाइक र डिभोक ओरिगीको गोलसँगै नर्विच सिटीलाई सहिजै ४–० ले हराएर नयाँ सिजन थालेको थियो । तर उक्त नतिजालाई एलिसन बेकरको चोटले छाँयामा पारिदियो । क्लोपले ब्राजिली गोलकिपर तिघ्राको चोटले बाहिरिएको पुष्टि गरेका थिए ।


‘उनी कहिले फर्किनेछन् भन्ने म प्रस्टसँग बताउन सक्दिनँ । तर यो बुधबार हुने छैनन्, यसमा प्रस्टै छु । त्यसपछि हामीले हेर्नुपर्छ । यो केही साता पनि लाग्नसक्छ, हामीले हेर्नैपर्छ,’ क्लबको वेबसाइटमा उनको भनाइ लेखिएको छ ।


एलिसनको अनुपस्थितिमा स्पेनी एड्रियनले स्थान पाएका छन् । क्लोप म्याड्रिडमा भएको च्याम्पियन्स लिगको फाइनलमा टोटेनहम हर्टस्परलाई पराजित गरेको टिम निर्माण गर्नेमा आशावादी छन् । ‘लोभी रहनु । त्यो निकै महत्त्वपूर्ण छ । त्यसमा मलाई कुनै शंका छैन । हामी त्यो गर्नेमा प्रस्ट छौं,’ त्यो सफलता कसरी पाउन सकिन्छ भन्नेबारे क्लोपले भने ।


लिभरपुलका समर्थक पनि लगातार तेस्रोपल्ट च्याम्पियन्स लिगको फाइनल पुग्ने सम्भावनालाई लिएर उत्तेजित छन् र त्यो अभियान इस्तानबुलमा फर्केर पूरा गर्न चाहन्छन् । उस्तै गरी उनीहरूले त्यसको प्रस्तावनाको रूपमा सुपर कपलाई पनि प्रिमियर लिगमा जस्तै हुने मानेका छन् ।


‘हामी च्याम्पियन्स लिगमा मात्रै रोकिन चाहँदैनौं । त्यो सबै हामी खेलाडीको समूहले जितेको हो,’ एन्डी रोबर्टसनले भने, ‘हामी बढी चाहन्छौं । तर त्यो कति कठिन हुन्छ भन्ने पनि हामीलाई थाह छ । यो हाम्रो लागि अर्को अवसर हो र यसलाई लिनसके त्यो ठूलो उपलब्धि हुनेछ ।’


चेल्सीले युरोपा लिगको फाइनलमा आर्सनललाई हराएर सुपर कपमा स्थान पाएको हो । तर चेल्सीको टिममा त्यसयता धेरै परिवर्तन भइसकेको छ । प्रशिक्षक माउरिसियो सारी र स्टार खेलाडी इडेन हाजार्डले छाडिसकेका छन् । क्लबका लिजेन्ड लाम्पार्डले दोस्रो डिभिजनको डर्बीमा एक सिजनमात्र व्यवस्थापकीय भूमिका निर्वाह गरेर पनि स्टामफोर्डको ब्रिजको टिम सम्हालेका छन् । उनले लन्डन क्ल्बसँगको औपचारिक दोस्रो खेलमै ट्रफी जित्न चाहेका छन् ।


प्रकाशित : श्रावण २९, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?