तारा खेलमा दाना विजयी

कान्तिपुर संवाददाता

(मुस्ताङ) — मुक्तिनाथमा आयोजित तारा खेल (आर्चरी) प्रतियोगितामा म्याग्दीको दाना युवा क्लब विजयी भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा मनाइने ऐतिहासिक पर्व यार्तुङको अवसरमा मंगलबार आयोजित प्रतियोगितामा दानाले १५ टिमलाई पछि पारेको हो । 

तारा खेलमा दाना विजयी

६ खेलाडीसम्मिलित टिमले ६५ अंक जोड्न सफल भयो । ५७ अंक जोडेको ढुम्बा युवा क्लब मुस्ताङ दोस्रो भयो । ५७ अंक नै जोडेको मुस्ताङकै मार्फा सनराइज युवा क्लब तेस्रो भयो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा लुप्राको मुस्ताङ बोन एक्सन, लेतेको निर्मल स्पोर्टिङ क्लब, ठिनीको जनमुक्ति युवा क्लब, टुकुचेको निलगिरि युवा क्लब, मुक्तिनाथको पुराङ टिम, जनप्रिय युवा क्लब, जोमसोम एयरपोर्ट युनाइटेड क्लब, मुस्ताङ गेट क्लब, घरपझोङ टिम, ढकरझोङ लुंग्पाबुक क्लब, मनाङको नेस्याङ युवा क्लब, कागबेनीको मिलन युवा क्लब सहभागी थिए ।


वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबले संयुक्त रुपमा यार्तुङ महोत्सव आयोजना गरेका हुन् । हिमाली भेगमा खेलिने प्राचिन तारा खेल महोत्सवको आकर्षणको रूपमा रहेको थियो । महोत्सवमा सेभेन–ए–साइङ फुटबलसमेत भएको छ । प्रतियोगितामा मुस्ताङको जनशक्ति युवा क्लब ठिनी पहिलो भएको छ । फाइनलमा नर्सिङ युवा क्लब छुसाङलाई २–० ले पराजित गर्दै ठिनीले सफलता पायो । ठिनीका लागि अमृत थकाली र पासाङ शेर्पाले १–१ गोल गरे । प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरेको जनप्रिय युवा क्लबका सचिव छिरिङ नोर्बुले बताए । सोमबार सुरु महोत्सव बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : श्रावण २८, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?