सोमपालको टिम च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली खेलाडी सोमपाल कामीसम्मिलित विन्नीपेग हक्सले ग्लोबल टान्टी–२० क्यानडा लिगको उपाधि जितेको छ । आइतबार राति ब्राम्पटनमा भएको फाइनलमा हक्सले भ्यानकुभर नाइट्सलाई इलिमिनेटरमा पराजित गरेको थियो । 

सोमपालको टिम च्याम्पियन

सोमपाललाई प्लेइङ ११ मा समावेश नगरेको हक्सले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९२ रन बनायो । टोलीबाट यूएईका ब्याट्सम्यान साइमन अनवरले ४५ बलमा ८ चौका र ७ छक्का प्रहार गरी ९० रन बनाए । क्रिस लिनले ३७ र जेपी डुमिनीले ३३ रन बनाए ।


भ्यानकुभरका एन्ड्रयु रसेलले ४ तथा अली खान र रायन पठानले २–२ विकेट लिए । कप्तान सोएब मलिकले ६ चौका र ३ छक्का प्रहार गर्दै ३६ बलमा ६४, रसेलले २० बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाएपछि भ्यानकुभरले पनि ६ विकेट गुमाई १ सय ९२ रन नै बनाएपछि स्कोर बराबरी भएको थियो । इनिङ्सको अन्तिम बलमा ३ रन चाहिने हुँदा भ्यानकुभरका शाद विन जाफर रनआउट भएका थिए । त्यसअघि नै उनले रसेलसँग २ रन जोडिसकेका थिए ।


सुपर ओभरमा भ्यानकुभरले बनाएको ९ रनलाई हक्सले २ बलअगाडि नै पूरा गरेको थियो । हक्सको सफलताले अलराउन्डर सोमपाल ग्लोबल फ्रेन्चाइज जित्ने पहिलो नेपाली खेलाडी बने । हक्सले ड्राफ्टबाट न्यूनतम ३ हजार डलरमा लिएपछि सोमपाल पहिलोपल्ट विदेशी लिगमा खेल्ने अवसर पाएका थिए । तर उनले १ खेलमा अवसर पाउँदा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनले इडमोन्ड रोयल्ससँगको खेलमा अवसर पाउँदा ३ ओभरमा ३३ रन खर्चिए भने ५ बलमा १ रनमात्र बनाउन सकेका थिए ।


क्यानडा टेस्ट मान्यताप्राप्त नभएकाले प्रतियोगिताको खेललाई आधिकारिक टान्टी–२० मान्यता भने थिएन । हक्स राउन्ड रोबिन लिगमा पाँचौं भएको थियो र टोलीले प्लेअफबाट माथि पुग्दै उपाधि जितेको हो । नेपालका अर्का बलर सन्दीप लामिछानेले प्रतियोगितामा टोरन्टो नेसनल्सबाट खेलेका थिए ।


उनको टोली ६ फ्रेन्चाइज सहभागी प्रतियोगिताको राउन्ड रोबिनमा तेस्रो भयो । तर टोली प्लेअफमा चुक्न पुग्यो । नेसनल्सले सन्दीपलाई ६० हजार डलरमा लिएको थियो । सन्दीपले ४ खेलमा ५ विकेट लिए र उनको इकोनोमी प्रतिओभर झन्डै ९ रन रहेको थियो ।


गत वर्ष इन्डियन प्रिमियर लिगको अक्सनबाट दिल्ली क्यापिटलमा परेका सन्दीपले विभिन्न देशका ९ फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनले कुनैमा उपाधि जित्न सकेका छैनन् । बिग–बासमा उनी समावेश टोली मेलबर्न स्टार्स फाइनलमा पराजित भएको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?