१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

विनु तिम्सिना

काठमाडौँ — विराटनगर महानगरपालिका-१९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा २ करोड बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच भत्काएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को बजेटबाट विभिन्न चरणमा निर्माण गरिएको क्रिकेट पिच ६ महिना नपुग्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत बजेट निकासा गरी भत्काएको हो ।

दुई करोडको पिच भत्काएर २६ लाखको खाल्डो !

बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमार्फत क्रिकेट पिच बनाउन बजेट निकासा गरेकोमा उपभोक्ता समितिले निर्माण सम्पन्न भएको पिच भत्काएर बजेट लिएको छ । जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरे अध्यक्ष रहेको समितिले करोडौं लागतमा बनेको पिच भत्काएर खाल्डो बनाएको छ । तर समितिले पिच निर्माण सम्पन्न गरिसकेको बिल भर्पाइ बुझाएर २६ लाख रुपैयाँ भुक्तानी लिएको देखिन्छ ।


उक्त रंगशालामा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७२/७३ मा ९ लाख रुपैयाँ खर्च गरेर हार्ड पिच निर्माण गरेको थियो । त्यसपछि सातौं राष्ट्रिय खेलकुदका लागि जिल्ला खेलकुद विकास समितिमार्फत् ६५ लाख खर्च गरेर पुनः पिच निर्माण गरिएको थियो । प्रतियोगिताको क्रिकेट खेल सोही मैदानमा खेलाइएको थियो ।


त्यसलगत्तै ठूला प्रतियोगिताका लागि पिचको गुणस्तर नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्कै १ करोड ७० लाख रुपैयाँ बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले टेण्डर प्रक्रियाबाट अन्तर्राष्ट्रियस्तरको पिच निर्माण गरेको थियो । उक्त बजेटबाट पिचसँगै क्रिकेट मैदान वरिपरि पानी पास हुने नाला, स्कोर बोर्ड, साइड स्क्रिन बोर्ड, माटो भर्ने र मैदानको दक्षिण तर्फ कटान नियन्त्रण गर्न ढुङ्गाको तारजाली लगाइएको क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत टंक कट्टेलले बताए ।

कट्टेलका अनुसार ठेकेदार पक्षले २०७५ मंसिरमा पिच निर्माणसहितका काम सम्पन्न गरेको थियो । क्रिकेट संघकै प्राविधिक सल्लाहामा निर्माण भएको पिच अन्तर्राष्ट्रिय गुणस्तरको भएको जानकारी प्राविधिकहरुले दिएको उनले बताए । अन्तर्राष्ट्रियस्तरको पिच निर्माण पश्चात खेलकुद विकास समितिले क्रिकेटको मैदान रेखदेख र संरक्षणको जिम्मा जिल्ला क्रिकेट संघलाइ नै दिएकोमा संघकै अध्यक्ष नेतृत्वमा उक्त पिच भत्काइएको हो ।


‘उनीहरुकै प्राविधिक सल्लाहमा उनीहरुले भने अनुसारकै पिच बनाएका थियौं,’ उनले भने, ‘पिच बनेपछि राम्रो काम भयो अन्तर्राष्ट्रियस्तरको बन्यो संरक्षण गर्छौं भनेर मागेपछि हामीले दिएका हौं । फेरि त्यो पिच भएन भनेर भत्काए ।’


सातौं राष्ट्रिय खेलकुद अन्तर्गत सोही रंगशालामा भएको क्रिकेट प्रतियोगिता । उपभोक्ता समितिले अहिले सो प्रतियोगिता भएको पिच भत्काएर खाल्डो बनाएको हो । तस्बिरः फाइल

खेलकुद विकास समितिले करोडौं लागतमा पिच सहितका संरचना निर्माण गरेर हस्तान्तरण गरेको ६ महिना नपुग्दै अध्यक्ष घिमिरे नेतृत्वको उपभोक्ता समितिले पिच निर्माण गर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसंग गत जेठ २० गते सम्झौता गरेको थियो । प्रदेश सरकारको खेलकुद सम्बन्धी काम गर्ने संरचना नभएको भन्दै क्रिकेट मैदान निर्माणको बजेट भौतिक निर्माण सम्बनधी कुनै प्राविधिक दरबन्दी नभएको स्वास्थ्य कार्यालय मार्फत निकासा भएको थियो ।


स्वास्थ्य कार्यालयले क्रिकेट मैदानका लागि आएको ८५ लाख रुपैयाँ बजेट मध्ये ४२ लाख रुपैयाँको पिच रोलकर, ग्रास कटर सहितका उपकरण टेण्डर मार्फत खरिद गरेर बाँकी ४३ लाखबाट पिच निर्माण गर्न जिम्मा दिएको हो । तर उपभोक्ता समितिले नयाँ पिच निर्माण गर्नुको साटो पहिले नै बनिसकेको पिच भत्काएर सोलिङको काम मात्रै गरेको छ । उपभोक्ता समितिले निर्माण भइसकेको पिच भत्काए पनि नयाँ पिच बनाएको छैन् । तर कार्यालयबाट रकम भुक्तानि भने लिइसकेको छ ।


उपभोक्ता समितिले भने आफूले गरेको कामको मात्रै भुक्तानी लिएको र बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताउँदै आएको छ । समितिका अध्यक्ष घिमिरेले पिचका लागि आवश्यक माटो सुनसरीको बर्जु र उदयपुरमा खरिद गरिसकेको बताएका छन् । तर प्राविधिक जनशक्ति नभएको स्वास्थ्य कार्यालयले गरेको भुक्तानी प्रक्रियाबारे नै खेलकर्मीहरुले प्रश्न उठाएका छन् ।


उपभोक्ता समितिले जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाएर पिच निर्माण गर्ने अनुमति मागेको भएपनि समितिले कुनै निर्णय नगर्दै पुरानो पिच भत्काएको पाइएको छ । ‘पिच निर्माण गर्नकालागि उपभोक्ता समितिले अनुमति माग्दै पत्र पठाएको थियो,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालले भने, ‘बैठक बसेर निर्णय गर्न नपाउँदै पिच भत्काएछन् ।’


प्रदेशसभामा उठ्यो प्रश्न

रंगशाला निर्माणमा अनियमितता भएको विषयमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि त्यो विषय प्रदेश एक सभामा पनि उठेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद नवोदिता चौधरीले रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गर्न माग गरिन् । ‘प्रदेशमा भ्रष्टाचारले सीमा निघिसक्यो,’ उनले भनिन्, ‘रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गरिनु पर्छ र दोषीलाई कारवाही गरिनुपर्छ ।’


प्रदेशसभा बैठकमा रंगशालाको अनियमितताबारे प्रश्न गर्दै सांसद नवोदिता चौधरी ।

अख्तियारको चासो

क्रिकेट मैदान निर्माण सहित प्रदेश सरकारले खेलकुद शीर्षकमा खर्च गरेको बजेट अनियमितता भएको विषय सञ्चारमाध्यममा उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस विषयमा चासो देखाएको छ । इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले रंगशाला निर्माणमा अनियमितता भएको भनी सार्वजनिक भएका समाचारहरुलाई अध्ययनगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने,‘समाचारमा आएका विषयलाइ हामिले नोटिसमा लिएका छौं ।’

प्रकाशित : श्रावण २४, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?