फोर्लानको संन्यास

बीबीसी

लन्डन — म्यानचेस्टर युनाइटेड र एट्लेटिको म्याड्रिडका पूर्व स्ट्राइकर डिएगो फोर्लानले क्लब फुटबलबाट संन्यास घोषणा गरेका छन् । उरुग्वेका लागि १ सय १२ अन्तर्राष्ट्रिय खेल खेलेका ४० वर्षीय फोर्लानले स्पेनिस क्लब भिल्लारियल र इटालीको इन्टर मिलानबाट पनि केही समय खेले । पछिल्लो समय उनले सन् २०१८ मा हङकङको किची क्लबबाट खेलेका थिए । 

फोर्लानले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगको उपाधि जितेका थिए भने स्न् २००९ मा एट्लेटिको म्याड्रिडबाट युरोपा लिग जितेका थिए । ‘यो सहज निर्णय होइन । यस्तो दिन आओस् भनेर कसैले पनि सोचेको हुँदैन । तर मलाई थाहा त यो समय आइसकेको छ,’ फोर्लानले भने ।

उरुग्वेको राष्ट्रिय टिमबाट लामो समय सँगै खेलेका लुइस स्वारेजले सामाजिक सञ्जालमार्फत फोर्लानप्रति सम्मान व्यक्त गरेका छन् । ‘उरुग्वे फुटबलका ऐतिहासिक व्यक्तित्व । उरुग्वेका सम्पूर्ण नागरिकलाई गौरवान्वित पार्दै राष्ट्रिय टोली वा अन्य क्लबमा बिताएका ती तमाम अविस्मरणीय क्षणका लागि आभारी छु,’ बार्सिलोनाका स्ट्राइकर स्वारेजले भनेका छन्, ‘म सधैं यही कुराका लागि अनुग्रहित छु कि उहाँंले मैदानबाहिर र भित्र दुवैतिर धेरै सिकाउनुभयो । तपाई सधैं उरुग्वेका लागि महान् हुनुहुनेछ ।’

सन् २००२ को डिसेम्बरमा लिभरपुलविरुद्ध उसकै मैदान एनफिल्डमा दुई गोल गरेपछि फोर्लान म्यानचेस्टर युनाइटेडका समर्थकबीच अमिट छाप छोड्न सफल रहे । उनले ६४ र ६७ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगको प्रमुख प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध युनाइटेडले २–१ को जित हासिल गरेको थियो ।

त्यही सिजनको नोभेम्बरमा उनले साउथह्याम्पटनका लागि गोल गरेका थिए । सायद त्यो गोल उनको अविस्मरणीय सेलिब्रेसनका रूपमा सधैं सम्झिने छ । ७९ औं मिनेटमा वैकल्पिकका रूपमा मैदान छिरेर सानदार गोलमार्फत युनाइटेडको जित निश्चित गरेपछि उनले गोलको खुसीमा जर्सी फुकालेका थिए । खेल पुनः सुरु हुने बेलासम्म उनले जर्सी लगाउन भ्याएनन् । टपलेसकै अवस्थामा खेले र ट्याकलसमेत गरे ।

उरुग्वेका लागि फोर्लानले सन् २०११ मा कोपा अमेरिकाको उपाधि जिते । उनले उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल पाए । सन् २०१० को फिफा विश्वकपमा उरुग्वेलाई सेमिफाइनलसम्म पुर्‍याउन उनको ठूलो योगदान थियो । स्वारेज र पेरिस सेन्ट जर्मेनका इडिन्सन काभानीपछि फोर्लान उरुग्वेका लागि सर्वाधिक गोलकर्ता स्चूीमा तेस्रोमा छन् । उनले १ सय १२ खेलमा ३६ गोल गरेका छन् । सन् २०१५ मै उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने संन्यास घोषणा गरिसकेका थिए ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

तोडिएला ६ क्लबको पकड ?

बीबीसी

लन्डन — पछिल्लो तीन सिजन इंग्लिस प्रिमियर लिगको शीर्ष ६ मा आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले पकड राखेका छन् । यसमध्ये नयाँ सिजन अगाडि केही टिम भने संकटमा छन् वा क्लबभित्र केही न केही समस्या छ । यस्तोमा सन् २०१९–२०२० को सिजन यी ६ क्लबको प्रभुत्वमा कोही नयाँले धावा बोल्न सक्नेछ त ? यसपल्ट यी ठूला ६ क्लबलाई छुन सक्ने कुनै क्लब होलान् त ?

यी ६ क्लबमध्ये सम्भवतः म्यानचेस्टर सिटी र लिभरपुल केही बढी बलिया नै देखिन्छन् । बाँकी चार स्थानका लागि भने पक्कै पनि राम्रो भिडन्त हुने देखिन्छ । यसमध्ये सबैभन्दा अगाडि देखिन्छ लेस्टर सिटी । गत सिजन यो क्लब नवौं स्थानमा थियो । तीन वर्षअघि भने योक्लबले शीर्ष ६ टिमको स्थानमा प्रवेशमात्र गरेन, अविश्वसनीयरूपमा लिग नै जितेर देखायो । यसपल्ट लेस्टर सबैभन्दा रोमाञ्चक युवा टिम हुनेछ ।

ब्रेन्डन रोजर्सको टिममा २६ वर्षमुनिका अधिकांश खेलाडीको बाहुल्य छ । यी खेलाडीमध्ये अधिकांस आफ्नो खेलजीवनको उत्कृष्ट विन्दुमा पुग्न बाँकी छन् । गत सिजन न्युकासल युनाइटेडका लागि सबैभन्दा बढी गोल गर्ने आयोज पेरेज हालै लेस्टरआएका छन् । यस्तै योरी टिलेमन्स पनि कीर्तिमान ४० मिलियन पाउन्डमा लेस्टरमा आइसकेका छन् । पछिल्लो सिजनको १० खेलमा रोजर्स नै प्रशिक्षक थिए र त्यसक्रममा टिमको प्रदर्शन अविश्वसनीय रूपमा राम्रो थियो ।

गत सिजन सातौं स्थानमा आएको वोल्भसलाई प्रिमियर लिगको रोबिन हुड क्लब पनि भन्न थालिएको छ । यसपल्ट विश्वास गरिएको छ, सायद टिमको प्रदर्शन अझ राम्रो हुनेछ । गत सिजन म्यानचेस्टर सिटी र लिभरपुललाई छाडेर अरू शीर्ष ६ स्थानमा रहेका टिमविरुद्ध वोल्भसको प्रदर्शन अद्वितीय थियो । तर यही टिमले अंकतालिकाको पुछारमा रहेको टिमविरुद्ध भने अंक गुमायो । बलियाबाट अंक छिन्दै कमजोरलाई अंक दिने हुँदा नै वोल्भसलाई रोबिन हुड टिम भनिएको थियो ।

यसपल्ट वोल्भ्सले माथिल्लो क्लबबारे राम्रो प्रदर्शनको क्रम कायम राख्ने र पुछारका क्लबविरुद्ध राम्रो गर्ने हो भने टिम शीर्ष ६ भित्र पर्ने राम्रो उम्मेदवार हुनसक्छ । शीर्ष ६ स्थानका लागि बलियो प्रत्याशी रहेको अर्को क्लब हुनसक्छ एभरटन । गत सिजन यो आठौं स्थानमा थियो । गत सिजनका अन्तिम आठ खेलमा उसले चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । खासमा एभरटनको प्रदर्शन गत सिजनको मध्यभागबाट राम्रो भएको सबैले अनुभव गरेका छन् ।

क्लबको सफलतामा धेरैभन्दा धेरै भूमिका प्रशिक्षक मार्को सिल्भाकै रहेको मानिन्छ । उनले यसपल्ट लोनमा रहेका आन्द्रे गोमेजको अनुबन्धलाई स्थायीमा परिणत गरिसकेका छन् । यसपल्ट सिल्भाले जस्तो टिम चाहिएको छ, त्यस्तो के भनेको छ त ? यसबारे भने स्पष्ट उत्तर दिन सकिन्न । तर उसले पछिल्लो सिजनको अन्त्यतिर जस्तो लय समातेको थियो, त्यसलाई यसपल्ट दोहोर्‍याउने हो वा त्यसको छेउछाउ मात्र प्रदर्शन गर्ने हो भने त्यो गज्जब हुन सक्नेछ ।

क्रिस कोलिन्सन

प्रकाशित : श्रावण १८, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्