कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फोर्लानको संन्यास

बीबीसी

लन्डन — म्यानचेस्टर युनाइटेड र एट्लेटिको म्याड्रिडका पूर्व स्ट्राइकर डिएगो फोर्लानले क्लब फुटबलबाट संन्यास घोषणा गरेका छन् । उरुग्वेका लागि १ सय १२ अन्तर्राष्ट्रिय खेल खेलेका ४० वर्षीय फोर्लानले स्पेनिस क्लब भिल्लारियल र इटालीको इन्टर मिलानबाट पनि केही समय खेले । पछिल्लो समय उनले सन् २०१८ मा हङकङको किची क्लबबाट खेलेका थिए । 

फोर्लानको संन्यास

फोर्लानले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगको उपाधि जितेका थिए भने स्न् २००९ मा एट्लेटिको म्याड्रिडबाट युरोपा लिग जितेका थिए । ‘यो सहज निर्णय होइन । यस्तो दिन आओस् भनेर कसैले पनि सोचेको हुँदैन । तर मलाई थाहा त यो समय आइसकेको छ,’ फोर्लानले भने ।


उरुग्वेको राष्ट्रिय टिमबाट लामो समय सँगै खेलेका लुइस स्वारेजले सामाजिक सञ्जालमार्फत फोर्लानप्रति सम्मान व्यक्त गरेका छन् । ‘उरुग्वे फुटबलका ऐतिहासिक व्यक्तित्व । उरुग्वेका सम्पूर्ण नागरिकलाई गौरवान्वित पार्दै राष्ट्रिय टोली वा अन्य क्लबमा बिताएका ती तमाम अविस्मरणीय क्षणका लागि आभारी छु,’ बार्सिलोनाका स्ट्राइकर स्वारेजले भनेका छन्, ‘म सधैं यही कुराका लागि अनुग्रहित छु कि उहाँंले मैदानबाहिर र भित्र दुवैतिर धेरै सिकाउनुभयो । तपाई सधैं उरुग्वेका लागि महान् हुनुहुनेछ ।’


सन् २००२ को डिसेम्बरमा लिभरपुलविरुद्ध उसकै मैदान एनफिल्डमा दुई गोल गरेपछि फोर्लान म्यानचेस्टर युनाइटेडका समर्थकबीच अमिट छाप छोड्न सफल रहे । उनले ६४ र ६७ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगको प्रमुख प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध युनाइटेडले २–१ को जित हासिल गरेको थियो ।


त्यही सिजनको नोभेम्बरमा उनले साउथह्याम्पटनका लागि गोल गरेका थिए । सायद त्यो गोल उनको अविस्मरणीय सेलिब्रेसनका रूपमा सधैं सम्झिने छ । ७९ औं मिनेटमा वैकल्पिकका रूपमा मैदान छिरेर सानदार गोलमार्फत युनाइटेडको जित निश्चित गरेपछि उनले गोलको खुसीमा जर्सी फुकालेका थिए । खेल पुनः सुरु हुने बेलासम्म उनले जर्सी लगाउन भ्याएनन् । टपलेसकै अवस्थामा खेले र ट्याकलसमेत गरे ।


उरुग्वेका लागि फोर्लानले सन् २०११ मा कोपा अमेरिकाको उपाधि जिते । उनले उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल पाए । सन् २०१० को फिफा विश्वकपमा उरुग्वेलाई सेमिफाइनलसम्म पुर्‍याउन उनको ठूलो योगदान थियो । स्वारेज र पेरिस सेन्ट जर्मेनका इडिन्सन काभानीपछि फोर्लान उरुग्वेका लागि सर्वाधिक गोलकर्ता स्चूीमा तेस्रोमा छन् । उनले १ सय १२ खेलमा ३६ गोल गरेका छन् । सन् २०१५ मै उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने संन्यास घोषणा गरिसकेका थिए ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?