तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताको छनोटस्वरुप तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने भएको छ । चितवनको रत्ननगर नगरपालिकामा रहेका चार डोजाङको संयुक्त आयोजनामा कात्तिक १ र २ मा प्रतियोगिता हुनेछ । 

तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला तेक्वान्दोका अध्यक्ष पुष्प जोशीले अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङसँगको सहयोग र सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए ।


प्रतियोगितामा महिलाको २२ र पुरुषको २४ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेतर्फ पनि ९ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६५ स्वर्ण पदकलाई प्रतिस्पर्धा हुनेछ । नेपाल तेक्वान्दो संघअन्तर्गतका सबै खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीको पनि सहभागिताको अपेक्षा गरिएको आयोजकले जनाएको छ । तर खेलाडीलाई प्रतियोगिताका लागि पठाउने नपठाउने निर्णय अधिकार भने तेक्वान्दो संघको हुनेछ ।


यस प्रतियोगिताबाट उत्कृष्ट छानिएका ३ पुरुष र २ महिला खेलाडीले सन् २०२० को मे १–२ मा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा हुने १३ औं अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।


पुरुषतर्फ ६ तौल समूहमा स्वर्ण जित्ने खेलाडीबीच प्रतिस्पर्धा गराएर ३ विजेता छनोट गरिनेछ । उनीहरूले जनही १ लाख रुपैयाँ पुरस्कार पनि पाउनेछन् । महिलातर्फ ४ तौलसमूहका स्वर्ण विजेताबीच छनोट प्रतिस्पर्धा हुनेछ । विजेता २ खेलाडीले पनि जनही १ लाख पुरस्कार पाउनेछन् । पुरुषको ५४, ५८, ६३, ६८, ७३ र ८० केजी तौलका विजेताबीच ओलम्पिक नियमअनुसार सर्वोत्कृष्ट छनोट गरिनेछ । महिलाको ४६, ४९, ५३ र ५७ केजीमुनि तौलका स्वर्ण विजेताबीच प्रतिस्पर्धा गराइने छ ।


आईओएफसीका निर्देशक दिवाकर महर्जनले विभिन्न संघसंस्थालाई ३ लाख ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

प्रकाशित : श्रावण २२, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?