२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

इंग्लिस प्रिमियर लिग : टक्कर सिटी र लिभरपुलकै

कान्तिपुर संवाददाता

काठमाडाैं — इंग्लिस प्रिमियर लिग शुक्रबार सुरु हुँदै छ । यसपल्ट पनि उपाधिका दुई ठूला दाबेदार हुन, डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र उसलाई कडा चुनाैती पेस गर्ने लिभरपुल । फ्रान्सेली समाचार संस्था एएफपीले तयार पारेकाे दुई टिमकाे विश्लेषण :

इंग्लिस प्रिमियर लिग : टक्कर सिटी र लिभरपुलकै

म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिगका पछिल्ला दुई सिजन म्यानचेस्टर सिटीका लागि गज्जब नै रह्यो । यसबीच सिटीले कमायो १ सय ९८ अंक । त्यसैले तय छ, टिममा कुनै ठूलो परिवर्तन आवश्यक छैन । यी दुई सिजन सिटीले ३० अंकमात्र गुमाएको थियो । यसबीचमा सिटीले इंग्लिस फुटबलमा एकछत्र राज गर्‍यो । गत सिजन भने उपाधिको होड निकै रोमाञ्चक रह्यो । सिटीले लिभरपुलसँग १ अंकको दूरीमा मात्र उपाधि जित्यो ।


के अपेक्षा गर्ने ?

एउटा तथ्य के निश्चित जस्तै छ भने म्यानचेस्टर सिटीलाई लगातार तेस्रो उपाधि जित्नबाट कसैले रोक्न सक्छ भने त्यो सायद लिभरपुलमात्र हुनसक्छ । म्यानचेस्टर युनाइटेडले सन् २००६/०७ देखि २००८/०९ बीच तीनपल्ट लगातार उपाधि जितेको थियो । सिटीको टिम खुबै सन्तुलित देखिन्छ । यसमा कमजोरी पनि खोज्नुपर्ने हुन्छ । पर्याप्त प्रतिभाशाली खेलाडी रहेका हुनाले टिममा उपाधि जित्ने भोक प्रस्ट देख्न सकिन्छ ।


टिममा यसपल्ट नदेखिने एकमात्र ठूलो परिवर्तन भनेकै बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनीको अनुपस्थिति हो । गत सिजनको अन्त्यसँगै उनले इतिहादबाट एन्डरलेटको बाटो रोजे । क्लबमा ११ वर्षको सेवापछि । यसबीच उनी निकै राम्रा कप्तान भएर पनि निस्के ।


डिफेन्सिभ मिडफिल्डर रोडरी एटलेटिको म्याड्रिडबाट सिटी आएका छन् । यी २३ वर्षीय खेलाडीका लागि क्लबले कीर्तिमानी रकम तिरेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाका लागि चोटबाट फर्केका केभिन डी ब्रुयने नयाँ खेलाडी जस्तै हुनेछन् ।


उनले गत सिजन चोटको कारण अधिकांस समय बेन्चमै बिताए । सिजनको सुरुआतमा ग्वार्डिओलालाई सोधिएको थियो, लिग सय अंक छोएर जितेपछि के गर्ने त ? उनको उत्तर थियो, इंग्लिस फुटबल इतिहासमै पहिलोपल्ट तीन उपाधि जित्ने । यो त पूरा भयो नै । यसपल्ट सिटीको लक्ष्य हुनेछ, युरोपेली च्याम्पियन्स लिग जित्ने । गत सिजन सिटी टोटेनहमको हातबाट यस प्रतियोगितामा पराजित रह्यो । टोटेनहम त्यति बेला उपविजेता बन्यो ।


आइतबार मात्र सिटीले कम्युनिटी सिल्डको उपाधिका लागि ग्वार्डिओलाको टिमले योर्गन क्लोपको लिभरपुललाई टाइब्रेकरमा हराएको थियो । यो प्रतियोतिगा इंग्लिस फुटबल सिजन सुरुआतको संकेत हो । यसपल्ट लिगको उपाधिमा सिटीलाई चुनौती पेस गर्ने टिम पनि यही लिभरपुल नै हुनेछ । ग्वार्डिओला पनि मान्छन्, ‘उपाधिको भिडन्त हाम्रो र लिभरपुलबीच नै हो । हामी दुईलाई चुनौती दिने भनेको म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र टोटेनहम नै हुन्छन् ।’


नयाँ अनुहार

जति बेला टिममा सबै खाले खेलाडी छन् भने किन नयाँमा ध्यान दिने ? त्यसको उत्तरमा सिटीले भित्र्याएको छ, स्पेनी अन्तर्राष्ट्रिय खेलाडी रोडरी । उनी कीर्तिमानी रकममा एटलेटिको म्याड्रिडबाट सिटी आएका छन् । ‘मेरो लागि सिटीबाट खेल्नु ठूलो अवसर हो,’ उनले भनेका छन्, ‘मेरो विचारमा ग्वार्डिओला विश्व फुटबलकै सबैभन्दा महान प्रशिक्षक हुन् ।’ उनलाई सर्जियो बुस्केट जस्ता खेलाडी मानिन्छ । उनी नै टिमका महत्त्वपूर्ण खेलाडी हुन सक्छन् ।


प्रमुख खेलाडी

पछिल्लो सिजन सिटीले अधिकांस समय केभिन डी ब्रुयनेबिना खेल्यो । सम्झनुपर्ने के छ भने उनी त्यस सिजनअघि प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए । गत सिजन लिग उपाधि जित्ने क्रममा २८ वर्षीय बेल्जियमका प्लेमेकर ओझेलमा जस्तै रहे चोटका कारण । उनले लिगका ११ खेलमात्र सुरुदेखि खेले । अहिले पूर्ण फिट मानिएका डी ब्रुयनेले आफ्नो प्रतिष्ठाअनुसार खेल्ने हो भने निश्चित छ उनी नै टिमका प्रमुख खेलाडी हुनेछन् ।


लिभरपुल

सन् १९९० देखि लिभरपुलले लिग उपाधि जित्न सकेको छैन । यो नै क्लबको सबैभन्दा ठूलो दुःख र पीडाका रूपमा छ । योर्गन

क्लोपको लिभरपुलले गत सिजन युरोपेली च्याम्पियन्स लिग उपाधि जितेको थियो, तर नयाँ सिजन सुरु हुनअघि त्यसले लिगमा खासै अर्थ राख्ने छैन । लिभरपुलले शुक्रबार लिगको उद्घाटन खेलमा नर्विच सिटीको सामना गर्दै छ । यो सँगै सुरु हुनेछ, टोलीको एक अर्को उपाधि जित्ने अभियान ।


के अपेक्षा गर्ने ?

गत सिजन लिभरपुल उपाधिको होडमा निराश रहेको हुनुपर्छ । ९७ अंक बटुलेर पनि आखिरमा म्यानचेस्टर सिटीपछि दोस्रो स्थानमा रहनुपर्छ भने के भन्ने र ? यो यति धेरै अंक हो कि पछिल्ला दुई सिजनबाहेक यतिको प्रदर्शनले प्रत्येकपल्ट प्रिमियर लिग उपाधि जित्न पर्याप्त हुन्छ । गत सिजन क्लोपको लिभरपुलले एकै खेलमात्र गुमायो । यो संयोगले सिटीविरुद्ध इतिहादमा जनवरीको खेल थियो । यो निकै महँगो साबित भयो ।


यसै हारबाट लिभरपुलले अन्ततः लिग उपाधि जित्न सकेन । त्यो हारको पीडा बिर्संदै लिभरपुलले च्याम्पियन्स लिग भने जित्यो । टोटेनहमलाई फाइनलमा २–० ले हराएर च्याम्पियन भयो । युरोपेली फुटबलमा उपाधि जित्ने त लिभरपुलको बानी जस्तै हो । उसको रगतमै यो गुण छ । तर लिभरपुलको यस सिजनको पनि सबैभन्दा ठूलो लक्ष्य हुनेछ, लिग जित्ने । यसक्रममा गत सिजन घरेलु फुटबलको सबै तीन उपाधि जित्ने म्यानचेस्टर सिटीलाई पछाडि छाड्ने ।


लिभरपुलले च्याम्पियन्स लिग जितेलगत्तै ग्वार्डिओलाले क्लोपलाई फोन पनि गरे बधाई दिन । त्यति बेला क्लोप भन्थे, ‘हामीले एकअर्काविरुद्ध के वाचा गर्‍यौं भने आउँदो सिजन हामी अझ चर्को प्रतिस्पर्धामा हुनेछौं ।’ त्यसको झल्को आइतबारको कम्युनिटी सिल्डमा पनि देखियो । त्यसको पहिलो हाफमा सिटीको प्रभुत्व रह्यो । दोस्रो हाफमा भने लिभरपुल चम्किएको थियो । नतिजा टाइब्रेकरबाट भयो । तय भयो प्रतिस्पर्धा साँच्चै चर्को नै हुनेछ ।


नयाँ अनुहार

यसअघिका तीन सिजनमा लिभरपुलले २८ करोड डलर खर्च गरेको थियो नयाँ खेलाडीका लागि । यस्तोमा लिभरपुल यस सिजन

चुपचापजस्तै रह्यो । क्लोपले यसपल्ट दुई नयाँ खेलाडी किनेका छन् । यी दुवै संयोगले किशोर नै छन् । लिभरपुलले डच डिफेन्डर १७ वर्षे सेप भान डेन बर्गलाई जेवेलेबाट ल्याएका छन् । यस्तै उनले फुलहमका १६ वर्षीय मिडफिल्डर हार्भे इलियटलाई पनि अनुबन्ध गरेर आफ्नो खेलाडी बनाएको छ । टिमले भिर्जिल भान डायक र मोहम्मद सलाहलाई भने नयाँ अनुबन्ध दिएको छ ।


प्रमुख खेलाडी

इजिप्टका मोहम्मद सलाहले युरोपेली च्याम्यिन्स लिगको फाइनलमा टोटेनहमविरुद्ध सुरुमै गोल गरे । पेनाल्टीबाट उनले गरेको त्यो गोलसँगै आफ्ना आलोचकको मुख बन्द गर्न पनि सफल रहे । यी २७ वर्षीय खेलाडी गत सिजन लिगमा संयुक्त रूपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि रहे । एनफिल्डमा यी खेलाडी यसपल्ट पनि लिभरपुलका लागि प्रमुख खेलाडी हुनेछन् । उनले गत सिजन २२ गोल गरे । ८ खेलमा सहयोगी भूमिका निभाए । यसपल्ट पनि उनीबाट यस्तै आस हुनेछ ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?