डर्बी काउन्टीमा रोनी

एएफपी

लन्डन — इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान वायन रोनीले अमेरिकाको डीसी युनाइटेड क्लब छाडेर स्वदेश फर्किने भएका छन् । इंग्ल्यान्डको दोस्रो डिभिजन क्लब डर्बी काउन्टीले रोनीसँग सम्झौता गरेको मंगलबार घोषणा गरेको छ । 

डर्बी काउन्टीमा रोनी

आफ्नो देश र क्लब (म्यानचेस्टर युनाइटेड) का लागि कीर्तिमानी गोलकर्ता ३३ वर्षीय रोनीले महत्त्वाकांक्षी क्लब डर्बी काउन्टीसँग १८ महिने सम्झौता गरेका छन् । उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा रहने छन् । रोनीकै पूर्व टिममेट फ्रान्क लाम्पार्डले सम्हालेको डर्बीले गत सिजन प्लेअफ फाइनल खेलेको थियो । यो उच्चस्तरीय सम्झौताका लागि क्लबले पहिले नै भुक्तानी गरिसकेको छ ।


‘रोनीलाई इंग्ल्यान्ड फर्काएर कीर्तिमानी सम्झौता गरेका छौं,’ क्लब मालिक मेल मोरिसले भने । सन् १९७० को दशकमा दुईपल्ट इंग्लिस प्रिमियर लिग जितेको डर्बी त्यसयता यस्तो सफलतालाई प्रयासरत छ । केही अपुष्ट हल्लाका अनुसार रोनीकी पत्नी कोलिनलाई अमेरिका बसाइ चित्त बुझिरहेको थिएन, उनी घर फर्कन चाहन्थिन् ।


रोनी अहिले प्रशिक्षकको योग्यता हासिल गर्ने तयारीमा काम गरिरहेका छन् । त्यसैले हालका लागि नेदरल्यान्ड्सको टोली भीएसभीका पूर्व प्रशिक्षक फिलिप कोकुको कोचिङ स्टाफका रूपमा काम गर्नेछन् । ‘डर्बी काउन्टीले प्रदान गरेको अवसर लिएर म निकै उत्साही छु,’ रोनीले क्लबको वेबसाइटमा भनेका छन्, ‘जनवरीदेखि फिलिप कोकुको कोचिङ स्टाफका साथै पहिलो टिमको सदस्यका रूपमा सामेल हुन आतुर छु ।’


‘निश्चित रूपमा म उत्कृष्ट योगदान दिन प्रयासरत हुनेछु । क्लबका हरेक सदस्यका साथै समर्थकसँग भेट्ने दिन पर्खिरहेको छु ।

साथै पहिलो टिम र एकेडेमी प्रशिक्षकका रूपमा म प्रशिक्षण करिअर सुरु गर्न उत्सुक छु,’ उनले थपे, ‘मैले डीसी युनाइटेडका मालिक, अधिकारी र समर्थकलाई पनि धन्यवाद दिनैपर्छ । उनीहरूसँगको सहकार्य वास्तवमै सानदार रह्यो ।’


डीसी युनाइटेडका सह–अध्यक्षद्वय स्टिभ काप्लान र जेसन लेभिनले पनि फ्रेन्चाइज फुटबलमा रोनीले उनको क्लबका लागि गरेको योगदानको प्रशंसा गरे । एभरटनबाट गत वर्ष ३ वर्षे सम्झौता गरेका रोनीले डीसी युनाइटेडका लागि ४३ खेलमा २३ गोल गरेका छन् ।


‘रोनीसँगको कुराकानी र आफ्नो परिवारसँग टाढा हुनुपरेको कठिन परिस्थिति बुझेपछि हामी यो सहमतिमा पुग्यौं कि उनलाई आएको प्रस्ताव स्विकार्नु नै सबैभन्दा राम्रो निर्णय थियो,’ सहअध्यक्षद्वयले डर्बी वेबसाइटसँगको कुराकानीमा भने, ‘रोनी एक असाधारण नेता हुन् र सबैभन्दा प्रतिष्ठित खेलाडीमध्ये एक हुन् । उनको योगदान यस सिजनमा उस्तै गरी निरन्तर रहोस् भन्ने हाम्रो कामना हो ।’


डर्बीका मालिक मोरिसले रोनीको आगमनपछि क्लबको प्रतिष्ठा प्रभावित हुने बताएका छन् । ‘उल्लेखनीय कुरा के छ भने सानदार खेलाडी र सँगै प्रेरणादायी प्रशिक्षकका रूपमा हामीले रोनीलाई पाएका छौं । म यस कुराको कल्पना गर्न सक्छु कि हाम्रा समर्थकले घरेलु र अन्तर्राष्ट्रियस्तरको भिन्नता देख्नेछन् ।’


सोमबार हडर्सफिल्ड टाउनविरुद्ध २–१ को जितसँगै प्रशिक्षकको रूपमा विजयी सुरुआत गरेका कोकुले पनि सन् २००८ पछि प्रिमियर लिगमा बढुवा हुने प्रयासरत डर्बीलाई रोनीजस्ता महान् र अनुभवी खेलाडीको आगमनले मनोबल उच्च हुने बताएका छन् ।


‘रोनीलाई डर्बी काउन्टीमा स्वागतका लागि उत्सुक छु । मैदानबाहिर र भित्र उनले हाम्रो टिममा धेरै प्रभाव पार्नेछन्,’ कोकुले भने, ‘नेतृत्वदायी, क्षमतावान, अनुभवी र उच्च नैतिक व्यक्तित्व भएका एक खेलाडी पाउनु हाम्रा लागि धेरै ठूलो कुरा हो ।’

प्रकाशित : श्रावण २२, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?