१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रिमियर लिगका चार प्रत्याशी

इंग्लिस प्रिमियर लिग
कान्तिपुर संवाददाता

काठमाडौँ — गत सिजनको प्रदर्शन आधार मानेर भन्ने हो भने अरू अधिकांश क्लब एकातर्फ रहे । च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुल अर्कोतर्फ रहे । यी दुई क्लबको प्रदर्शन बेग्लै रह्यो । त्यसपछि त्यस्ता चार क्लब पनि रहे, जसले यी दुई टिमलाई चुनौती दिन सक्ने छाँट देखाए ।

प्रिमियर लिगका चार प्रत्याशी

सम्भवतः यस सिजन पनि यस्तै हुनेछ, एकातर्फ सिटी र लिभरपुलको दोहोरो भिडन्त हुनेछ भने उनीहरूलाई समाउने प्रयासमा हुनेछ यी चार क्लब । शुक्रबार लिभरपुल र नर्विचबीचको खेलसँगै प्रिमियर लिगको सिजन सुरु हुनेछ । फ्रान्सेली समाचार संस्था एएफपीको विश्लेषण :


चेल्सी

चेल्सीले गत सिजन प्रिमियर लिगको तेस्रो स्थानमा रहे पनि लन्डन प्रतिद्वन्द्वी आर्सनललाई हराएर युरोपा लिग जितेको थियो । तर प्रशिक्षक माउरिसियो सारीले क्लब छाडेर युभेन्ट्स गएको समर्थकलाई अझै पचेको छैन । सारी फेरि इटालीमै फर्कने भएपछि क्लबका लागि एउटै राहत भनेको प्रशिक्षक पदमा फ्रान्क लाम्पार्डको पुनरागमन नै हो । चेल्सीका खास समर्थकका लागि लाम्पार्ड फेरि क्लबमा आउनु भनेको उनीहरूका लागि सपना पूरा गरेजस्तै हो ।

च्याम्पियनसिप टोली डर्बीमा एक सिजनमात्र बिताएयता उनी चेल्सी आएका हुन् । चेल्सीमा नायकको छवि छ लाम्पार्डको । उनले कीर्तिमानी गोल गोल गर्ने क्रममा चेल्सीमा १३ वर्ष बिताए । त्यसबीच उनले तीन लिग उपाधि, चार एफए कप र सन् २०१२ मा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिग जिते । क्लब मालिक रोमन एब्राहिमोभिचले ४१ वर्षीय लाम्पार्डको नियुक्तिलाई निकै जोखिमका रूपमा लिने पनि छन् ।

क्लबका स्टार प्लेमेकर इडेन हाजार्डले टिम छाड्नु पनि चेल्सीका लागि अर्को धक्का रहेको छ । उनी रियल म्याड्रिड गए । त्यसमाथि क्लब अझै खेलाडी स्थानान्तरण प्रतिबन्धबाट गुज्रिरहेको छ । त्यसैले टिम व्यवस्थापनमा कम अनुभवी लाम्पार्डका लागि यो दुवै निकै टाउको दुखाइ साबित हुन सक्नेछ । यस्तोमा लाम्पार्ड अधिकांश स्थितिमा आफ्नै युवा खेलाडीमा बढी निर्भर हुनुपर्नेछ । त्यसमा सबैभन्दा अगाडि रहेका छन् कलम हडसन ओडिइ । इंग्ल्यान्डका यी विङ्गर चेल्सीको भविष्यमा राम्रो भूमिका खेल्न सक्ने खेलाडी हुन् । उनले पनि बायर्न म्युनिख जाने इच्छा राखेका थिए, उनको यो अनुरोध पूरा भएन । लाम्पार्डले उनलाई ठूलो भूमिका दिने भनेर फकाएका छन् । चेल्सी दुईपल्टको ‘ट्रान्सफर विन्डो’ प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा क्लबमा प्रवेश गरेका एकमात्र नयाँ अनुहार क्रिस्टियन पुलिसिच छन् । उनलाई हाजार्डको स्थानमा राम्रो विकल्प मानिएको छ ।


आर्सनल

युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन नसक्नु सबैभन्दा ठूलो धक्काका रूपमा छ आर्सनलका लागि । त्यो पनि लगातार तेस्रो सिजन । यसका लागि क्लबको खराब र गलत खेलाडी स्थानान्तरण नीति लिएको छ । यसै कारणले आर्सनलको प्रदर्शन पनि खराब हुने गरेको आरोप छ । अचेल आर्सनललाई लिग उपाधिको बलियो दाबेदार समेत मान्ने गरिँदैन । यसले पनि देखाउँछ, पछिल्लो समय टिमको प्रदर्शन कति धेरै खस्किएको छ भनेर ।

उनाइ इम्रेले इमिरेट्स स्टेडियममा बिताएको पहिलो सिजन आर्सनल पाँचौंमा रह्यो । छिमेकी प्रतिद्वन्द्वी टोटेनहमको तुलनामा १ अंकले पछाडि । युरोपा लिगको फाइनलमा चेल्सीको हातबाट ४–१ ले पराजित रहनु पनि क्लबका लागि उत्तिकै ठूलो धक्का रहेको छ । यो नै क्लबको च्याम्पियन्स लिगमा प्रवेशको अन्तिम बाटो थियो । यसमै क्लब नराम्रोसँग चिप्लियो । आर्सनलले पछिल्लोपल्ट प्रिमियर लिग जितेको पनि १५ वर्ष भइसकेको छ । यसै कारण समर्थक निकै आक्रोशित छन् ।

उनीहरू क्लब मालिक स्टान क्रोन्केको विरोधमा पनि उत्रेका छन् । क्लबले यसपल्ट पनि राम्रो सुरुआत लिन सकेन भने यी समर्थकले इमिरेट्समै चर्को विरोध गर्ने योजना बनाइरहेका छन् । क्लबको निर्णायक समूहमा राम्रो भूमिका खेल्न सक्ने क्रोन्केका छोरा जोसले भने यसपल्ट आर्सनलले उपाधि होडमा सहभागी हुने दाबी गरेका छन् । यसको एउटा ठूलो कारण क्लबले अनुबन्ध गरेका निकोलस पेपे हुन्, त्यो पनि ७ करोड २० लाख पाउन्डमा ।

उनी क्लबमा आए पनि टिमका उत्तिकै महत्त्वपूर्ण खेलाडी आरोन राम्सी भने आर्सनल छाडेर युभेन्ट्स गएका छन् । यसले टिमको मध्यपंक्तिमा राम्रै कमजोरी ल्याउने अनुमान छ । टिमका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी भने पिएरे एमरिक अबामेयाङ नै हुनेछन् । उनले गत सिजन २२ गोल गरेका थिए । उनको व्यक्तित्व पनि खुबै चम्किलो छ । त्यसमाथि उनीसँग त्यसैलाई सुहाउँदो र तीव्र गतिमा खेल्न सक्ने क्षमता पनि छ, त्यसैले उनीबाट धेरै आस हुनेछ ।


टोटेनहम

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको हातबाट पराजित भएयता टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले दाबी गरेका थिए, टिमलाई अझ स्तरीय बनाउने र अझ माथिल्लो स्तरमा पुर्‍याउने । त्यस फाइनल हारपछि उनी आफैं पनि स्तब्ध भएका छन् । यो टोटेनहमको पहिलो च्याम्पियन्स लिग फाइनल पनि थियो । पोचेटिनो चाहन्छन्, यसै उपलब्धिमा टेकेर टोटेनहमले आउने दिनमा अझ राम्रो खेल्न सक्छ । यसमा कुनै शंका छैन ।

अर्जेन्टिनी व्यवस्थापक के पनि मान्छन् भने अब त्यस्तो समय आएको छ, जहाँबाट टोटेनहमले नयाँ युगको सुरुआत लिन सक्छ । टोटेनहमका प्रमुख डानियल लेभी स्वयं भने दोधारमा देखिन्छन् र आफ्ना व्यवस्थापकले मागे जस्तो ठूलो लगानी गर्न तयार देखिएका छैनन् । नयाँ घरेलु मैदानमा प्रवेश गरेयता पोचेटिनोले भनिसकेका छन्, अब क्लब बढी महत्त्वाकांक्षी हुनै पर्छ । यसैको पहिलो खुडकलो छ, फ्रान्सेली टुङगी एनडोम्बेलेसँगको अनुबन्ध ।

क्लबका लागि खुसीको समाचार के पनि छ भने डेनमार्कका क्रिस्टियन एरिक्सनले यो सिजन आफूले अझ एक पाइला अगाडि सरेर खेल्ने दाबी गरेका छन् । उनी खुबै सकारात्मक र उत्साही देखिन्छन् । यसैक्रममा उनले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडको प्रस्ताव समेत अस्विकार्दै टोटेनहममै रहन मानेका छन् । बरु पोचेटिनोले कमजोर प्रदर्शन गरिररहेका डिफेन्डर किरन ट्रिपियरलाई भने एटलेटिको म्याड्रिडलाई बेच्नु नै ठीक मानेका छन् ।

युरोपमा राम्रो गरे पनि टोटेनहमले सिजनको अन्त्यतिर भने उत्तिकै बलियो खेल खेल्न सकेन । टोटेनहमले लिगका पछिल्ला ५ खेलमध्ये एकमा मात्र जित निकालेको थियो । यसबीच निकै दबाबबीच टोली चौथो स्थानमा रहन सफल भयो । केही सिजन अगाडिसम्म यो पनि टोटेनहमका लागि उपलब्धि हुन्थ्यो, अब भने होइन । टोटेनहमले यसपल्ट सबैभन्दा बढी विश्वास गर्ने खेलाडी भने उनै एनडोम्बेले छ । उनका लागि क्लबले ५ करोड ४० लाख पाउन्ड तिरेको छ लियोनलाई ।


म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड पछिल्लो ६ सिजन शीर्ष चारबाट चारपल्ट बाहिर छ । सर एलेक्स फर्गुसनले व्यवस्थापकीय जिम्मेवारी छाडेयता क्लब अब त्यस्तो रहन सकेन । जस्तो पहिले थियो । अहिले ओले गनर सोल्सायरको म्यानचेस्टरबाट के अपेक्षा गर्ने हो भनेर पनि भन्न गाह्रो छ । गत सिजन जोसे मोउरिन्होको प्रशिक्षणमा क्लबको प्रदर्शन निकै दयनीय जस्तै थियो । सोल्सायर आएयता एक समय क्लब शीर्ष चारमा आउने छाँट पनि देखिएको थियो ।

तर त्यो भएन । सिजनको अन्तिम दोस्रो खेलमा म्यानचेस्टरले हडर्सफिल्डसँग १–१ को बराबरी खेलेको थियो । यो खेलअघि नै हर्डसफिल्ड रेलिगेसन परिसकेको थियो । अन्तिम खेलमा पनि म्यानचेस्टरलाई कार्डिफले २–० ले हराएको थियो । यो पनि प्रिमियर लिगबाट बाहिरिने क्रममा थियो । लिग विजेता म्यानचेस्टर सिटीबाट ३२ अंकको दूरीमा रहनु छिमेकी म्यानचेस्टर युनाइटेडका लागि वास्तवमै लाजमर्दो स्थिति रह्यो । कतिपयले त केसम्म प्रश्न गरेका छन् भने म्यानचेस्टरका लागि सोल्सायर ठीक प्रशिक्षक हुन् कि होइनन् ?

म्यानचेस्टरले यसपल्ट पनि च्याम्पियन्स लिग खेल्ने छैन, बरु बिहीबारको रात युरोपा लिगमै बिताउने छ । क्लबले प्रि–सिजनका खेलमा राम्रो प्रदर्शन गरेपछि टिमले एउटा महत्त्वपूर्ण विषयमा अझै निर्णय गर्न सकेको छैन । त्यो हो पाउल पोग्बाको भविष्यलाई लिएर । गत सिजनकै प्रसंग उप्काउने हो भने क्लबको गोल गर्ने र रोक्ने दुवैमा समस्या छ ।

युनाइटेडले सिटीको तुलनामा ३० कम गोल गर्‍यो भने सिटीकै तुलनामा ५४ बढी गोल पनि खायो । कीर्तिमान २० पल्टको इंग्लिस च्याम्पियनका लागि लिगमा राम्रो सुरुआत निकै महत्त्वपूर्ण रहनेछ । टिममा सकेसम्म चाँडै बलियो आत्मविश्वास फर्काउनु पर्नेछ । टिमको कमजोर रक्षापंक्तिकै कारण सोल्सायरले लेस्टरका ह्यारी मगायरलाई भित्र्याएको छ । तर क्लबलाई बलियो स्थितिमा उभ्याउने हो भने अगाडि खेल्ने १० नम्बर जर्सीका मार्कस रसफोर्डले नै सबैभन्दा मुख्य भूमिका खेल्नुपर्ने हुन्छ ।



मगायर महँगा डिफेन्डर

लन्डन (एएफपी)– लेस्टर सिटीबाट ९७ मिलियन अमेरिकी डलरमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएपछि ह्यारी मगायर विश्वकै सर्वाधिक महँगा डिफेन्डर बनेका छन् । कमजोर रक्षापंक्तिमा सुधार ल्याएर प्रिमियर लिगमा वर्चस्व फिर्ता लिने लक्ष्यसहित युनाइटेडले २६ वर्षीय इंग्लिस सेन्ट्रल डिफेन्डरको अनुबन्ध गरेको हो ।


जेमी भर्डीले लेस्टरका पूर्व टिमसाथी मगायरको टाउकोको आकारबारे मजाक उडाउन सक्नेछन् । तर यी पूर्व शिक्षकसँग शरीरसँगै तीक्ष्ण दिमाग पनि छ । ‘उनी एक असल शिष्य थिए । जो सधैं हाजिर हुन्थे र धेरै मिहिनेत गर्थे,’ मगायरले अध्यापन गर्ने विद्यालयका उपप्रधानाध्यापक सू कैनले भने । किशोरास्थामा फुटबल खेल्न सुरु गर्दा मगायरले मिडफिल्डरको भूमिकामा आफूलाई सहज मान्थे । रक्षापंक्तिमा उनको क्षमता पहिचान गरी सेफिल्ड युनाइटेड एकेडेमीका प्रशिक्षक जोन पेम्बर्टनले उनलाई सेन्टर डिफेन्सको भूमिकामा ढाले ।


जोन टेरी र उनका अन्तर्राष्ट्रिय सहयात्री रियो फर्डिनान्ड मगायरका प्रेरणास्रोत हुन् । फर्डिनान्डको खेलबाट उनी धेरै प्रभावित थिए । सन् २०१२ देखि ०१४ सम्म उनी हल सिटीमा रहँदा उनले म्यानचेस्टर युनाइटेडमा रहेका फर्डिनान्डसँग खेल्दा बेग्लै अनुभूति भएको र धेरै सिक्न पाएको त्यति बेलै भनेका थिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?