नेपालमा डब्लूटीको ट्रेनिङ सेन्टर 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व तेक्वान्दो महासंघ (डब्लूटी) ले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीलाई क्षेत्रीय ट्रेनिङ सेन्टरको मान्यता दिएको छ । नेपाल भ्रमणमा रहेका महासंघका अध्यक्ष चुङ वो चोई र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सोमबार संयुक्त रूपमा ट्रेनिङ सेन्टरको उद्घाटन गरे । 

विश्व तेक्वान्दो महासंघले क्षेत्रीय तालिम केन्द्रको मान्यता दिएको काठमाडौं १२ औं सहर हो । यसअघि चीनका ३, अजरबैजान, उज्वेकिस्तान, इरान, जर्मनी, बेलायत, दक्षिण कोरिया, क्रोएसिया र इटलीमा पनि क्षेत्रीय ट्रेनिङ सेन्टर स्थापना भएका छन् ।


क्षेत्रीय ट्रेनिङ सेन्टर सञ्चालनमा आउँदा नेपाली खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास अध्यक्ष चोईले व्यक्त गरे । उनका अनुसार विश्व तेक्वान्दो महासंघमा आवद्ध सबै देशका खेलाडीले ट्रेनिङ गर्न सक्नेछन् । त्यसका लागि विश्व तेक्वान्दो महासंघले समन्वय गर्नेछ भने ट्रेनिङ सेन्टरको सञ्चालन नेपाल तेक्वान्दो संघले गर्नेछ ।


सदस्यसचिवले दक्षिण एशियामा पावरहाउसको रूपमा रहेको नेपाली तेक्वान्दोको स्तर यस ट्रेनिङ सेन्टर सन्चालनमा आएपछि अझै बढ्ने दाबी गरे ।


महासंघका अध्यक्ष दक्षिण कोरियाली नागरिक चोईले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा मान्यताप्राप्त तेक्वान्दो महासंघ आफ्नो नेतृत्वमा मात्र रहेको र यस महासंघले नेपालमा नेपाल तेक्वान्दो संघलाई मात्र आधिकारिता दिएको प्रस्ट पारे ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?