भुरीगाउँमा खो खोको बन्द प्रशिक्षण

कान्तिपुर संवाददाता

बर्दिया — मंसिरको दोस्र्रो साता हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको खो खो खेलको बन्द प्रशिक्षण भुरीगाउँमा सुरु भएको छ । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा एकेडेमी निर्माण गरेको थियो । मुलुकभरबाट छनोट भएका ३५/३५ महिला तथा पुरुष खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन् । तिनैमध्येबाट सागका लागि २० पुरुष र २० महिला खेलाडी छनोट हुनेछन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मुलुकभरिबाट महिला र पुरुष गरी २ सय १६ खेलाडी सहभागी थिए । ‘तीमध्येबाट
उत्कृष्ट ३५/३५ जनालाई छनोट गरिएको छ ।एक महिनाको बन्द प्रशिक्षणपछि २०/२० जना खेलाडी छनोट हुनेछन्,’ खो खो खेलका प्रशिक्षक केशवराज गौतमले कान्तिपुरसँग भने, ‘अन्तिम छनोटमा परेका खेलाडीले मंसिर १४ गते हुने साग प्रतियोगितामा स्पर्धा गर्नेछन् ।’

बन्द प्रशिक्षणका लागि प्रशिक्षकसहित खेलाडीहरू एक साताअघि बर्दिया आएका हुन् । भारतका खो खो महिला र पुरुष प्रशिक्षक आइतबार साँझसम्म भुरीगाउँ पुग्ने कार्यतालिका छ । बन्द प्रशिक्षण दसैंको एक साताअघिसम्म चल्नेछ । दसैंको एक साता बिदापछि नेपाली खेलाडी प्रशिक्षणका लागि भारतको दिल्लीतर्फ लाग्नेछन् । ३३ दिन भारतमै प्रशिक्षण लिई मंसिर १ गते टोली काठमाडौं फर्किने कार्यतालिका छ ।

‘बर्दियाको भुरीगाउँमा नेपाली प्रशिक्षकहरूले प्रशिक्षण दिइरहनुभएको छ । केही दिनका लागि भारतका प्रशिक्षक पनि आउने कार्यक्रम छ,’ प्रशिक्षक गौतमले भने, ‘सार्कस्तरीय प्रशिक्षण दिल्लीमा गर्ने कार्यक्रम तय भइसकेको छ ।’ खेलाडी प्रशिक्षणका लागि बिहान साढे ६ देखि साढे १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्मको समय तोकिएको छ । दिउसो गर्मी भएका कारणले प्रशिक्षणमा समस्या हुने गरेको हो ।

प्रशिक्षणका लागि गौतमसँगैसुरेश नेपाली, बिक्की महर्जन रउषा कुँवर रहेका छन् । बन्द प्रशिक्षणमा महिलातर्फ तीन र पुरुषतर्फ चार खेलाडी घरायसी कारणले सहभागी हुन नसकेपछि वैकल्पिकलाई अवसर दिइएको प्रशिक्षक गौतमले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

इंग्ल्यान्डलाई विशाल लक्ष्य

स्मिथको दुवै इनिङ्समा शतक
एएफपी

बर्मिङघम — अस्ट्रेलियाले एसेज शृंखलाको पहिलो टेस्टमा इंग्ल्यान्डलाई ३ सय ९८ रनको असम्भव झैं लाग्ने लक्ष्य दिएको छ । अस्ट्रेलियाले आइतबार एज्बास्टनमा चौथो दिनको खेलमा दोस्रो इनिङ्स ४८७–७ को स्कोरमा घोषणा गर्दै एकदिवसीय विश्वकप च्याम्पियन इंग्ल्यान्डलाई कठिन चुनौती तेर्स्याएको हो । 

जबाफमा दिनको खेल समाप्तिमा ७ ओभर खेलेको इंग्ल्यान्डले बिनाक्षति १३ रन बनाएको छ । रोरी बर्न्स ७ र जेसन रोय ६ रन बनाई क्रिजमा छन् । बर्न्सको १ सय ३३ रनमा इंग्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ७४ रन बनाएको थियो ।

इंग्ल्यान्डले सफलता हात पारे आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउने छ, । अन्तिम दिनको मात्र खेल बाँकी रहेकाले जुन सम्भावना निकै कम देखिएको छ । यसअघि सन् १९२८–२९ मा अस्ट्रेलियासँगै मेलबर्नमा टोलीले खेलको चौथो इनिङ्समा ३३२–७ को स्कोर बनाउँदै खेल जितेको थियो ।

स्टिभ स्मिथले १ सय ४२ रन बनाएपछि अस्ट्रेलियाले पहिलो इनिङ्सका आधारमा पछाडि परे पनि उत्कृष्ट पुनरागमन गरेको हो । दक्षिण दक्षिण अफ्रिकामा बल टेम्परिङ काण्डमा परी १२ महिनाको प्रतिबन्धपछि पहिलो टेस्ट खेलिरहेका स्मिथले दुबै इनिङ्समा शतक बनाए । उनले पहिलो इनिङ्समा पनि १ सय ४४ रन बनाउँदा अस्ट्रेलियाले २ सय ८४ रन बनाएको थियो ।

कुल २ सय ७ बल खेलेका स्मिथले १४ चौका प्रहार गरे । स्मिथले ट्राभिस हेडसँग चौथो विकेटमा १ सय ३० र वेडसँग पाँचौं विकेटमा २ सय २ रनको साझेदारी गरे । कप्तान टिम पेन ३४ रनमा आउट भए । म्याथ्यु वेडले पनि १ सय १० रन बनाउँदै जेम्स एन्डरसनबिनाको इंग्लिस बलिङ आक्रमणविरूद्ध अस्ट्रेलियालाई हावि बनाए । पहिलो दिनको खेलमा ४ ओभर बलिङ गरेका एन्डरसनले पिडौंला फर्किएपछि फेरि बलिङ गरेका छैनन् । वेडको टेस्ट क्रिकेटमा यो उच्च स्कोर हो । उनले १ सय ४३ बलको इनिङ्समा १७ चौका प्रहार गरे ।

जेम्स प्याटिन्सन ४७ रनमा अविजित रहे । टेस्टमा यो उनको उच्च स्कोर हो । ४८ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान प्याट कुमिन्सले ३३ बलमा २ चौका प्रहार गरी २६ रन बनाए । अस्ट्रेलियाले २००१यता इंग्लिस भुमिमा आएर एसेज शृंखला जित्न सकेको छैन । इंग्ल्यान्डको बेन स्टोक्सले ३, मोइन अलीले २ तथा स्टुवार्ट ब्रोड र क्रिस वोक्सले १–१ विकेट लिए ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्