कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसीलाई जरिवनासहित ३ महिना प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — कोपा अमेरिकाको क्रममा दक्षिण अमेरिकी फुटबल महासंघप्रति गम्भीर टिप्पणी गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्धका साथै ५० हजार अमेरिकी डलर जरिवाना लगाइएको छ ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका ३२ वर्षीय स्ट्राइकर मेसीले चिलीविरुद्ध तेस्रो स्थानका लागि भएको प्लेअफका क्रममा रातो कार्ड खाएपछि दक्षिण अमेरिकी फुटबल महासंघमा ‘भ्रष्टाचार’ को आरोप लगाएका थिए ।


अर्जेन्टिनाको चिरप्रतिद्वन्द्वी ब्राजिलले गत महिना आयोजना गरेको कोपा अमेरिकाका क्रममा मेसी मुख्य दुई घटनामा बढी आक्रोशित भएका थिए । ब्राजिलविरुद्धको सेमिफाइनलमा अर्जेन्टिना २–० ले पराजित रहेको थियो । त्यस खेलमा अर्जेन्टिनाले माग गरेको दुई पेनाल्टी रेफ्रीले अस्वीकार गरिदिएका थिए । खेलपछि मेसीले ‘ब्राजिलले पछिल्लो समय दक्षिण अमेरिकी फुटबलमा धेरै कुरा व्यवस्थापन गरिरहेको’ प्रतिक्रिया दिएका थिए ।


त्यसपछिको खेलमा उनी चिलीविरुद्ध रातो कार्ड खाँदै मैदान बाहिरिनुपर्‍यो । २–१ को जितसँगै अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भयो । तर मेसीले रेफ्रीप्रतिको आफ्नो कटाक्ष चर्काइरहे । ‘भ्रष्टाचार र रेफ्रीले फुटबलको आनन्द लिन रोक लगाइरहेको छ । उनीहरू फुटबललाई नै बर्वाद गर्नेतर्फ लागिरहेका छन्,’ मेसीले भनेका थिए । चिलीका कप्तान गेरी मेडलसँगको झगडापछि उनलाई पहिलो हाफमै रातो कार्ड देखाइएको थियो । टेलिभिजन रिभ्यूमा हेर्दा उनले थोरै गल्ती गरेका थिए ।


महासंघले आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा मेसीलाई यही कारणले सजाय दिएको भन्नेबारे केही उल्लेख गरिएको छैन । तर अनुशासन नियमको धारा ७.१ र ७.२ अन्तर्गत कारबाही गरिएको जनाइएको छ । यस धाराले आक्रामक, अपमानजनक व्यवहार र असान्दर्भिक विरोध प्रदर्शन गर्नेहरूप्रति कारबाही आकर्षित हुन्छ । अर्को खण्डमा निर्णयको उल्लंघन वा न्यायिक निकायको निष्पक्ष फैसलाको अपमान भनेर व्याख्या गरिएको छ ।


मेसीको यस प्रतिबन्धले अर्जेन्टिनालाई खासै असर पर्ने छैन । यसबीचमा उसले केही मैत्रीपूर्ण खेलमात्र खेल्ने तालिका छ । सन् २०२२ को कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनोट २०२० को मार्चबाट सुरु हुनेछ । त्यसअघि अर्जेन्टिनाको कुनै ठूलो प्रतियोगितामा सहभागिताको तालिका छैन । चिलीसँगको खेलमा रातो कार्ड पाएका उनले यसै पनि एउटा खेल गुमाउने नै थिए । अर्जेन्टिनाले सेप्टेम्बरमा चिली र मेक्सिकोसँग अमेरिकामा मैत्रीपूर्ण फुटबल खेल्नेछ भने अक्टोबरमा जर्मनीसँग खेल्दैछ । मेसीले यी तीन खेल गुमाउने छन् र नोभेम्बरदेखि उनी राष्ट्रिय टोलीमा फर्कने छन् ।


यो पनि पढ्नुहोस्ः

मेसी रेफ्रीमाथि खनिए

प्रकाशित : श्रावण १८, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

रासस

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । शनिबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम सुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए । उनले भने, 'मनसुन एकैचोटी पूर्ण सक्रिय हुने छैन्, विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ ।'

उक्त रेखा नेपालको उत्तरतिर सर्ने क्रम सुरु भइसकेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू-भागका केही स्थानमा तथा मध्य र पूर्वका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×