कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तोडिएला ६ क्लबको पकड ?

बीबीसी

लन्डन — पछिल्लो तीन सिजन इंग्लिस प्रिमियर लिगको शीर्ष ६ मा आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले पकड राखेका छन् । यसमध्ये नयाँ सिजन अगाडि केही टिम भने संकटमा छन् वा क्लबभित्र केही न केही समस्या छ । यस्तोमा सन् २०१९–२०२० को सिजन यी ६ क्लबको प्रभुत्वमा कोही नयाँले धावा बोल्न सक्नेछ त ? यसपल्ट यी ठूला ६ क्लबलाई छुन सक्ने कुनै क्लब होलान् त ?

तोडिएला ६ क्लबको पकड ?

यी ६ क्लबमध्ये सम्भवतः म्यानचेस्टर सिटी र लिभरपुल केही बढी बलिया नै देखिन्छन् । बाँकी चार स्थानका लागि भने पक्कै पनि राम्रो भिडन्त हुने देखिन्छ । यसमध्ये सबैभन्दा अगाडि देखिन्छ लेस्टर सिटी । गत सिजन यो क्लब नवौं स्थानमा थियो । तीन वर्षअघि भने यो क्लबले शीर्ष ६ टिमको स्थानमा प्रवेशमात्र गरेन, अविश्वसनीय रूपमा लिग नै जितेर देखायो । यसपल्ट लेस्टर सबैभन्दा रोमाञ्चक युवा टिम हुनेछ ।


ब्रेन्डन रोजर्सको टिममा २६ वर्षमुनिका अधिकांश खेलाडीको बाहुल्य छ । यी खेलाडीमध्ये अधिकांस आफ्नो खेलजीवनको उत्कृष्ट विन्दुमा पुग्न बाँकी छन् । गत सिजन न्युकासल युनाइटेडका लागि सबैभन्दा बढी गोल गर्ने आयोज पेरेज हालै लेस्टर आएका छन् । यस्तै योरी टिलेमन्स पनि कीर्तिमान ४० मिलियन पाउन्डमा लेस्टरमा आइसकेका छन् । पछिल्लो सिजनको १० खेलमा रोजर्स नै प्रशिक्षक थिए र त्यसक्रममा टिमको प्रदर्शन अविश्वसनीय रूपमा राम्रो थियो ।


गत सिजन सातौं स्थानमा आएको वोल्भसलाई प्रिमियर लिगको रोबिन हुड क्लब पनि भन्न थालिएको छ । यसपल्ट विश्वास गरिएको छ, सायद टिमको प्रदर्शन अझ राम्रो हुनेछ । गत सिजन म्यानचेस्टर सिटी र लिभरपुललाई छाडेर अरू शीर्ष ६ स्थानमा रहेका टिमविरुद्ध वोल्भसको प्रदर्शन अद्वितीय थियो । तर यही टिमले अंकतालिकाको पुछारमा रहेको टिमविरुद्ध भने अंक गुमायो । बलियाबाट अंक छिन्दै कमजोरलाई अंक दिने हुँदा नै वोल्भसलाई रोबिन हुड टिम भनिएको थियो ।


यसपल्ट वोल्भ्सले माथिल्लो क्लबबारे राम्रो प्रदर्शनको क्रम कायम राख्ने र पुछारका क्लबविरुद्ध राम्रो गर्ने हो भने टिम शीर्ष ६ भित्र पर्ने राम्रो उम्मेदवार हुनसक्छ । शीर्ष ६ स्थानका लागि बलियो प्रत्याशी रहेको अर्को क्लब हुनसक्छ एभरटन । गत सिजन यो आठौं स्थानमा थियो । गत सिजनका अन्तिम आठ खेलमा उसले चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । खासमा एभरटनको प्रदर्शन गत सिजनको मध्यभागबाट राम्रो भएको सबैले अनुभव गरेका छन् ।


क्लबको सफलतामा धेरैभन्दा धेरै भूमिका प्रशिक्षक मार्को सिल्भाकै रहेको मानिन्छ । उनले यसपल्ट लोनमा रहेका आन्द्रे गोमेजको अनुबन्धलाई स्थायीमा परिणत गरिसकेका छन् । यसपल्ट सिल्भाले जस्तो टिम चाहिएको छ, त्यस्तो के भनेको छ त ? यसबारे भने स्पष्ट उत्तर दिन सकिन्न । तर उसले पछिल्लो सिजनको अन्त्यतिर जस्तो लय समातेको थियो, त्यसलाई यसपल्ट दोहोर्‍याउने हो वा त्यसको छेउछाउ मात्र प्रदर्शन गर्ने हो भने त्यो गज्जब हुन सक्नेछ ।


क्रिस कोलिन्सन

प्रकाशित : श्रावण १८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?