कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘सागप्रति आशा जगाएको छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषदको कार्यकारी नेतृत्वको रूपमा सदस्यसचिवको जिम्मेवारी सम्हालेको तीन साता पुगेको छ ।

‘सागप्रति आशा जगाएको छु’

यसबीच खेलकुदको ‘चुनौती’ स्विकार्दै राखेपको कार्यकारी जिम्मेवारीमा आएका सिलवालले नेपालमै हुने आसन्न १३ औं दक्षिण एसियाली खेलकुदलाई केन्द्रमा राखेर काम गरिरहको दाबी गरेका छन् । निकै आत्मविश्वासी देखिएका सदस्यसचिवले तोकिएकै मितिमा १३ औं साग आयोजना गर्ने विश्वास आफूमातहतका कर्मचारीलाई जगाएको बताएका छन् ।

नेपालले नै परिकल्पना गरेको दक्षिण एसियाली खेलकुद तेस्रोपल्ट नेपालमा हुँदै छ । तीनपल्ट मिति सारेर मंसिर १५ देखि २४ सम्म तय गरिएको मितिमै प्रतियोगिता सम्पन्न गर्नेमा आफू आत्मविश्वासी रहेको सदस्यसचिवले बताए । ‘बाहिरबाट देख्नु र भित्रको वास्तविकता अर्कै रहेछ,’ नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार आयाजना गरेको अन्तरक्रियामा सदस्यसचिव सिलवालले भने, ‘जे सोचेर राखेप नेतृत्वमा आएको थिएँ । साग खेलकुदको तयारीका लागि हुनैपर्ने काम पनि सुरु भएको रहेनछ । मिति तोकिनेभन्दा अरु काम अघि बढेकै रहेछन्, जुन मैले सोचेको थिएँ ।’

तीन साता अवधिमा मातहतका कर्मचारी र खेल संघका नेतृत्वलाई निर्धारित मितिमै प्रतियोगिता गर्न सकिनेमा विश्वस्त पारेको दाबी सदस्यसचिवको छ । नेपालकै कारण वा भौतिक पूर्वाधारका कारण सागको मिति परिवर्तन नहुने उनले दोहोर्‍याए । ‘मैरै कर्मचारी र खेल संघको नेतृत्वले पनि समयमै साग हुन्छ भन्नेमा विश्वस्त थिएनन् । यो तीन साता अवधिमा उनीहरूमा यो आस जागेको छ कि साग तोकिएकै मितिमा सम्भव छ,’ उनले भने ।

आफ्नो नियुक्तिपछि सागको तयारी केन्द्रित कार्यक्रममा व्यस्त भएको भन्दै सदस्यसचिवले दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोस्थित वातानुकूलित पौडीपोखरी तयार बनाउनु अहिलेको चुनौती भएको बताए । ‘दशरथ रंगशालाको भीआईपी प्यारापिटको छानोका लागि म आफैं चीन गएर सामान ल्याउने प्रक्रिया निरीक्षण गर्ने तयारीमा छु,’ उनले थपे, ‘भदौमा विश्वकप छनोटअन्तर्गतको फुटबल खेल रंगशालामा खेलाउन सम्भव हुँदैन । तर सागसम्म तयार भइसक्ने छ । विश्वकप छनोटको होम खेलतालिका परिवर्तन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत फिफामा पत्राचार भइसकेको छ । पोखरा रंगशाला २ हजार ५ सय क्षमताको बन्नेछ र सागसम्ममा पौडी पोखरी पनि तयार भइसक्नेछ ।’

उनले प्रतिस्पर्धाका लागि खेलाडी तयार गर्न समय कम भएको स्विकारे । ‘आठौं साग खेलकुदमा १ वर्षको प्रशिक्षण र ६ महिनाको बन्द प्रशिक्षणपछि खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अहिले एउटा खेलबाहेक सहभागी २६ खेलको बन्द प्रशिक्षण हालैमात्र सुरु भएको छ । हामीले त्यति बेला जस्तो उपलब्धि आउँछ भनेर झुटो बोल्नुहुँदैन ।’

सागको बन्द प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदको नतिजामा आधारित रहेर स्वर्ण विजेतालाई मात्र सहभागी गराउने अघिल्लो नेतृत्वको निर्णय परिपवर्तन गरिएको सदस्यसचिवले जानकारी दिए । आवश्यकता हेरेर उत्कृष्ट खेलाडी छनोट गरी सागमा सहभागी गराइने निर्णय भएको छ । उनले सागका लागि अनुमानित बजेट अझै बढ्नसक्ने बताए ।

खेलकुद मन्त्रालयले बनाएको साग खेलकुदका लागि बजेट निर्धारण समितिले ५ अर्ब २५ करोडको अनुमानित बजेट पेश गरेको थियो । ‘सागका लागि मुख्य तीन शीर्षकमा बजेट आवश्यक हुन्छ, सञ्चालन, भौतिक पूर्वाधार र खेलसामग्री खरिद,’ सदस्यसचिवले थपे, ‘हामीले सागलक्षित मात्र होइन स्थायी संरचना बनाउने प्रयास गरेका छौं, त्यसैले भौतिक पूर्वाधारमा निश्चित बजेटले पुग्छ वा पुर्‍याउनुपर्छ भन्ने हुँदैन । अनुमानित वा जे भए पनि बजेट थपघट हुनसक्छ ।’

छोटो समयको राखेप अनुभवले कर्मचारी संयन्त्रलाई जवाफदेयी बनाउनुपर्ने आवश्यकता औंल्याएका सदस्यसचिवले स्वच्छ र पारदर्शी प्रशासनको लक्ष्य लिएको दाबी गरे । ‘स्थायी सरकार भनिएका कर्मचारीको कार्यशैली कमजोर छ । खेलकुदको कर्मचारी संयन्त्रलाई जवाफदेयी र चुस्त बनाइने छ । राखेपमा अहिलेसम्म जिम्मेवारीबोध, सम्मान, पुरस्कार र दण्डको अभाव रहेछ, त्यसलाई सुधार गर्न प्रयासरत हुनेछु ।’

नेपालको क्रिकेट विवाद कायम राखिराख्ने तत्वका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को हालैको बैठकमा नेपाल क्रिकेट संघको निलम्बन फुकुवासम्बन्धी निर्णय हुन नसकेकोमा सदस्यसचिवले आक्रोश पोखे । ‘रमेश सिलवाल नामको खराब मान्छेले खेलकुद परिषदको नेतृत्व लिएकाले नेपालको क्रिकेट विवादबारे निर्णय नहोस् भन्ने आशयको पत्र आईसीसीमा पुगेको रहेछ, समय आएपछि त्यस्ता तत्व सार्वजनिक गरिनेछ,’ उनले थपे, ‘काठमाडौं, पर्सा र बाँकेको निर्वाचन बाँकी छ, स्वाभाविक प्रक्रियाबाट विवाद समाधानको पहल हुन नसकेमा म आफैं आईसीसीका प्रतिनिधिसँग नेपालको निलम्बन फुकुवाबारे छलफल सुरु गर्छु ।’

उनले नेपाल ओलम्पिक कमिटी विवाद प्राकृतिक र कृत्रिम कारणले लम्बिइरहेको भन्दै राखेप र ओलम्पिक कमिटीको समन्वयबिना खेलकुदको अन्तर्राष्ट्रिय सहभागिता/सफलता सम्भव नहुने प्रस्ट पारे ।

प्रकाशित : श्रावण १२, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?