१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डाइक बलियो प्रत्याशी

बीबीसी

लन्डन — युरोपेली च्याम्पियन्स लिग र पीएफए प्लेयर अफ द इयर विजेता, के यति उपलब्धिपछि लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले बालोन डे’अर जित्ने छन् त ? उनी यो अवार्ड जित्नका लागि यसपल्टका सबैभन्दा बलिया प्रत्याशीमध्ये एक हुन् ।

डाइक बलियो प्रत्याशी

यी डच डिफेन्डर आफैं भन्छन्, ‘साँच्चै मैले त्यो अवार्ड जितें भने त्यो अविश्वसनीय हुनेछ अनि यसमा मलाई उत्तिकै गर्व पनि हुनेछ ।’ के साँच्चै डायकले जित्ने छन् त यो प्रतिष्ठित अवार्ड ?


अरू को को हुन सक्छन् प्रत्याशी ? विश्लेषण गरौं न त । वर्षको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो, बालोन डे’अर । यसअघिसम्म यो अवार्ड जित्ने खेलाडी प्रत्येक वर्ष फरक–फरक हुन्थे, सन् २००८–२०१७ बीच भने यो अपवाद रह्यो । यसबीच यो अवार्ड पालैपालो जस्तो अर्जेन्टिनी लियोनल मेसी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले जिते । गत वर्षमात्र यो क्रममा पूर्णविराम लाग्यो, जति बेला रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जिते ।


त्यसको कारण थियो, उनको क्लबले च्याम्पियन्स लिग जित्यो । साथै मोड्रिचको देश क्रोएसियाले विश्वकपमा फाइनल यात्रा तय गर्‍यो । यी सबै तथ्यले देखाउँछ, साधारणतया अवार्ड कसले बढी जित्छ । प्रायः अवार्ड फरवार्डले जित्छ, होइन भने क्रिएटिभ मिडफिल्डरले । प्रायः यी खेलाडीले च्याम्पियन्स लिग जितेको हुन्छ । सन् २००६ मा अन्तिमपल्ट कोही डिफेन्डरले यो अवार्ड जितेको थियो । ती थिए, इटालीको विश्वकप २००६ विजेता टिमका कप्तान फाबियानो कानोभारो ।


त्यसयता १२ विजेतामध्ये ९ ले च्याम्पियन्स लिग पनि जितेका छन् । जस्तो काका, रोनाल्डो, मेसी र मोड्रिच । दुई खेलाडीको भने अपवाद घटना छ, सन् २०१२ मा ९१ र २०१० मा ६० गोल गरेवापत मेसी र सन् २०१३ मा ६६ गोल गरेवापत रोनाल्डोलाई यो अवार्ड प्रदान गरियो । सैद्धान्तिक रूपमा एक क्यालेन्डर वर्षका लागि यो अवार्ड दिइन्छ, तर खासमा अवार्ड भने त्यसको पछिल्लो सिजन गरेको प्रदर्शनलाई बढी आधार मानिन्छ । अवार्डको प्रारम्भिक सूची अक्टोबरमा आउँछ भने विजेताको नाम डिसेम्बरमा घोषणा गरिन्छ ।


युरोपेली च्याम्पियन लिभरपुलका खेलाडीमध्ये उत्कृष्टमा अगाडि पर्छन् २८ वर्षे भान डाइक । यस्तोमा उनले अवार्ड जित्ने सम्भावना बढी छ, यसअघिका अवार्डले स्थापित गरेको ट्रेन्डलाई मान्ने हो भने । उनी कीर्तिमान ७ करोड ५० लाख पाउन्डमा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए । यसक्रममा उनले अब्बल दर्जाको रक्षापंक्तिको खेल प्रदर्शन गरेका छन् । त्यति मात्र होइन, उनमा नेतृत्वको राम्रो गुण पनि देखिएको छ ।


गत सिजन उनले लिरभपुलका लागि लिगका सबै खेल खेले । खाली २२ गोललाई अवसरमात्र दिए । युरोपमा ६ प्रमुख लिगमा सबैभन्दा कम गोल खाएको टिम लिभरपुल नै रह्यो । यसै क्रममा लिभरपुलले ९७ अंक बटुल्यो र यो लिग विजेता म्यानचेस्टर सिटीभन्दा एक अंकको मात्र दूरी हो । अझ डाइकबारे त्यो भन्दा पनि ठूलो तथ्यांक छ, जसमा उनलाई वास्तवमै गर्व लाग्नेछ । त्यो हो सन् २०१८ यता अहिलेसम्म कोही पनि खेलाडीले ६४ खेलमा उनलाई छक्याएर ड्रिब्लिङ गर्दै बल अगाडि बढाउन सकेका छैनन् ।


डाइकको नाममा अरू पनि राम्रो प्रदर्शन जोडिएका छन् । जस्तो, युरोपका शीर्ष पाँच लिगको पछिल्लो सिजनमा हजार मिनेटभन्दा बढी खेल्ने उनी एकमात्र खेलाडी हुन् । यस्तै उनले युरोपका पाँच लिगमा सबैभन्दा राम्रो रक्षापंक्तिको खेल प्रदर्शन गरेका छन्, २० खेलमा क्लिन सिट राखेर । उनले डिफेन्डर भएर पनि सबैभन्दा बढी पास खेलेका छन्, ३०३७ ।


त्यो पनि ९० प्रतिशत सफलताका हिसाबले । अवार्डको दौडमा लिभरपुलकै गोलरक्षक एलिसन बेकर र अग्रपंक्तिका साडियो माने र मोहम्मद सलाह पनि छन् । साथमा सदाबहार मेसी र रोनाल्डो पनि । यी सबै नाममध्ये पनि के सायद डाइक नै अगाडि छन् त ?


–इमली बेग्ली

प्रकाशित : श्रावण ११, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?