२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

टोटेनहमप्रति चासो

बीबीसी

लन्डन — टोटेनहमले अन्तिम पटक लिग जितेको पनि ५८ वर्ष भइसकेको छ । त्यो त्यही समय हो, जति बेला बिटल्सले आफ्नो पहिलो गीत जारी गरेको थियो । इंग्ल्यान्डले विश्वकप जित्न अझै १० वर्ष बाँकी थियो । सबै प्रकारका अविश्वास चिर्दै अब टोटेनहमसँग आफ्नै रंगशालामात्र छैन, विश्वकै सबैभन्दा उत्कृष्ट मान्न मिल्ने अभ्यास मैदान पनि छ ।

टोटेनहमप्रति चासो

क्लबले त्यस्ता व्यवस्थापकलाई पनि आफूसँग राखेको छ, जसलाई रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड दुवैले आँखा लगाएको थियो ।


त्यति मात्र होइन, १२ महिनाअघि इंग्ल्यान्डले विश्वकपको सेमिफाइनल यात्रा तय गर्दाका सात खेलाडी अहिले यही टिममै छन् । टिमले आफ्नो स्थानान्तरणको कीर्तिमान पनि तोडेको छ, लियोनबाट ५ करोड ३८ लाख पाउन्डमा मिडफिल्डर टनगाय एनडोमबेलेलाई किनेर । गत सिजन क्लबको इतिहासमै पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनहम के अहिले सही दिशामा छ त ? टोटेनहमले अबको सिजन केही गर्न सक्ने छ त ?


एसियाको १० दिने अभ्यास भ्रमणअघि व्यवस्थापक माउरिसियो पोचेटिनो मिडियासामु बसे । उनलाई सोधिएको थियो, गत सिजन च्याम्पियन्स लिगको फाइनलमा लिरभपुलसँग पराजित भए पनि त्यो यात्रा के नयाँ सिजनका लागि प्रेरणादायी हुनेछ त ?


पोचेटिनोलाई तुलना गरेको मनपर्दैन । उनी भन्छन्, ‘पछिल्लो चार सिजन कम बजेटमै टोटेनहम जसरी शीर्ष चारमा रहन सक्यो, त्यो भने टोटेनहमका लागि प्रेरणा हो ।’ खासमा पछिल्लो एक दशकमा टोटेनहम शीर्ष ६ भन्दा बाहिर परेको छैन ।


त्यसबीचमा म्यानचेस्टर युनाइटेड र चेल्सीले एक–एकपल्ट त्यस्तो अनुभव बेहोरेको छ भने लिभरपुल त तीन अवसरमा यस्तो स्थितिबाट गुज्रेको छ । सन् २०१७–२०१८ मा टोटेनहम बढी कमाउनेमा लिगको छैटौं स्थानमा रह्यो । त्यसबीच टोलीले सबैभन्दा बढी नाफा पनि कमायो । तर यो ३ सय ८० करोडको टर्न ओभर म्यानचेस्टर युनाइटेडको अगाडि ६४.५ प्रतिशतमात्र हो । टोटेनहमले तबलमा मात्र १४ करोड ८० लाख पाउन्ड खर्चेको थियो । यो पनि छैटौंमा पर्छ ।


पोचेटिनो भन्छन्, ‘हामी त्यस्ता टिमसँग प्रतिस्पर्धा गरिरहेका छौं, जसले अविश्वसनीय ढंगले लगानी गर्न सक्छ । हाम्रो विशेषता भनेको त्यस्तै टिमसँग प्रतिस्पर्धा गर्न सक्नु हो । पोचेटिनोलाई लिएर हुने सबैभन्दा बढी आलोचना भनेकै यी ४७ वर्षीय अर्जेन्टिनीले कुनै पनि उपाधि जित्न नसक्नु हो । सन् २०१४ मा उनी साउथह्याम्पटनबाट टोटेनहम आएका थिए । १९८४ मा यूईएफए कप जितेको टोटेनहमले २००८ मा अन्तिमपल्ट लिग कप जितेको थियो ।


सन् १९५६–१९६७ का बीच गरेको उत्कृष्ट प्रदर्शनकै कारण टोटेनहमलाई अझै पनि इंग्ल्यान्डका ठूला चार क्लबमा गणना गरिन्छ । आर्सनल, लिभरपुल र म्यानचेस्टर युनाइटेडसँगै । १९६१ वर्ष सबैभन्दा अब्बल रह्यो, जति बेला टिमले घरेलु फुटबलमा डबल गरेको थियो, लिग र कप दुवै जितेर । २०१७ पनि टोटेनहमका लागि उल्लेखनीय वर्ष रह्यो, जति बेला २१ सिजनयता पहिलोपल्ट टिम उत्तरी लन्डन प्रतिद्वन्द्वी आर्सनलभन्दा लिगमा अगाडि रह्यो ।


पोचेटिनो सुरुका वर्षमा भन्ने गर्थे, टोटेनहम ठूला क्लबमा पर्दैन । अहिले यसमा परिवर्तन आएको छ र यसका पनि तीन स्पष्ट कारण छन् । पहिलो, क्लबले आफ्नै एकेडेमीबाट उत्कृष्ट खेलाडी उत्पादन गरेको छ । जस्तै ह्यारी केनदेखि लिएर ह्यारी विन्ङससम्म । अनि उत्तिकै राम्रा नयाँ खेलाडी पनि अनुबन्ध गर्न सकेको छ । डेल अली, ड्यानी रोस र एरिक डायरजस्ता । दोस्रो, टोटेनहमसँग त्यस्तो अभ्यासस्थल छ, जहाँ १५ घाँसे मैदान छन् । यसलाई युरोपकै उत्कृष्टमध्ये एक मानिन्छ । सन् २०१८ को विश्वकपका लागि भनेर ब्राजिलले यसलाई तयारीका लागि रोजेको थियो ।


तेस्रो कारण, टोटेनहमको घरेलु मैदान ६२ हजार दर्शक क्षमताको छ । बन्न निकै लामो समय लागे पनि यसको प्रशंसा नगरेर सुखै छैन । यस्तोमा आलोचकले पनि मान्न थालेका छन्, पछिल्लो केही वर्षयता टोटेनहममा धेरैथोक भएको छ । प्रश्न हो, अब यी सबै कारणले टिम केही ठूलो उपाधि जित्न सफल हुन्छ कि हुन्न ?


– सिमोन स्टोन

प्रकाशित : श्रावण १०, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?