२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोरेसको अनौठो कथा

द गार्डियन

लन्डन — वेस्ली मोरेसको कथा पटक्कै सिधा छैन । एस्टन भिल्लाले उनलाई कीर्तिमान रकममा अनुबन्ध गरेको थियो । यिनै मोरेसले ९ वर्षको उमेरमा बुवालाई गुमाएका थिए । त्यसै कारण सामान्य कारखानामा काम गर्न बाध्य भए कलिलो उमेरमै । अहिले उनी लाखौं पाउन्डका स्ट्राइकर भएका छन् ।

मोरेसको अनौठो कथा

त्यसबीच उनी १५ वर्षमै छोराका बुवा भए । त्यसको एक वर्षमा छोरी पनि भयो । वास्तवमै यी खेलाडीको जीवन खुबै उतारचढावपूर्ण छ ।


यी २२ वर्षीय खेलाडीले आफ्नो सपना पूरा गरिछाडे । उनीबारे सबैभन्दा उल्लेखनीय तथ्य के हो भने उनको एउटा खुट्टा अर्को खुट्टाभन्दा ३ सेन्टिमिटरले कम छ । ‘मोरेस जन्मेकै यसरी नै हो,’ हान्स कोरेट भन्छन् । उनले मोरेसको जीवनलाई निकै नजिकबाट नियाल्न अवसर पाएका छन्, किनभने उनी खेलाडीका ब्राजिली एजेन्ट पाउलो नेमीसँगै काम गर्छन् । ‘जति बेला नेमीले पहिलोपल्ट मोरेसलाई भेटे, उनलाई तुरुन्तै ब्राजिली टिमका चिकित्सककहाँ लगे,’ कोरेट सम्झन्छन् ।


मोरेसलाई जाँचेपछि चिकित्सकले घोषणा गरेछन्, ‘एउटा खुट्टा सानो भए पनि त्यसले केही समस्या हुने छैन ।’ ती चिकित्सकले त्यति बेला ब्राजिलका पुराना महान् खेलाडी गारिन्चालाई सम्झे । ब्राजिलका लागि विश्वकप जितेका गारिन्चाको खेल विशेष थियो र त्यो उत्कृष्ट थियो । उनको पनि एउटा खुट्टा अर्को खुट्टाको तुलनामा सानो थियो, ६ सेन्टिमिटरले । मोरेसले सबैभन्दा पहिले एउटा स्लोभानियाको क्लबबाट खेलेपछि, सन् २०१६ सम्म पुग्दा क्लब ब्रागसँग अनुबन्धित भए ।


त्यति बेला मोरेस १९ वर्षको ठिटो थिए । क्लबले सुरुमा उनको शारीरिक स्थितिबारे नै चिन्ता पोखेको थियो । तर खासै केही समस्या भएन । ब्रागले उनलाई अनुबन्ध गर्न उनको शारीरिक स्थितिलाई लिएर लामै अनुसन्धान पनि गरेको थियो । क्लबले त्यसबीचमा के अनुभव गर्‍यो भने यी खेलाडी मनले निकै राम्रा छन् । जीवनप्रति उनको दृष्टिकोण पनि सकारात्मक छ । विश्व फुटबललाई यस्ता खेलाडी पनि चाहिन्छ, यसले फुटबलमा माहौल बनाउँछ ।


मोरेसले सानैमा बुवा गुमाए । आफैं सानै उमेरमा बुवा भए । यसले उनको जीवनमा ठूलो प्रभाव पर्‍यो । सानोमा फुटसल खेलेका मोरेसले त्यसपछि युरोपतिर गए, ठूलो सपना बोकेर । एकपल्ट उनले एट्लेटिको म्याड्रिडको यू–१७ टिमसँग तीन महिनाको अनुबन्ध गरेका थिए । ब्रागसम्म आइपुग्दा उनी राम्रा खेलाडी भइसकेका थिए । सफल हुन राम्रा खेलाडी भएर मात्र पुग्दैन । उनले त्यहीं रहँदा फुटबलको धेरै पाठ सिके । जस्तो कस्तो र के खाने अनि कहिले कति सुत्ने, आदि इत्यादि ।


उनी ६ फिट ३ इन्ज अग्ला छन्, ९३ केजीका छन् । उनी विपक्षी खेलाडीमाथि प्रभुत्व जमाएर खेल्न रूचाउँछन् । उनको शरीरले विपक्षी खेलाडीमा डर उत्पन्न हुने गर्छ । ब्रागमा छँदा उनका साथी थिए, अर्का ब्राजिली खेलाडी क्लाउडेमेर । उनी मोरेसभन्दा १० वर्ष जेठो थिए । त्यसैले उनीबाट मोरेसले धेरै सिक्ने अवसर पाए । मोरेसका आमा पनि आफ्नो छोरालाई लिएर खुबै सहयोगी छिन् । ब्रागमा छँदा उनकी आमा समय–समयमा बेल्जियम पुग्थिन् ।


मोरेस आफैं पनि आफ्ना छोराछोरीका लागि राम्रो गर्न चाहन्छन् । यस्तो किनभन्दा गरिबीमा हुर्कंदा कति गाह्रो हुन्छ भनेर उनलाई राम्रोसँग थाहा छ । छोरा यान र छोरी मारियाका आमा पनि फरक–फरक हुन् । ती दुवै महिलासँग अब मोरेसको सम्बन्ध छैन । तर आफ्ना सन्तानसँग भने उनी नियमित सम्पर्कमा छन् । ती दुवै आमासँगै बस्छन् । उनका यस्तै कथा सुनेर एस्टन भिल्लाले २ करोड २० लाख पाउन्ड तिर्न पनि तयार भयो ।


– स्टुवार्ट जेम्स

प्रकाशित : श्रावण ९, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?