मीरा राई रंगशाला : ५६ करोडको डीपीआर तयार

भोजपुर — विश्व विजेता अल्ट्रा म्याराथन धावक मीरा राईको सम्मानमा पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रेमा निर्माण भइरहेको ‘मीरा राई रंगशाला’ को डीपीआर तयार भएको छ ।

मीरा राई रंगशाला : ५६ करोडको डीपीआर तयार

अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चान गर्न सकिने गरी निर्माण भइरहेको रंगशालाको ५६ करोडको डीपीआर तयार बनेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।


विश्व फुटबल संघ, फिफाको मापडण्डअनुसार निर्माण भइरहेको रंगशाला निर्माणमा गाउँपालिका र प्रदेश १ सरकारले गरी दुई करोड खर्च गरिसकेको अध्यक्ष राईले बताए । सुरुआती चरणमा रंगशालालाई गाउँपालिकास्तरीय खेलमैदान भनेर निर्माण सुरु गरेको थियो । पछि विश्व अल्ट्राधाविका मीरा राई जन्मेको गाउँ र उनको सम्मानका लागि क्षेत्रीय स्तरकै बहुउद्देश्यीय रंगशाला बनाउने प्रस्ताव आएकाले यसलाई क्षेत्रीय स्तरकै मैदानको रूपमा लैजाने सर्तमा गाउँपालिकाले निर्णय स्वीकृत गरेको अध्यक्ष राईले बताए ।


उनले भने, ‘विश्व अल्ट्राधाविका मीरा राईले पनि आफ्नो जन्मभूमिका लागि केही गरौं भन्ने मनसाय लिनुभएपछि खेलमैदानलाई क्षेत्रीय स्तरको बनाउने निर्णय भयो र उक्त रंगशाला फिफाका मापदण्डअनुसारको प्याराफिटसहितको खेलमैदान बन्नेछ ।’ अल्ट्राधाविका मीरा राईको सम्मानका लागि पनि वर्षवर्षमा यसै रंगशालालाई अल्ट्रा म्याराथुनको स्टार्ट र इन्डिङ प्वाइन्ट हुनेगरी रंगशाला निर्माणको तयारी भइरहेको राईले सुनाए ।


स्थानीय समाजसेवी हर्कराज राईले करिब ६० लाखबराबरको साढे चार रोपनी निःशुल्क जग्गा र सार्वजनिक जग्गा गरी अन्दाजी १५ रोपनी क्षेत्रफलमा निर्माणाधीन रंगशाला जिल्लाभित्रै भलिबल, फुटबल, बास्केटबलका साथै विभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालनका लागि बर्सेनि विद्यालयहरूका खेलमैदानलाई विकल्पमा रोज्नुपर्ने समस्या हटेको छ ।


भोजपुरको दुर्गम मानिने पौवादुङ्मा गाउँपालिकामा क्षेत्रीय स्तरको खेल मैदान बन्ने भएपछि स्थानीय मोहन दुरालले खुसी हुँदै भने, ‘यही तरिकाले विकासले गति लियो भने हाम्रो गाउँठाउँ पनि बिस्तारै सुगम हुनेछ ।’ आफ्नो गाउँमा क्षेत्रीय स्तरको बहुउद्देश्यीय रंगशाला बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । मैदान अहिले सामान्य रूपमा खेल सक्ने गरी निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?