१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाललाई कीर्तिमानको मौका

विनोद पाण्डे

काठमाडौँ — मलेसियासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले ‘क्लिन स्विप’ गर्दा नेपाली खेलाडी केही आफ्ना कीर्तिमान सुधार्न सफल भएका थिए । सोमबारदेखि सिंगापुरमा सुरु हुने विश्व ट्वान्टी–२० को एसिया छनोट सुरु हुँदा नेपाली खेलाडीसँग अवसर दोहोरिएर आउने छ । 

नेपाललाई कीर्तिमानको मौका

कप्तान पारस खड्काले मलेसियासँगको पहिलो खेलमा बनाएको ८६ रन नेपाली खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर हो । दोस्रो खेलमा विनोद भण्डारीले २५ बलमै अर्धशतक बनाएका थिए । नेपाली खेलाडीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा तीव्र गतिमा बनाएको अर्धशतक हो यो । यही खेलमा नेपालले १ सय ७३ रन बनाएको थियो, जुन ट्वान्टी–२० मा नेपालको

उच्च स्कोर हो ।


एक सातासम्म चल्ने छनोट प्रतियोगिताको विजेता विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने छ । यो ट्वान्टी–२० विश्वकपमा पुग्ने अन्तिम खुडकिलो हो । पाँच राष्ट्र सहभागी सिंगापुरको छनोट प्रतियोगितामा नेपाल एक्लो दाबेदार टोली हो । नेपाल, मलेसिया, सिंगापुर, कुवेत र कतारले यस प्रतियोगितामा सहभागिता जनाउँदै छ । प्रतियोगिता जित्न नसकेमा यसले नेपाली क्रिकेटमा ठूलै आश्चर्यता ल्याउनेछ । जोसँग नेपालले खेल्दै छ, तिनीहरू नेपालको स्तर अनुरूपको प्रतिद्वन्द्वी होइनन् । त्यसैले नेपाली खेलाडीको नाममा अन्य केही कीर्तिमान जोडिएर पनि आउन सक्नेछ ।


अक्टोबरमा मलेसियामा भएको एसियाको विश्व ट्वान्टी–२० छनोटको पहिलो खुडकिलो इस्टर्न रिजन नेपाललाई जित्न खासै अप्ठेरो परेको थिएन । शीर्ष तीनमा रहँदै नेपाल, सिंगापुर र मलेसिया अहिलेको प्रतियोगितालाई छनोट भएका हुन् । विजेता बन्नेक्रममा नेपालले मलेसियामाथि ८ विकेटको विजय हात पारेको थियो भने सिंगापुरसँगको खेल रद्द भएको थियो । सिंगापुरलाई नेपालले ८१ रनमा अलआउट गरेपछि खेल वर्षाले प्रभावित रहेको थियो ।


वेस्टर्न रिजनबाट यूएई, कतार र कुवेत शीर्ष तीन स्थानमा रहँदै सिंगापुरलाई छनोट भएका थिए । विश्व ट्वान्टी–२० ग्लोबल छनोट यूएईमै खेल्नुपर्ने भएकाले यूएईलाई आयोजकका हिसाबमा छनोट गराइयो र टोलीले सिंगापुरको छनोट प्रतियोगिता नखेल्नुपर्ने भयो । कतार र कुवेत पनि नेपालको स्तरमा कमजोर टोली हुन्, त्यसैले नेपाललाई प्रवल दाबेदारका रूपमा उभ्याएको हो । नेपालले २०१४ मा बंगलादेशमा विश्व ट्वान्टी–२० नै खेलिसकेको छ । जबकि नेपालले खेल्ने लागेको अन्य चार टोली अहिलेसम्म ग्लोबल छनोटमा पनि पुगेका छैनन् ।


यसअघिका एसियाको छनोट प्रतियोगितामा नेपालले एसियामै अफगानिस्तान, यूएई, हङकङ, ओमानको सामना गर्नुपर्ने हुन्थ्यो । त्यो हुँदा नेपाललाई ग्लोबल छनोटमा जतिकै चुनौती एसिया छनोटमा हुन्थ्यो । सन् २०११ र २०१३ मा एसीसी ट्वान्टी–२० कपमा शीर्ष चारभित्र रहेर नेपाल ग्लोबल छनोटमा पुगेको थियो ।


२०११ मा चौथो भएको नेपाल २०१३ मा दोस्रो भएको थियो । विश्व ट्वान्टी–२० छनोटमा २०१२ मा सातौं भएको नेपाल २०१३ मा तेस्रो हुँदै विश्वकपमा पुगेको थियो । अफगानिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र, यूएई आयोजक तथा हङकङ र ओमान २०१६ को पछिल्लो विश्व ट्वान्टी–२० छनोट खेलेकाले यसपटक एसिया छनोटमा नहुँदा नेपाललाई चुनौती दिने प्रतिद्वन्द्वी नदेखिएको हो ।


क्रिकेटले पछिल्लो समय ठूलै उथुलपुथल ल्याएको छ । विशेष गरी ट्वान्टी–२० हाबी भएयता क्रिकेटमा असम्भव केही नै छैन भन्ने स्थिति ल्याएको छ । त्यसैले पनि नेपाल ढुक्क नहुने स्थिति छ । उसै पनि ट्वान्टी–२० मा नेपाल सजिलै भिज्न सकिरहेको छैन । मलेसियासँगको दोस्रो खेलमा बनाएको स्कोर नेपालको दुर्लभ नै हो । पछिल्लो समय ब्याटिङमा जमिरहेका दीपेन्द्रसिंह ऐरी चोटग्रस्तले खेल्न नसकेको अवस्थामा पनि नेपालले यो स्कोर बनाएको हो ।


उमेश पटवाललाई प्रशिक्षक पाए यता नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । डेढ महिनाअघि उनी जगत टमाटाको स्थानमा नेपालको प्रमुख प्रशिक्षक बनेका थिए । उनी यसअघि पनि नेपाली टोलीसँग जोडिँदै आएका थिए । २०१८ को अप्रिलमा जिम्बावेमा भएको विश्वकप छनोटदेखि ब्याटिङ परामर्शदाताका रूपमा नेपाली टोलीमा थिए । मलेसियासँगको शृंखला जितेपछि उनले एसिया छनोट जितेर नेपाल ग्लोबल छनोटमा पुग्नका लागि रहेको जनाइसकेका छन् ।


कप्तान पारस राम्रो लयमा हुनु सधैं नेपालका लागि बलियो पक्ष हो । उनी आफैं ओपनिङ ब्याटिङमा आएर खेलिरहेका छन् र स्कोर पनि बनाइरहेका छन् । पछिल्लो समय अस्वस्थताका कारण नेपाली टोलीबाट बाहिर रहँदै आएका शरद भेषावकरको आगमनले नेपाली टोली बलियो देखिन्छ । उनले मलेसियासँगको खेलमा अनुभवी खेल देखाएका थिए । मध्यक्रममा शरदसँगैं दीपेन्द्र, रोहित पौडेल र विनोद हुनेछन् ।


नेपालको मुख्य चिन्ता पारसको ओपनिङ ब्याटिङ जोडी र ज्ञानेन्द्र मल्लको फर्मलाई लिएर छ । नेपालको ओपनिङ जोडी लगातार प्रयोग हुँदै आएको छ । मलेसियासँगको खेलमा प्रदीप ऐरी र पवन सर्राफ ओपनिङमा पारसको जोडि बनेर आए । दुवैले त्यस्तो केही गर्न सकेनन् र नेपाली टोली निराश नै हुनुपर्ने स्थिति रहयो । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्रले मलेसियासँग दुवै खेलमा ७–७ रनमात्र बनाउन सकेपछि उनीमाथि दबाब थपिएको हो । राष्ट्रिय टोलीबाट खेल्दा उनको ब्याट चलिरहन सकेको छैन ।


तीव्र गतिका बलर सोमपाल कामी र करण केसी दुवै अलराउन्डको भूमिकामा पनि छन् । उनीहरूलाई बलिङमा स्पिनरहरू वसन्त रेग्मी, सन्दीप लामिछाने, ललितनारायण राजवंशीको साथ रहने छ । सन्दीपले निरन्तर विकेट लिँदै आएका छन् । उनले इस्टर्न रिजनमा २४ विकेट लिँदै एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाएका थिए । सिंगापुरको एसिया छनोट पनि नेपाल र नेपाली खेलाडीका लागि यस्तै केही कीर्तिमान बोकेर आउने सम्भावना भएको प्रतियोगिता हो ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?