२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अल्जेरिया अफ्रिकन च्याम्पियन

रोयटर्स

कायरो — बगदाद बोनेदजाहले खेल सुरु भएको दोस्रो मिनेटमै गरेको गोल निर्णायक बनेपछि फाइनलमा सेनेगललाई १–० ले पराजित गरी अल्जेरियाले इतिहासमा दोस्रोपल्ट अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । 

अल्जेरिया अफ्रिकन च्याम्पियन

क्वाटरफाइनल चरणमा आइभरी कोस्टविरुद्ध पेनाल्टीमा चुकेपछि सब्सिच्युड हुँदै गर्दा निकै नै भावुक बनेका बोनेदजाहले लायन्स अफ तेरंगाको नामले चिनिने सेनेगलविरुद्धको सशक्त प्रहार सलिफ सानेको खुट्टामा लागेर गोल हुँदा गोलरक्षक अल्फ्रेड गोमिसले पत्तै पाएनन् । खेलभर ३२ अफिसियल फल गरेको अल्जेरिया सुरुमै अग्रता लिएपछि डिफेन्सिभ रणनीतिमा रह्यो र अग्रता जोगाउनमै केन्द्रित देखियो । त्यसैले यो फाइनल निश्चित रूपमा क्लासिक स्तरको थिएन तर तनावपूर्ण र मनोरञ्जक थियो ।


यसअघि पहिलोपल्ट फाइनलमा पुग्दा सन् २००२ मा क्यानरुनसँग पराजित भएको सेनेगलले दोस्रो हाफमा पेनाल्टीको अवसर पाएको थियो । तर, रेफ्रीको यो निर्णय भिडियो असिस्टेन्ट रेफ्री (भार) ले उल्टाइदियो । रेफ्रीले खेल सकिएको अन्तिम सिटी बजाएपछि लामो यात्रा गरी कायरो पुगेका अल्जेरियन समर्थकहरूले सानदार उत्सव मनाए । यो प्रतियोगितामा सहभागी टिमका लागि उत्कृष्ट अन्त्य थियो । पहिलोपल्ट २४ टिम समावेश गरी खेलाइएको प्रतियोगिताभर भरपुर मनोरञ्जन देखियो । यद्यपि खेलस्तर कहिलेकाहीँ कमजोर देखियो ।


‘यो निकै नै कठिन खेल थियो,’ अल्जेरियाका प्रशिक्षक जामेल बेलमाडीले भने, ‘म मेरो देशका लागि र देशवासीका लागि धेरै–धेरै खुसी छु किनभने उनीहरूले लामो समयदेखि यसको प्रतीक्षा गरिरहेका थिए । हामीले पहिलोपल्ट आफ्नो देशबाहिर यो ट्रफी जित्न सक्यौं । यो वास्तवमै असाधारण हो ।’ ‘केही मानिसले भनेका थिए कि तिमीहरूले फाइनल खेल्नै पर्दैन, यसै जितिहाल्छौ नि । वास्तवमा म त्यस्तो मान्दिनँ,’ उनले थपे, ‘सेनेगलजस्तो बलियो टिमसँग खेल्न हामी पूरै तयार थियौं । यो हाम्रो उत्कृष्ट प्रदर्शन होइन । हामीले न बल पोजिसन नियन्त्रण गर्न सक्यौं, न आफ्नो स्वाभाविक खेल देखाउन सक्यौं ।’ पछिल्ला केही वर्ष अल्जेरियाले आफ्नो फुटबल सुधारका लागि प्रशिक्षकमा धेरै परिवर्तन गरेको थियो । ३ वर्षको अवधिमा सातौं प्रशिक्षकको जिम्मेवारी सम्हालेका बेलमाडीले जिम्मेवारी पूरा गरेका छन् ।


दुई पहेंलो कार्डका कारण फाइनल प्रतिबन्धमा परेका अफ्रिकाकै उत्कृष्ट डिफेन्डर मानिने कालिदोउ कोउलीबेलीको अनुपस्थितिको नतिजा सेनेगलले राम्रैसँग भोग्यो । बोन्डेजाहले बल नियन्त्रणमा लिए र तत्कालै सशक्त प्रहार गरे जुन सानेको खुट्टाबाट डिफ्लेक्ट भयो । अल्जेरियाका लागि यो असाधारण सुरुआत थियो । गोलरक्षक गोमिसले बलको दिशा मेसो पाउन सकेनन् । सायद उनले बल आउट जान्छ भनेर आफ्नो पोजिसनबाट सर्न चाहेनन्, तर बल बारको ठीकमुनिबाट जालीमा ठोक्कियो ।


अग्रता लिएसँगै अल्जेरियाले रक्षात्मक शैली अपनायो र सेनेगललाई खेलमा फर्कने प्रशस्त अवसर छोड्यो । दोस्रो हाफमा इस्माइला सार्रले दायाँ क्षेत्रबाट उत्कृष्ट क्रस प्रहार गरेका थिए । तर त्यो बल अल्जेरियाका एडलिन गुयेडिउराको पाखुरामा लाग्यो । रेफ्रीले पेनाल्टीको इसारा गरे । तर भारसँगको समीक्षापछि उनले आफ्नो निर्णय परिवर्तन गरे ।


लगत्तै सेनेगलले अर्को अवसर पाएको थियो । चिखोउ कोउयाटेले पेनाल्टी एरियामा अनमार्क रहेका एमबाये नियाङलाई दिएको पासमा उनले गोलरक्षक रइस एमबोल्हीलाई छक्याउँदै गरेको प्रहार पोलमा लागेर बाहिरियो ।


‘हामीले सुरुमै गोल खान पुग्यौं,’ सन् २००२ मा टिमले फाइनलसम्मको यात्रा गर्दाका कप्तानसमेत रहेका सेनेगलका प्रशिक्षक अलिओउ सिस्सेले भने, ‘मेरो विचारमा खेलभर हामी बराबर हकदार थियौं । म मेरा खेलाडीलाई बधाई दिन चाहन्छु । हामी ४६ दिनसम्म यहाँ रह्यो । हामीले उपाधि नै चाहेका थियौं तर आजको रात हाम्रो थिएन ।’

प्रकाशित : श्रावण ५, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?