कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुसमा क्रिकेट अनधिकृत

बीबीसी

मस्को — रुसको खेलकुद मन्त्रालयले क्रिकेटलाई आधिकारिक खेलको रूपमा दर्ता गर्न अस्वीकार गरिदिएको छ । एकदिवसीय विश्वकपअन्तर्गत इंग्ल्यान्ड र न्युजिल्यान्डबीच नाटकीय फाइनलकै दिन रुसमा क्रिकेटको आधिकारिकता अस्वीकृत भएको हो । रुसमा पेटांक, ड्रग्ट र मिनी–गल्फले आधिकारिक मान्यता पाएका छन् । 

आधिकारिक सूचीमा नहुनु भनेको प्रतिबन्धित हुनु चाहिँ होइन । तर यसको मतलब के हो भने क्रिकेटलाई त्यहाँको खेलकुद मन्त्रालयले समर्थन गर्दैन । मस्को क्रिकेट स्पोर्टस फेडेरेसनका एक सदस्य अलेक्जेन्दर सोरोकिनले आफूहरूको आवेदनमा त्रुटि भएको भन्दै मन्त्रालयले आधिकारिकता दिन अस्वीकार गरेको जनाएका छन् ।


उनले टीएएसएस समाचार एजेन्सीसँगको कुराकानीमा बताएअनुसार फेडेरेसनले प्रक्रिया पूरा गरी अर्को वर्ष पनि आवेदन दिनेछ । जुलाई १५ मा मन्त्रालयले जारी गरेको सूचीमा मुवाँथाईलाई पनि आधिकारिक खेलको मान्यता दिन अस्वीकृत गरिएको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले रुसको यो कदमलाई हास्यास्पद भन्दै टिप्पणी गरेका छन् ।


‘क्रिकेट दुई विलियन मानिसले लगातार फलो गर्छन् । यो भारत, पाकिस्तानसँगै पूर्व ब्रिटिस औपनिवेशिक देशहरूमा सबैभन्दा लोकप्रिय खेल हो । त्यसैले उनीहरू एंग्लो–सेक्सन खेलबाट डराउँछन्,’ लोकप्रिय ट्वीटर ह्यान्डिल येखिदनिये भिटीबाट व्यंग्यात्मक ट्वीट गरेको छ । ‘खेलकुद मन्त्रालयले थाई बक्सिङ (मुवाँथाई) र क्रिकेटलाई आधिकारिक खेलको मान्यता दिन अस्वीकार गरेछ । जबकि त्यहाँ क्रिकेट र राष्ट्रिय टोली पनि छ,’ आरबीसी बिजनेस डेलीले ट्वीट गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?