२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जिम्बावे निलम्बनमा

एएफपी

लन्डन — अन्तर्राष्ट्रिय क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बाबे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेपबाट जोगाउन नसकेको निस्कर्ष निकाल्दै निलम्बन गरेको छ । यो निर्णयले आसन्न आईसीसी ट्वान्टी–२० विश्वकपमा जिम्बावेको सहभागिता अनिश्चित बनेको छ । 

आईसीसीले जिम्बावे क्रिकेटलाई प्रदान गर्ने आर्थिक सहयोग रोक्का गरेको छ भने देशबाट प्रतिनिधित्व गर्ने कुनै पनि टिमले आईसीसी मान्यताप्रप्त प्रतियोगितामा सहभागी हुने पाउँदैन । जिम्बावे सरकारले पछिल्लो महिना आफ्नो क्रिकेट बोर्ड खारेज गर्दै अन्तरिम कमिटी गठन गरेपछि आईसीसीले यस्तो कदम चालेको हो ।


‘आईसीसीले निर्देश गरेको छ कि तीन महिनाभित्रमा निर्वाचित क्रिकेट बोर्डलाई आफ्नो कार्यालयमा वहाल गरियोस् र यसबारे प्रगति विवरण पाएपछि कारबाहीबारे पुनर्विचार गरिनेछ,’ आईसीसीको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीले यो निर्णय लिनुभन्दा अगाडि जिम्बावे क्रिकेट बोर्ड र त्यहाँको खेल तथा मनोरन्जन कमिटी (एसआरसी) प्रतिनिधिसँग कुराकानी गरेको छ ।’


आईसीसी अध्यक्ष शशांक मनोहरले भनेका छन्, ‘हामी कुनै पनि सदस्यलाई निलम्बन गर्ने निर्णय सतही रूपमा गर्दैनौं । तर हामी आफ्नो खेल राजनीतिक हस्तक्षेपबाट टाढा होस् भन्ने चाहन्छौं । जिम्बावेमा विकसित पछिल्लो घटनाक्रमले आईसीसी विधानको गम्भीर उल्लंघन गरेको थियो । हामी यस्तो अनिश्चितता जारी राख्ने अनुमति दिन सक्दैनथ्यौं । आईसीसी चाहन्छ कि जिम्बावेको क्रिकेट आईसीसीकै विधानअनुसार निरन्तर होस् ।’


जिम्बावेको पुरुष टोली अक्टोबर–नोभेम्बरमा हुने आईसीसी विश्व ट्वान्टी–२० ग्लोबल छनोट र महिला टोली अगस्ट अन्तिमदेखि हुने छनोट चरण तयारीमा छ । तर यो निलम्बनले टिमको सहभागिता अनिश्चित बनेको छ ।


खेलमा चरम राजनीतिकरण भएको भन्दै आईसीसीले सन् २००५ मा जिम्बावेको टेस्ट मान्यता निलम्बन गरेको थियो । एकदिवसीय र ट्वान्टी–२० मान्यता कायम राखेको थियो । २०११ मा निलम्बन फुकुवा पाएको जिम्बावे टेस्ट वरीयताको १० औं स्थानमा छ । एकदिवसीय वरीयताको १२ औं स्थानको जिम्बावे हालै सम्पन्न एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएको थियो ।


यसैबीच जिम्बावेकी खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्रीले क्रिकेट बोर्डमाथि सरकारी हस्तक्षेपको आरोपको खण्डन गरेकी छन् । आईसीसीले सरकारी हस्तक्षेपको आरोप लगाउँदै आफ्नो क्रिकेट बोर्ड निलम्बन गरेपछि पौडीकी पूर्व ओलम्पिक च्याम्पियनसमेत रहेकी कोभेन्ट्रीले ट्वीटमार्फत आईसीसीको निर्णयले आफ्ना खेलाडी विक्षिप्त रहेको बताएकी छन् ।


आफैंले नियमन गर्ने एसआरसीलाई उनले सरकारी निकाय नभएको बरु सार्वजनिक संस्था भएको दाबी गरेकी छन् । उनले अर्को टीटमा भनेकी छन्, ‘जिम्बावे क्रिकेटले बाटो बिराएका कारण सही बाटोमा ल्याउन र अन्तर्राष्ट्रिय सफलता फर्काउन कमिटीले प्रयास गरेको हो ।’


आईसीसी सदस्यता मापदण्ड पालना नगरेको भन्दै क्रोएसिया क्रिकेट महासंघ र जाम्बिया क्रिकेट संघलाई पनि आईसीसीले निलम्बन गरेको छ । मोरक्को रोयल क्रिकेट महासंघको भने सदस्यता खारेज गरिदिएको छ । लन्डनमा बसेको बैठकले अगस्ट १ देखि सुरु हुने एसेस शृंखलामार्फत क्रिकेटमा खेलाडी सब्स्टिच्युड गर्न सकिने नियम सदर गरेको छ । आईसीसी मान्यताप्राप्त घरेलु प्रतियोगितामा सफल परीक्षण पनि अन्तर्राष्ट्रिय शृंखलामा यस्तो नियमले मान्यता पाएको हो ।


नयाँ नियमअनुसार समान पोजिसनबाट खेल्ने खेलाडीको सब्स्टिच्युड आवश्यक परेमा म्याच रेफ्रीको अनुमोदनमा प्रतिस्थापन गर्न पाइन्छ । आईसीसी बैठकले ओभर रेटको समस्या कप्तानलाई कारबाही गर्नु नपर्ने नियम पनि पास गरेको छ । स्लो ओभर रेटमा सबै खेलाडीलाई उत्तिकै जिम्मेदार ठहर्‍याइने छ । अहिलेसम्म यस्तो भएमा कप्तानलाई जरिवाना लगाउने व्यवस्था थियो । विश्व टेस्ट च्याम्पियनसिपमा खेलको अन्तिमसम्म स्लो ओभरको समस्या रहेमा टिमको अंक काट्ने नयाँ नियम लागू भएको हो ।

प्रकाशित : श्रावण ४, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?