२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोग, चोट र अभावले थला

उमेरमा मुलुकका लागि विभिन्न खेलमार्फत योगदान पुर्‍याएका खेलाडी आर्थिक अभावमा
सन्जु पौडेल

रूपन्देही — आफ्नै घरअगाडि ठूलो चौर । त्यसमै ब्रिटिस लाहुरेको टोलीले दिनहुँ फुटबल खेलेको हेर्थे । मैदानबाहिर बसेर हेर्ने उनी बल गुडेर आएपछि खुट्टाले हानेर फर्काउँथे । सिद्धार्थनगर नगरपालिका–१ स्थित नयाँ गाउँका कालेकुमार बासकोडको दिनचर्या यस्तै थियो ।

रोग, चोट र अभावले थला

०३४ सालसम्म पक्लिहवा कृषि क्याम्पस भएको स्थानमा ब्रिटिस क्याम्प थियो । क्याम्पको चौरमा लाहुरेले फुटबल खेलेको हेरेरै उनमा खेलप्रति मोह बढ्यो । ६ वर्षको छँदा बावु गुमाए । आर्थिक अभावले विद्यालय गएनन् । उनका दाजुहरू भारततिर लागे । दिदीबहिनीको बिहे भयो । आमाको साथमा रहेका उनी लाहुरे क्याम्पमा सघाउन थाले । खेलेको हेर्दाहेर्दै फुटबल खेल्न सिके । गाउँका युवाको सहभागितामा लालीगुराँस युवा क्लब स्थापना गरेर फुटबल यात्रा अगाडि बढाए ।


उनले छिट्टै खेलकौशल सिके । १७ वर्षमा लाहुरेको टिमबाट पहिलो पटक पोखरा खेल्न गए । त्यति बेला उनी खेलेबापत खानका लागि ३५ रुपैयाँ पाउँथे । ‘त्यसबाहेक अरु केही कमाइ थिएन,’ उनले भने, ‘फुटबलमा साह्रै रुचि भएकाले खुसी थिएँ ।’ पाल्पामा हुने करुवा कपका लागि त्यही टिमले ०३७ सालमा त्यहाँ लग्यो । जितेर फर्किए । त्यसलगत्तै लालीगुराँस क्लबबाट चितवनमा खेल्न गए । ‘नारायणीमा पुल थिएन,’ उनले भने, ‘डुंगा चढेर जान पर्थ्यो ।’


०३८ सालमा जिल्लामा खेलाडी छनोट सुरु भयो । उनी छानिए । काठमाडौं गएर खेल्न उत्सुक थिए । ‘राम्रो प्रदर्शन गर्न चुनौती थियो,’ उनले भने, ‘एक गिलास दूधको भरमा प्रथम राष्ट्रिय खेलकुदमा सहभागी भएँ ।’ एक गिलास दुधको भरमा दिनभर खेल्दा स्टामिना पुग्दैनथ्यो । उनले राष्ट्रिय प्रतियोगिता खेल्दा गणेश थापा चर्चामा आइरहेका थिए । ०३९ सालमा बुद्ध गोल्डकप खेलेका उनले त्यसपछि आठ वर्षसम्म राम्रो खेलेर सुनाए बताए ।


२६ वर्षमा गोरखपुरकी कौशिल्यासँग बिहे भयो । उनीहरूले प्रेमविवाह गरेका हुन् । चार सन्तानका पितालाई श्रीमतीले राम्रो साथ दिइन् । ब्रिटिस क्याम्प हटेपछि कृषि क्याम्पस स्थापना भयो । उनी त्यसमै जागिर गर्न थाले । ‘घरभरि मेडल र प्रमाणपत्र थिए,’ कौशिल्याले भनिन्, ‘त्यसले आर्थिक पाटोमा प्रगति भएन तर उहाँ खेलमा सन्तुष्ट हुनुहुन्थ्यो । त्यति बेला खेलेर पुरस्कारमा पैसा मिल्थेन । ठूला प्रतियोगिता हुन्थेनन् ।


‘मलाई फुटबलको नसा लागेको थियो,’ कालेकुमारले भने । उमेर ढल्केपछि मधुमेहले छोयो । त्यसपछि खेल्न छाडेको उनले बताए । उनी २० वर्षदेखि रोगसँग जुधिरहेका छन् । सुरुमा मधुमेहले पैतालामा घाउ बन्दै गएको थाहा भएन । ‘धेरै पीडा भएपछि चेकजाँच गराएँ,’ उनले भने, ‘डाक्टरले खुट्टा काटनुपर्ने, नभए घाउ फैलिने बताए ।’


९ वर्षसम्म छाला र पैतालाको भाग काट्दै औषधि खाँदै गरेको उनले बताए । दाहिने खुट्टाको बुढीऔंला काटेपछि केही हल्का भयो । दाहिने खुट्टा निको भए पनि देब्रेमा घाउ बल्झियो । भारतमा गई चेकजाँच गरे । नेपालमा धेरै ठाउँमा परीक्षण गराउँदा खुट्टा काटनैपर्ने सल्लाह दिन्थे । तीन महिना भयो, खुट्टा काटेको । अहिले हिलचियरको सहारामा हिँडडुल गर्छन् । ४० वर्ष कृषि क्याम्पसमै काम गरे । १ सय २७ रुपैयाँबाट सुरु भएको उनको तलब २५ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । काम गर्न नसक्ने भएपछि राजीनामा दिए ।


सन् १९७९ मा भारतमा जन्मिएका वासुदेव थापाले उतै एसएलसीसम्मको अध्ययन गरे । बुवा जागिरे भएकाले परिवार उतै बस्थ्यो । विद्यार्थी छँदै क्रिकेटमा रुचि थियो । १४ वर्षमै इन्दौरमा रहेको सहारा इन्डिया क्लबमा आबद्ध भए । सन् २००० मा नेपालसँग प्रतिस्पर्धा गर्न भारतको एउटा क्लाबबाट पहिलोपल्ट यहाँ आएका थिए ।


ब्याट्सम्यान थापाले ४ खेलमध्ये तीनमा क्रमशः ४०, २५ र ३५ रन बनाए । उनको टिमले नगद एक लाख रुपैयाँ राशिको पुरस्कार जित्यो । यहाँ खेलेको देखेपछि स्थानीय प्रशिक्षक जंगबहादुर थापाले उनलाई यहीं बसेर खेल्न सल्लाह दिए । घरसल्लाह गरेर फर्किने भन्दै गए । रूपन्देही क्रिकेट संघले सुपर लिग खेल्न प्रस्तावसहित उनलाई आमन्त्रण गर्‍यो । उनी सानोबुवाको घरमा बसेर खेल्ने गरी नेपाल आए । पढाइलाई विश्राम दिए ।


थापाले जय ट्रफी, यू–१९ क्षेत्रीय प्रतियोगितालगायत स्थानीय प्रतियोगिता खेलिरहेका थिए । १९ वर्षमुनिको युथ एसिया कप छनोटका लागि काठमाडौंमा प्रक्रिया सुरु भयो । उनी २४ बाट १४ जनामा छानिए । उक्त खेलमा १० टिम सहभागी भएको थियो । त्यसपछि सन् २००२ को जनवरीमा न्युजिल्यान्डसँग खेल्ने नेपाली टिममा परे । टिमले भारतमा तयारी गर्‍यो । नेपाल क्रिकेट संघ (क्यान) को संयोजकत्वमा टोली न्युजिल्यान्ड गएको थियो ।


त्यहाँ बंगलादेशसित प्रतिस्पर्धा गर्दा वासुदेवको देब्रे खुट्टाको पन्जाको हड्डी भाँचियो । त्यसपछि ५ ओभर खेले । फिल्डिङ गर्ने बेला उनी दौड्न सकेनन् र उनलाई अस्पताल लगियो । नेपाल आएपछि एक महिनाजति आराम गरेर उनी रूपन्देहीबाट राष्ट्रिय प्रतियोगिता खेल्न गए । त्यही बीचमा खुट्टाको चोट बल्झियो । ६ महिना आराम गर्नुपर्ने भयो । सन् २००४ मा फेरि १९ वर्षमुनिको प्रतियोगिता खेल्न प्रस्ताव आयो । ‘महत्त्व दिएर बोलाइरहन्थे,’ उनले सुनाए, ‘खेलको नसा थियो, खेल्न गएँ ।’


उनीसँगै टिमबाट शक्ति गौचन, वसन्त रेग्मी, विनोद दासले पनि खेलेका थिए । शल्यक्रिया गरेर पनि खुट्टा निको हुने निश्चित नभएपछि खेल्नै छोडे । खुट्टाकै कारण सन् २००६ मा पाकिस्तान गएर खेल्ने मौका गुमाएका उनले चोटको पीडा खेलाडीलाई मात्र थाहा हुने बताउँछन् । दुई महिनाअघि शक्ति गौचनको पहल र कप्तान पारस खडाको सहयोगमा वासुदेवले ५० हजार रुपैयाँ सम्मानस्वरूप प्राप्त गरे । स्थानीय युवाले विद्युतीय स्कुटर सहयोग गरेका छन् । अहिले उनी सिद्धार्थनगरका दुई विद्यालयमा प्रशिक्षक भएर विद्यार्थीलाई क्रिकेट सिकाइरहेका छन् ।


मंगल राई अहिले ५४ वर्षका भए । म्यानमारमा जन्मिएका उनी विद्यालय स्तरमा बक्सिङ खेल्थे । विद्यालयबाट थाइल्यान्ड खेल्न गएका बेला नेपाली साथी भेटे । उनलाई नेपाल आएर खेल्न निम्तो दिइयो । १८ वर्षमा उनी घरबाट भागेर भारतको मणिपुरमा एक वर्ष बसे । त्यहाँ खेल प्रदर्शन गरेर दुई सयदेखि २ हजार रुपैयाँसम्म पाए । त्यसपछि उनी नेपाल फर्किए । बुटवल आएका उनले गुल्मीमा ०४३ सालमा पहिलो पटक खेले ।


राष्ट्रिय खेलकुद विकास समितिमा सम्पर्क गरेर गुल्मीमा ०४४ सालमा तेस्रो जुनियर बक्सिङ प्रतियोगितामा भाग लिए । उनले प्रथम स्थान प्राप्त गरे । उनी ०४५ मा १२ औं राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन गए । खेलकै लागि थाइल्यान्ड, पाकिस्तान, इन्डोनेसियासम्म पुगे । उनले स्वर्ण पदकसहित थाइल्यान्डमा स्वर्ण बेल्ट प्राप्त गरे । ‘खेलेर कहिलेकाहीं २ हजार रुपैयाँसम्म पाइन्थ्यो,’ उनले भने, ‘त्यसले खेल्दा चाहिने डाइट खान पनि पुग्दैनथ्यो ।’


०४८ सालमा उनले बक्सिङ छोडने निर्णय गरे । अब्बल खेल्दाखेल्दै पनि आर्थिक पाटो नउकासिएपछि खेल छोडेको उनले सुनाए । खेल्न चाहनेलाई सिकाउने, बास्केटबल, ब्याडमिन्टन खेलिरहने उनको मिर्गौला फेल भएको एक वर्ष भयो । तीन पटकसम्म डायलोसिस गरेपछि बस्नसम्म सक्ने भएका राईले गहभरि आँसु पार्दै भने, ‘पुराना खेलाडीका लागि सरकारले केही गरेन, खेल्यौं सकियो ।’ उनको उपचारमा धेरै खर्च भइरहेको छ । उनीभन्दा जुनियर बक्सर राजु गुरुङले सहयोग जुटाएर उपचारमा सघाइरहेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?