कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विश्वकप एसियाली छनाेट : नेपालले अस्ट्रेलियासँग खेल्ने

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबलको शक्तिशाली टिम अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएको छ ।

विश्वकप एसियाली छनाेट : नेपालले अस्ट्रेलियासँग खेल्ने

एसियाली फुटबल महासंघ (एएफसी) को क्वाललम्पुरस्थित मुख्यालयमा बुधबार भएको विश्वकप २०२२ को एसियाली छनोटको ‘ड्र’ अनुसार नेपालले नयाँ प्रतिद्वन्द्वीको रूपमा अस्ट्रेलियालाई पाएको हो ।


‘होम एन्ड अवे’ का आधारमा हुने छनोटमा नेपालले अक्टोबर १०, २०१९ मा अस्ट्रेलियाको यात्रा गर्नेछ । नेपालले फिफा वरीयतामा ११८ स्थान माथिको टिमलाई मार्च ३१, २०२० मा काठमाडौंमा निम्त्याउने छ ।


पछिल्लोपल्ट रुसमा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको अस्ट्रेलिया वरीयतामा ४३ औं स्थानमा छ भने नेपाल १ सय ६५ औंमा । पाँचपल्ट विश्वकप खेलेको अस्ट्रेलिया सन् २०१५ को एसियन कप च्याम्पियन पनि हो । उसको टिम युरोपेली लिगमा व्यस्त खेलाडीले भरिएको हुने गर्छ । नेपाल भने दक्षिण एसियाली च्याम्पियनसिपमा पनि सेमिफाइनलमाथि उक्लिन सकेको छैन ।


अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले कुवेतविरुद्ध घरेलु भूमिमा प्रतिस्पर्धा गर्दै सेप्टेम्बर ५, २०१९ मा छनोट यात्रा थाल्नेछ । अघिल्लो महिनाको वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि सिधै छनोटको समूह चरणमा प्रवेश पाएको नेपाल समूहमा सबैभन्दा कमजोर टिम हो । त्यसैले नेपालले छनोटका प्रतिद्वन्द्वीहरू हेरेर अरुको खेलभन्दा पनि आफ्नै खेलमा ध्यान दिएर स्तर बृद्धिका लागि प्रतिस्पर्धा गर्नुपर्ने प्रशिक्षक योहान कालिनले प्रतिक्रिया दिएका छन् ।


स्वीडिस प्रशिक्षक कालिनको मार्चमा टिम सम्हालेयता नेपालले मैत्रीपूर्ण चार खेल खेल खेलेको छ । त्यसमा कुवेतविरुद्ध एक बराबरी र एक हारको नतिजा बेहोरेको थियो भने मलेसियामा पराजित भएको थियो । नेपालले चाइनिज ताइपेईविरुद्ध ताइवानमा १–१ को बराबरी गरेको थियो ।


कुवेत र चाइनिज ताइपेईविरुद्ध विपक्षी मैदानमा खेलेको बराबरी नतिजलाई उपलब्धिमूलक मानिएको छ । यही विश्वकप छनोटको तयारीमा नेपाली टिमले दुई सातायता निरन्तर अभ्यास गरिरहेको छ ।


विश्वकप छनोटको यो दोस्रो चरणको प्रतिस्पर्धा एसियन कप २०२३ को छनोटको रूपमा पनि रहेको छ । आठ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् र त्यससँगै ती १२ टिम चीनमा २०२३ मा हुने एसियन कपमा पनि छनोट हुनेछन् । अरु टिमले एसियन कपमा बाँकी रहेको १२ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।


नेपालको खेल

नेपालविरुद्ध कुवेत (होम)५ सेप्टेम्बर, २०१९

नेपालविरुद्ध चाइनिज ताइपेई (होम)१० सेप्टेम्बर, २०१९

अस्ट्रेलियाविरुद्ध नेपाल (अवे)१० अक्टोबर, २०१९

नेपालविरुद्ध जोर्डन (होम)१५ अक्टोबर, २०१९

कुवेतविरुद्ध नेपाल (अवे)१९ नोभेम्बर, २०१९

चाइनिज ताइपेईविरुद्ध नेपाल (अवे)२६ मार्च, २०२०

नेपालविरुद्ध अस्ट्रेलिया (होम)३१ मार्च, २०२०

जोर्डनविरुद्ध नेपाल (अवे)४ जुन, २०२०

प्रकाशित : श्रावण २, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?