कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

दक्षिण एसियाली शारीरिक सुगठन : १२ औं संस्करण भोलिदेखि

काठमाडौँ — नेपालमा हुने १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजना हुने कार्यक्रममा सार्कका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले भाग लिने छन् । प्रतियोगिता साउन ३ र ४ गत प्रज्ञा भवन कमलादीमा हुनेछ ।

दक्षिण एसियाली शारीरिक सुगठन : १२ औं संस्करण भोलिदेखि

बुधबार पत्रकार सम्मेलनमा महिला र पुरुषको गरी १८ विधामा प्रतिस्पर्धा हुने संघले जानकारी दिएको छ । प्रतियोगितामा शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९० केजी र त्यो भन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।


जुनियर पुरुष शारीरिक सुगठन, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स र महिला मोडल फिजिक्स विधा पनि पहिलोपल्ट थप गरी प्रतिस्पर्धाको तयारी गरिएको आयोजक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।


साउन ३ मा प्रि–जजिङ चरण र ४ मा फाइनल चरणको तालिका तय गरिएको छ । शारीरिक सुगठनतर्फ ओभरअल विजेतालाई मिस्टर साउथ एसिया घोषणा गरिनेछ भने टिम च्याम्पियनको पनि घोषणा गरिनेछ । प्रतियोगिताका लागि ८ देशका १ सय ३० खेलाडीले भाग लिने छन् । घरेलु टोली नेपालबाट १८ पुरुष र ५ महिला खेलाडीको सहभागिता रहने जनाइएको छ ।


प्रतियोगिताका लागि १ करोड ३९ लाख बजेट अनुमान गरिएकोमा निजी क्षेत्र र प्रायोजकबाट संकलन गरिने अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले १० लाख विनियोजन गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन लागिएकोमा त्यसैको तयारीस्वरुप अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता गरिएको उनले बताए ।


विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघका अध्यक्ष दातुक पाउल चुआ, महासचिव चेतन पठारे, कायकारी निर्देशक क्रिस्टिना क्याम, दक्षिण एसियाली शारीरिक सुगठनका प्रशान्त आप्के पनि नेपाल आएका छन् ।

यस प्रतियोगिताका लागि दक्षिण एसियाली अध्यक्ष आप्केले नेपालका अध्यक्ष श्रेष्ठलाई भारु ७ लाखको चेक हस्तान्तरण गरेका छन् ।


नेपालका प्रतिस्पर्धी खेलाडी

किसनदास दिवाकार (५० केजी), डेविड बलामी (६०केजी), कमल भण्डारी (६० केजी), प्रज्वलमान शाक्य (६५ केजी), रमेश कार्की (७० केजी), समिर श्रेष्ठ (७० केजी), अशोक महर्जन (७५ केजी), मिलन सिजापती (८५ केजी)


मेन्स फिजिक्सतर्फ : नरेश मालाकार, कृष्ण महर्जन, सविन कार्की, राजु राई, विष्णुराम केसी, निशान्तमान प्रधान, डम्बर मार्कन्ड, राजीव थापा, प्रमोद राई, सन्तोष बिक ।


महिला फिजिक्सतर्फ : रजनी श्रेष्ठ, सुजिता मानन्धर, पूजा श्रेष्ठ, मल्लिका शाक्य, तारा डंगोल ।

प्रकाशित : श्रावण २, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?