कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्वकप एसियाली छनाेट : दुई कोरियाको भिडन्त

एएफपी

क्वालालम्पुर — राजनीतिक रूपमा तनावपूर्ण सम्बन्ध रहेको उत्तर र दक्षिण कोरिया विश्वकप छनोटको एउटै समूहमा परेका छन् । बुधबार भएको ‘ड्र’ मा चिरपरिचित प्रतिद्वन्द्वी इरान र इराकबीच पनि समूहमै प्रतिस्पर्धा हुने भएको छ ।

विश्वकप एसियाली छनाेट : दुई कोरियाको भिडन्त

ठूला टिमहरू इरान, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र साउदी अरेबियाले रुसमा २०१८ मा भएको विश्वकप खेलेका थिए । ती टिमहरू २०२२ मा कतारमा हुने प्रतियोगिताको एसियाली छनोटमा बेग्लाबेग्लै समूहमा रहेका छन् ।

दोस्रोपल्ट विश्वकपमा छनोट हुने प्रयासमा रहेको चीन केही सहज मानिएका र वरीयतामा तल रहेका युद्धग्रस्त सिरिया र सानो देश ग्वामसँगै परेको छ । वरीयतामा ७३ औं स्थानमा रहेको चीनलाई विश्वकप आयोजना गर्ने र जित्ने फुटबलप्रेमी राष्ट्रपति सी जिनपिङले महत्त्वाकांक्षा राखेका छन् ।

दक्षिण कोरिया एसियाको उत्कृष्टमध्ये एक टिम हो र उसले उत्तर कोरियालाई सजिलै हराउन सक्छ । तर कोरिया विभाजनको तिक्ततापूर्ण सम्बन्ध रहेको अवस्थामा दुई छिमेकीबीच खेल हुनेछ । छनोटमा दुवैले एकअर्काविरुद्ध दुईपल्ट खेल्नेछन् सेप्टेम्बर र जुनमा ।

एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालय क्वालालम्पुरमा भएको ‘ड्र’ पछि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले उत्तर कोरियाविरुद्धको खेल ‘विशेष नहुने’ बताएका छन् । ‘हाम्रा लागि यो खेल हो । लक्ष्य छनोट हुने हो,’ उनले भने, ‘जब उत्तर कोरियाविरुद्ध खेल्नेछौं तब हामीले अरु टिमविरुद्ध खेलेजस्तै उसलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश हाम्रा खेलाडीलाई दिइसकेका छौं ।’

दुई कोरियाले खेलकुदलाई कूटनीतिक रूपमा पनि उपयोग गर्दै आएको छ । सन् २०१८ को विन्टर गेम्समा कोरियाले पहिलोपल्ट संयुक्त रूपमा ओलम्पिक टिम बनाएको थियो । एउटै समूहमा परेपछि इरान र इराकले आफ्नो पुरानो प्रतिद्वन्द्वितालाई फेरि निरन्तरता दिएको छ ।

टिमहरूले राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछ । आठ समूहका विजेता तथा उत्कृष्ट चार उपविजेता टिम विश्वकप २०२२ को एसियाली छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

प्रकाशित : श्रावण २, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?