कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मानेलाई अवसर

एएफपी

कायरो — लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि आफ्नो देश फर्किएका साडियो माने राष्ट्रिय जर्सीमा महादेशीय प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि नजिक छन् ।

मानेलाई अवसर

पहिलोपल्ट महादेशीय फुटबल प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित सेनेगलले शुक्रबार अल्जेरियाको सामना गर्दै छ ।


आफू इन्ज्युरीका कारण सन् २०१५ को संस्करणमा माने टिमबाहिर थिए । दुई वर्षअघि उनी निर्णायक पेनाल्टीमा चुक्दा सेगेनलले क्वाटरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेन । इजिप्टमा जारी यो संस्करणमा पनि उनी दुईपल्ट पेनाल्टीमा चुकिसकेका छन् ।


हरेकपल्ट उपाधि दाबेदार हुनुका बाबजुद सेनेगलले अहिलेसम्म अफ्रिकी नेसन्स कपको उपाधि जित्न सकेको छैन । २७ वर्षीय मानेले नै कहिलेकाहीं टिमलाई निराश पारेका छन् । यद्यपि उनी टिमका मुख्य खेलाडी हुन् । उनी अफ्रिकी फुटबलमा ६० वर्षदेखि सेनेगलको उपाधि भोक मेटाउन सक्ने क्षमता राख्छन् ।


प्रिमियर लिगमा सर्वाधिक २२ गोलसहित सबैभन्दा सफल सिजन, जुनमा युरोपियन च्याम्पियनको उपाधिसँगै माने सेनेगलको सफलतामा निर्णायक बनेमा बालोन डी’ओरको दाबेदारमा पनि स्थापित हुनेछन् । १६ वर्षको प्रतीक्षा तोड्दै सेनेगललाई सन् २०१८ को विश्वकपमा पुनरागमन गराएका मानेकै प्रेरणामा टिमले फाइनलसम्म यात्रा तय गरेको हो । सन् २००२ पछि पहिलोपल्ट फाइनल खेल्न लागेको सेनेगलका लागि मानेले जारी प्रतियोगितामा ३ गोल गरेका छन् भने १ गोलका लागि सहयोग गरेका छन् ।


‘उनीसँग असीमित क्षमता छ त्यसैले उनलाई कुनै योजनाको सीमामा बाँध्न सकिँदैन । ड्रिब्लिङ, सटिक पास र अनिश्चित प्रहारमार्फत उनले खेललाई जुनसुकै बेला आफ्नो पक्षमा पार्नसक्ने क्षमता राख्छन्,’ सेनेगलका प्रशिक्षक अलियु सिसे भन्छन् ।


उनले विपक्षीलाई तहसनहस पार्नका लागि मानेलाई केन्द्रित गरी रणनीति बनाएका छन् । अधिक आक्रामक अग्रपंक्तिमा मिडफिल्डर इस्माइल सार, केइटा बाल्डे र क्रेपिन डियाट्टाले एमबाये नियाङ र मानेलाई सहयोग गर्नेछन् । प्रतिबन्धित मुख्य डिफेन्डर कालिदोउ कोउलीबेलीको अनुपस्थितिमा उपाधि जित्ने अभियान साकार बनाउन अग्रपंक्तिले अतिरिक्त जिम्मेवारी सम्हाल्नुपर्नेछ । सेनेगलको उपाधि खडेरी तोड्न चार वर्षदेखि प्रशिक्षकको भूमिकामा रहेका सिसेकै नेतृत्वको टिमले पछिल्लोपल्ट सन् २००२ मा अफ्रिकी कपको फाइनल खेलेको थियो ।


‘म नेसन्स कपका लागि च्याम्पियन्स लिग बिर्सन तयार छु । यदि ट्रफीका साथ डाकर फर्कन सक्यौं भयो त्यो भन्दा आनन्ददायी अरु केही हुँदैन । यो मेरो सबैभन्दा ठूलो सपना हो,’ प्रतियोगिताअघि मानेले फ्रान्स फुटबलसँगको कुराकानीमा भनेका थिए ।


सेनेगलले अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेमा माने क्लब र देशका लागि उच्च उपाधि जित्ने थोरै अफ्रिकी खेलाडीमध्ये एक हुनेछन् । यो सफलता क्यामरुनका सामुइल इटो, आइभोरी कोस्टका सालोमन कालोउ र याया टाउरे, नाइजेरियाका फिनिदी जर्ज र जोन ओबी मिकेल तथा घानाका अबेदी पेले र अल्जेरियाका रियाद महारेजले पाएका छन् ।


यस्तो भएमा माने बालोन डी’ओरका स्वाभाविक दाबेदार हुनेछन् । यसअघि यो प्रतिष्ठित अवार्ड जित्ने एकमात्र अफ्रिकी खेलाडी लाइबेरियाका जर्ज वे हुन् । उनले सन् १९९५ मा यो सफलता पाएका थिए । तर मानेसँगै यस वर्ष यो अवार्डका लागि लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, उनकै क्लबका टिममेट तथा ब्राजिलका कोपा अमेरिका विजेता गोलरक्षक एलिसन पनि दाबेदार छन् ।


‘बालोन डी’अरबारे सोचिरहनु आवश्यक छैन । मानेका लागि यो महत्त्वपूर्ण छ कि उनले आफ्नो टिमका लागि लगातार उत्कृष्ट प्रदर्शन जारी राखुन् । उनी यही सोचमा छन् । मैले उनीसँगको कुराकानीमा भन्ने गरेको छु कि टिमका लागि सबैथोक देउ, टिमले पनि सबैथोक दिनेछ,’ प्रशिक्षक सिसेले भने ।

प्रकाशित : श्रावण २, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?