सन्तोष र रेखालाई हाफ म्याराथन

भवानी भट्ट

कञ्चनपुर — ‘दौड सुदूरपश्चिम दौड’ भन्ने नारासाथ सोमबार आयोजित खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथनको उपाधी सशस्त्र प्रहरीका सन्तोषविक्रम विष्ट र बेलौरी नगरपालिकाकी रेखा चन्दले जितेका छन् । दुवैले जनही एक लाख रुपैयाँ पुरस्कार जिते । 

सन्तोष र रेखालाई हाफ म्याराथन

कञ्चनपुरको शुक्लाफांँटा नगरपालिकाको झलारीदेखि भीमदत्त नगरपालिकास्थित कभर्डहलसम्मको २१ किलोमिटर दुरी सन्तोषले १ घण्टा १५ मिनेट ३३ सेकेन्डमा पूरा गरे । यसअघि माघमा भीमदत्त नगरपालिकाले आयोजना गरेको जैविक धार्मिक हाफ म्याराथनमा पनि उनले १ घण्टा ११ मिनेटमा दुरी तय गरे उपाधि जितेका थिए । महिलातर्फ रेखा १ घण्टा ३९ मिनेट ५२ सेकेन्डबाट विजेता बनिन् । जैविक धार्मिकमा उनी दोस्रो भएकी थिइन् ।


पुरुषतर्फ भवानी दल गण तेघरी कैलालीका सुमन मादेन दोस्रो र बेदकोट नगरपालिका ८ का लक्ष्मण भण्डारी तेस्रो भए । सुमनले १ घण्टा २१ मिनेट २८ सेकेन्ड र लक्ष्मणले १ घण्टा २२ मिनेट ३ सेकेण्डमा दुरी पार गरे । देवीदल गण मझगाउँका सन्तोष सिंह बोहरा चौथो, अनिल देवकोटा पाँचौं र भवानी दलका भीमदत्त भट्ट छैटौं भए ।


महिलामा भीमदत्त नगरपालिका १९ बागफांँटाकी लक्ष्मी बम दोस्रो र भवानी दलकी कविता जनाला तेस्रो भए । लक्ष्मीले १ घण्टा ४३ मिनेट ६ सेकेन्ड र जनालाले १ घण्टा ४४ मिनेट ५७ सेकेन्डमा दुरी पार गरे । भवानी दलकी मनिता नाथ, बाहिनी नम्बर २५ भगतपुरकी लक्ष्मी सुतारा र भीमदत्त–१३ की ममता भट्ट चौथोदेखि छैटौं भए । दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले २५ हजार, पाँचौं हुनेले १५ हजार र छैटौं हुनेले १० हजार रुपयाँ पुरस्कार पाए ।


सुदूरपश्चिम प्रदेशको स्वीकृत कार्यक्रमअन्तर्गत सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा ६ महिला र ८२ पुरुष खेलाडीले भाग लिएका थिए । विजेतालाई सुदूरपश्चिम प्रदेशसभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले पुरस्कृत गरे । उनले कञ्चनपुरले हरेक खेलकुदमा देशकै आफ्नो उत्कृष्ट पहिचान कायम गरे पनि त्यसअनुसार भौतिक पूर्वाधार हुन नसकेकाले त्यसतर्फ सबै जुटनुपर्नेमा जोड दिए ।

प्रकाशित : असार ३१, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?