दुर्लभ फाइनलमा इंग्ल्यान्ड विश्वकप च्याम्पियन

(एएफपी)

लन्डन — इंग्ल्यान्डले नाटकीय फाइनलमा न्युजिल्यान्डलाई पराजित गरी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले दुर्लभ जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको हो ।

दुर्लभ फाइनलमा इंग्ल्यान्ड विश्वकप च्याम्पियन

२ सय ४२ रनको लक्ष्य लिएर आएको इंग्ल्यान्ड पुरा ओभर खेलेर २ सय ४१ रनमा अलआउट भए पछि खेल सुपर ओभरमा लम्बियो । सुपर ओभरमा इंग्ल्यान्डले विना क्षति १५ रन बनायो । जबाफमा आएको न्युजिल्यान्डले पनि सुपर ओभरमा १५ रन नै बनाए पछि इंग्ल्यान्ड धेरै बाउन्ड्रि प्रहार गरेको आधारमा विजेता बनेको हो ।


न्युजिल्यान्डले पुरा ५० ओभरमा १६ र इंग्ल्यान्डले २४ तथा सुपर ओभरमा न्युजिल्यान्डले १ र इंग्ल्यान्डले २ बाउन्ड्रि प्रहार गरेको थियो । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुगेको हो । २०१५ को पछिल्लो संस्करणमा टोली अस्ट्रेलियासँग पराजित भएको थियो ।


बेन स्टोक्सले ९८ बलमा ८४ रन बनाई इंग्ल्यान्डलाई निर्धारित ओभरमा जोगाएका थिए । उनले अन्तिम ओभरमा एक्लै दुई छक्कासहित १४ रन प्रहार गरेका थिए । उनले कुल ५ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका जेम्स निशम र कोलिन डी ग्रान्ड होमले ३–३ विकेट लिए ।


लिएम प्लुन्केटले तीन महत्वपूर्ण विकेट लिएपछि लर्ड्समा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २४२–८ को योगफलमा रोकेको थियो । तीव्र बलर प्लुंकेटले न्युजिल्याण्डका कप्तान तथा सुपरस्टार ब्याट्सम्यान केन विलियमसनलाई ३० रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । न्युजिल्यान्डका लागि सर्वाधिक ५५ रनको इनिङ्स खेलेका हेनरी निकोल्सलाई पनि उनले आउट गरे । १० ओभरमा प्लुन्केटले ४२ रन खर्चेर ३ विकेट लिएका हुन् । क्रिश वोक्सले पनि ३–३७ को उत्कृष्ट बलिङ प्रदर्शन गरे ।


न्युजिल्यान्डले विश्वकै सबैभन्दा शक्तिशाली व्यटिङपंक्ति भएको भारतबिरुद्ध २ सय ३९ रनको योगफल रक्षा गर्दै फाइनलमा स्थान बनाएको थियो ।


‘आफ्नो प्रदर्शनमा विश्वास नै लागिरहेको छैन । यस्तो अवसरमा आफ्नो महत्वपूर्ण योगदान हुँदा राम्रो लाग्छ,’ प्लुन्केटले भने, ‘पीच पनि उत्कृष्ट थियो ।’


विलियमसनले सेमिफाइनलमा भारतबिरुद्ध जस्तै फाइनलमा पनि टस जिते र लर्ड्सको घाँसे पीचमा पहिला ब्याटिङको निर्णय गरे । क्रिश वोक्सको बलिङमा हेनरी निकोल्सलाई अम्पायर कुमार धर्मसेनाले एलबीडब्लु आउट दिए पनि न्युजिल्यान्डले रिभ्युमार्फत नतिजा उल्टाएको थियो । सन् २०१५ को संस्करणमा न्युजिल्यान्डका शीर्ष रन स्कोरर मार्टिन गुप्टिलले तीव्र बलर जोफ्रा आर्चरको बलमा २ चौका प्रहार गरे । गुप्टिल यस विश्वकपमा रन बनाउन संघर्षरत रहे । १९ रनको स्कोरमा उनी वोक्सको बलमा एलबीडब्ल्यूको सिकार बने । भिडियो रिप्लेमा पनि आउट देखिएपछि उनी पेविलियन फर्कन बाध्य रहे ।


विश्वकपमा ९१.३३ को औषतमा ५ सय ४८ रन प्रहार गरेका कप्तान केन विलियमनसनले तेस्रो नम्बरमा ब्याटिङ सुरु गरे । तर निकोल्ससँग दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेपछि उनी आउट भए । प्लुन्केटको बलमा एज लागेको बल समाउन विकेटकिपर जस बटलरले कुनै गल्ती गरेनन् । अम्पायर धर्मसेनाले आउट दिएका थिएनन्, तर इंग्ल्यान्डले रिभ्यु लिएर विलियमसनको बहिर्गमन निश्चित गरेको थियो । ५३ बलको इनिङ्समा उनले २ चौका प्रहार गरे ।


प्लुन्केटले १४ बलपछि अर्को विकेट लिएसँगै न्युजिल्याण्ड ११८–३ को स्थितिमा पुग्यो । निकोल्सले ७१ बलमा अर्धशतक पूरा गरे । ५५ रनको स्कोरमा उनी आउट भएका हुन् । न्युजिल्यान्ड अनुभवी ब्याट्सम्यान रस टेलरको आशामा थियो, जसले उनीहरुलाई अप्ठेरोबाट पार लगाउन सकुन् । मार्क उडको एलबीडब्ल्यू आउट गर्नुअघि उनले १५ रनमात्र बनाउन सके ।


जिम्मी निसमलाई १९ रनको स्कोरमा प्लुन्केटले मिड अन क्षेत्रमा जो रुटबाट क्याटआउट गराएपछि न्युजिल्यान्ड १७३–५ को अवस्थामा पुग्यो । कोलिन डी ग्रान्डहोमले २८ बलमा १६ रन बनाएर आउट भए । लाथामले ४७ रन जोड्न ५६ बलको सामना गरे ।


प्रकाशित : असार ३०, २०७६ ००:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?