विम्बल्डन टेनिस : ११ वर्षपछि फेरि भिड्दै

फेडेररविरुद्ध नाडल
एएफपी

लन्डन — रोजर फेडेरर र राफेल नाडल बिम्बल्डन ओपन टेनिसमा फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्दै छन् । सेन्टर कोर्टमा ग्रान्ड स्लाम च्याम्पियनसिपका लागि ११ वर्षअघि इतिहासकै सबैभन्दा उत्कृष्ट मानिएको खेलपछि यी दुई यहाँ पहिलोपल्ट भिड्न लागेका हुन् । त्यस दिन नाडलले बाजी मारेका थिए ।

विम्बल्डन टेनिस : ११ वर्षपछि फेरि भिड्दै

उनले पाँच सेटको खेल चार घण्टा ४८ मिनेट लगाएर जितेका थिए । त्यस खेललाई वर्षाले प्रभावित गरेपछि सात घण्टासम्म लम्ब्याउनुपरेको थियो । त्यसमा स्पेनी नाडलले ६–४, ६–४, ६–७, ६–७, ९–७ को जित हात पारेको बेला ९ बजेको थियो र चर्चित रंगशालामा अँध्यारो हुन लागेको थियो ।


एक दशकपछि अहिले यी दुई ३८ ग्रान्ड स्लाम उपाधिसहित र जनही १० करोड डलर बढी पुरस्कारसहित खेलक्षेत्रकै सर्वाधिक सफल खेलाडी बनेका छन् । विम्बल्डनमा सन् २००८ र २०१० मा उपाधि जितेका नाडलले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी एवं साथीविरुद्ध समग्रमा २४–१५ को सफलता हात पारेका छन् ।


उनी ग्रान्ड स्लाममा १०–३ ले अगाडि छन् । आठपल्टका च्याम्पियन फेडेररले विम्बल्डनको प्रतिस्पर्धामा नाडलविरुद्ध २–१ को अग्रता लिएका छन् । उनले सन् २००८ को चर्चित खेल हार्नुअघि २००६ र २००७ मा सफलता पाएका थिए ।


नाडलले फेडेररलाई गत महिना रोलान्ड ग्यारोस (फ्रेन्च ओपन) को सेमिफाइनलमा फेडेररलाई सीधा सेटमै निरास पारेर पेरिसमा १२ औं उपाधि जितेका थिए । यससँगै उनले आफ्नो खेलमा २००८ यता सुधार गरे । अल इंग्ल्यान्ड क्लबमा दुवै खेलाडीलाई उमेरको कारण घुँडा जोगाउन आवश्यक छ ।


‘म कम दौड्ने गर्छु, त्यसैले मैले सर्भिस राम्रो गर्नुपर्छ । सम्भवत् म एक वर्षमा २० साता बढी खेल्न सक्दिनँ,’ ३३ वर्षीय नाडलले भने, ‘मैले सर्भिस राम्रो गरिरहेको छु । ब्याकह्यान्ड राम्रो प्रहार गरिरहेको छु । भली र स्लाइसिङ (कट) पनि राम्रो हुनसक्छ ।’


तथ्यांकभन्दा बाहिर हेर्ने हो भने उनीहरूमध्ये एकलाई छनोट गर्न निकै गाह्रो हुन्छ । नाडलले ४७ एस प्रहार गरेका छन्, चारपल्टमात्र उनी रोकिए । फेडेररले ४२ एस प्रहार गरे र उनले तीनपल्ट सर्भिस गुमाएका छन् । तेस्रो वरीयताका स्पेनी खेलाडीले हालसम्म वरीयताप्राप्त खेलाडीको सामना गर्नुपरेको छैन । एकपल्टमात्र उनको परीक्षण भएको छ तर प्रतियोगिताकै एक खराब खेलमा उनले चार सेटको प्रतिस्पर्धापछि दोस्रो चरणमा निक किर्गियोसलाई सजिलै हराएका थिए ।


३७ वर्षीय फेडेरर ग्रान्ड स्लामको सेमिफाइनल खेल्ने जिमी कोनर्स (३९ वर्षको छँदा युएस ओपन १९९१) पछिका सबैभन्दा बढी उमेरका खेलाडी हुन् । उनी यो प्रतियोगितामा १३ औंपल्ट सेमिफाइनल खेल्दै छन् र ग्रान्ड स्लाममा ४५ औंपल्ट । क्वाटरफाइनलमा जापानका केई निसिकोरीविरुद्ध पहिलो सेट गुमाएर हात पारेको सफलतासँगै एउटै ग्रान्ड स्लाममा १ सय खेल जित्ने पहिलो खेलाडी बने उनी ।


नाडल खतरनाक रूपमा प्रस्तुत हुनसक्नेमा फेडेरर चिन्तित छन् । पेरिसमा हुरीबीच भएको खेलमा उनले बेहोरेको हार ग्रान्ड स्लाममा ११ वर्षयताकै सबैभन्दा खराब थियो । ‘राफाले वास्तवमै जसलाई पनि र जुनसुकै (स्थान) मा पनि निरास पार्नसक्छन्,’ फेडेररले भने, ‘उनले निकै फरक किसिमले सर्भिस गरिरहेका छन् । उनले कसरी सर्भिस गर्थे र अहिले कस्तो गरिरहेका छन् र फिनिसिङमा कति चाँडै पुग्न सक्छन् भन्ने मलाई सम्झना छ ।’


यी दुईको ४० औं भेटलाई सर्बियाली नोभाक जोकोभिचले पाँचौंपल्ट उपाधि जित्दै दोस्रो रोजाइमा झार्न सक्छन् । शीर्ष वरीयता एवं विश्व नम्बर एक जोकोभिच नवौंपल्ट सेमिफाइनल पुगेका छन् । उनले डेविड गोफिनलाई सीधा सेटमा हराएर अल इंग्ल्यान्ड क्लबमा ७० औं जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेका थिए ।


३६ औंपल्ट ग्रान्ड स्लामको सेमिफाइनलमा पुगेका उनले १५ पल्ट उपाधि जितेका छन् । उनले सेमिफाइनलमा स्पेनी रोबर्टो बाउटिस्टा अगुटको सामना गर्नेछन् । ग्रान्ड स्लाममा २७ औंपल्ट सहभागी बाउटिस्टा पहिलोपल्ट सेमिफाइनल पुगेका हुन् ।


यी दुईको भेटमा ३१ वर्षीय जोकोभिचले ७–३ को अग्रता लिएका छन् र ग्रान्ड स्लाममा उनी ३–० ले अगाडि छन् । सन् २०१९ मा अगुटले जोकोभिचलाई लगातार दुईपल्ट (दोहा र मायमी) मा पराजित गरेका थिए ।

प्रकाशित : असार २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?