कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

असारे झरीमा धमाधम खेलकुद

भवानी भट्ट

कञ्चनपुर — यति बेला असारे झरीबीच सडक कालोपत्रेदेखि अन्य पूर्वाधारको काम गर्न सम्बन्धित निकायलाई भ्याइनभ्याइ छ । असारे विकासजस्तै सुदूरपश्चिममा असारे खेलकुद पनि चलिरहेको छ । झरीबीच हतारहतारमा जिल्ला र प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सम्पन्न भएको छ । 

असारे झरीमा धमाधम खेलकुद

महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदान जलमग्न छ । त्यही जलमग्न मैदानमा खेलाडीहरू दौडिरहेका छन् । कतिपय अभ्यास गरिरहेका छन् । ‘दौडिँदा चिप्लिने निकै डर भयो, पानीले दौडिन पनि गाह्रो भयो,’ प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा दार्चुलाबाट आएका एथलेटिक्सका मणि बोहराले भने, ‘यो खेलकुद प्रतियोगिताका लागि उपयुक्त मौसम होइन ।’


जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले मंगलबार मात्रै झरीबीच राष्ट्रपति रनिङ सिल्ड सम्पन्न गरेको थियो । त्यसको दोस्रो दिन प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।


‘राष्ट्रपति रनिङ सिल्ड समयमै गर्नुपर्छ भनेर हामीले पटकपटक आवाज उठायौं,’ दार्चुलाका टीम लिडर श्यामराज अवस्थीले भने, ‘यसपालि त झन झरीमै प्रतियोगिता भइरहेको छ ।’ उनका अनुसार सातौं क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डसम्म फागुन–चैतमा जिल्ला र क्षेत्रका खेलहरू सकिन्थे ।


वैशाख–जेठमा राष्ट्रिय प्रतियोगिता आयोजना हुने गर्दथ्यो । आठौंदेखि खेलकुदको समय तालिका बिग्रिएर यस वर्ष वर्षातमै हतारहतारमा प्रतियोगिता भइरहेको हो ।


‘बिहीबार प्रदेशस्तरीय प्रतियोगिता सकिएपछि खेलाडीलाई काठमाडौं पुग्न दुई दिनमात्रै बाँकी छ,’ उनले भने, ‘यहाँ छनोट भएका खेलाडी लगत्तै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जानेछन् ।’ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका साढे ८ सय बढी खेलाडी, प्रशिक्षक र अफिसियल सहभागी छन् ।

संघीय सरकारको शिक्षा मन्त्रालयअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता भएको हो । प्रतियोगिताका लागि २३ लाख बजेट निकासा भएको प्रदेश खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए । उनले केन्द्रबाटै ढिलो गरी कार्यक्रम आएका कारण वर्षातमा प्रतियोगिता गराउनुपरेको प्रष्टीकरण दिए ।


‘राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड पछाडि धकेलिएको हो,’ शाहीले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले असार २९ देखि ३१ सम्म काठमाडौंमा केन्द्रस्तरको राष्ट्रिय प्रतियोगिता राखेकाले त्यसका लागि खेलाडी छनोट गर्न प्रतियोगिता गर्नैपर्ने बाध्यता छ ।’ उनका अनुसार यो प्रतियोगिता समयमै भएको भए वैशाखभित्रै सम्पन्न भइसक्नुपर्ने हो ।


राष्ट्रपति रनिङ सिल्डमात्रै होइन प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता पनि झरीबीच सम्पन्न भएको हो । राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रमअनुसार असार ४ देखि ११ सम्म महेन्द्रनगरको कभर्डहल मैदानमै उक्त प्रतियोगिता भएको थियो ।


वर्षाका कारण सेमिफाइनल र फाइनलसँगै अन्य खेलसमेत प्रभावित भए । वर्षाका कारण खेल हुन नसक्दा सुदूरपश्चिम अंकका आधारमा फाइनल पुगेको थियो । यसअघि पनि अन्य टिमले खेल हुन नसक्दा अंक बाँडेका थिए । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट छुट्याएको थियो ।

‘यो सबै बजेट सक्ने योजना हो, खेलकुदका लागि त फागुन–चैत उपयुक्त सिजन हो,’ जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका एक प्रशिक्षकले भने, ‘वर्षातमा न राम्ररी खेल्न सकिन्छ, न त मैदान नै राम्रो छ ।’ यस्तो अवस्थामा खेलाडीहरूमा चोटपटक लागेर घाइते हुने सम्भावना रहने उनले भनाइ थियो ।



प्रकाशित : असार २७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?