विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ — सिंगापुरमा आयोजना हुने आइसीसी टी-२० विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ । 

विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य-सचिव रमेश सिलवालले बिदाइ गरे ।


नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेको छ । सिंगापुरमा आयोजना हुने उक्त आइसिसी टी-२० विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिंगापुर जानुअघि मलेसिया जान लागेका हुन् ।


मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी-२० सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी-२० सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिंगापुर जानेछ ।


प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।


त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिंगापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।


नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

प्रकाशित : असार २४, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?