१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महिला विश्वकप, महिला प्रशिक्षक

प्रतियोगितामा सहभागी २४ मध्ये ९ टिमका प्रशिक्षकमात्र महिला थिए । सुखद संयोग के भने यसपल्ट तिनै टिममध्ये दुई फाइनल पुगेका छन् । 
(एएफपी)

लियोन — महिला विश्वकप फुटबलको इतिहासमा यस्तो भएको दोस्रोपल्ट मात्र हो । जति बेला अमेरिका र नेदरल्यान्ड्सबीच यसपालिको महिला विश्वकप फाइनल हुनेछ, बेन्चमा दुवै प्रशिक्षक महिला नै हुनेछन् । नेदरल्यान्ड्सका लागि सरिना वेगमन, डिफेन्डिङ च्याम्पियन अमेरिकाका लागि भने जिल एलिस । प्रतियोगितामा सहभागी २४ टिममध्ये ९ टिमका प्रशिक्षकमात्र महिला थिए । सुखद संयोग के भने यसपल्ट तिनै टिममध्येका दुई फाइनल पुगे ।

महिला विश्वकप, महिला प्रशिक्षक

सन् २००३ यता मात्र यस्तो सुखद संयोग जुरेको हो । चार वर्षअघि ५२ वर्षीया एलिसकै नेतृत्वमा अमेरिकाले क्यानडामा भएको विश्वकप जितेको थियो । यस्तोमा उनी विश्वकप इतिहासमै लगातार उपाधि जित्ने विश्वकप जित्ने प्रशिक्षक पनि हुनसक्छन् । पुरुष फुटबलमा पनि यस्तो उपलब्धि सन् १९३० तिर इटालीका भिटोरियो पोजोले हात पारेका थिए । वेगमन पनि आफ्नो टिमले जितेको उपाधिका अर्को उपाधि थप्न चाहन्छन् ।


उनको नेतृत्वमा नेदरल्यान्ड्सले पनि सन् २०१७ मा युरोपेली च्याम्पियनसिप जितेको थियो । एलिसका लागि भने उनले अहिलेसम्म जति सफलता हात पारेकी छन्, ती आफैंमा अद्वितीय छन् । उनले लामो समय भयो, फुटबलको करिअरमा समय बिताएको । कुनै प्रकारको सम्झौता नगर्ने उनको व्यवस्थापन शैलीकै कारण अमेरिका पछिल्लो विश्वकपमा विजयी रहेको थियो । त्यतिमात्र होइन, अमेरिका विश्वकपको फाइनल पुगेको पनि यो लगातार तेस्रोपल्ट हो ।


सन् २०१४ मा प्रशिक्षक हुनुअगाडि एलिसले अमेरिकी महिला फुटबलमा धेरै प्रकारको भूमिका निभाइसकेकी थिइन् । उनले त्यो देशको फुटबलका लागि धेरै काम गरिन्, जसले उनलाई धेरै मौका पनि दियो । शाही नाबिक कमान्डरका छोरी एलिस दक्षिण इंग्ल्यान्डको पोर्टसमाउथमा जन्मेहुर्केकी हुन् । त्यति बेला पनि फुटबल निकै लोकप्रिय खेल त थियो, तर यसलाई खाली पुरुषको खेलका रूपमा मात्र लिइन्थ्यो ।


किशोरी छँदै उनी अमेरिका पुगिन् । ‘इंग्ल्यान्डमा मैले फुटबल खेल्ने अवसर नै पाइनँ । तर अमेरिकाले मलाई फुटबलमा सबै सम्भावना दियो,’ उनले भनिन् । उनको यो भनाइ त्यति बेला आएको जति बेला सेमिफाइनलमा अमेरिकाले इंग्ल्यान्डलाई नै हराएको थियो । म्यानचेस्टर युनाइटेडकी समर्थक रहेकी उनी भन्छिन्, ‘मभित्र फुटबलको संस्कृति हुनुको कारण इंग्ल्यान्डमा जन्म लिनुले पनि हो । त्यसैका लागि अनुग्रहित छु । सायद इंग्ल्यान्डमा नजन्मेको भए, यस्तो हुने थिएन ।’


उनको स्वरमा अझै बेलायती लवज पाइन्छ । तर दाबी गर्छिन्, ‘अब त म शतप्रतिशत अमरिकी नै हुँ ।’ उनको टिम विश्वकप उपाधिलाई सबैभन्दा बलियो प्रत्याशी हो । उनको बाटोमा त्यस्ती महिला प्रशिक्षक छिन्, जसले सन् ८० को दशकतिर कलेजमा फुटबल सिकेकी थिइन् । वेगमनले तीन दशकअगाडि नर्थ क्यारोलिना विश्वविद्यालयमा फुटबल सिकेकी थिइन् । ‘म त्यो विश्वविद्यालयमा के गएकी थिएँ, मेरो जीवन नै फेरियो,’ उनी भन्छिन् ।


त्यसअघि सानो छँदा उनी हेगतिर थिइन् । कपाल छोटो हुने गर्थ्यो र उनी केटा साथीसँग फुटबल खेल्थिन् । पछि नेदरल्यान्ड्सकै लागि फुटबल खेलिन् र यसक्रममा १०० क्याप जित्ने पहिलो महिला खेलाडी बनिन् । तर उनको समयमा डच महिला फुटबल राम्रो स्थितिमा थिएन । २००७ तिर मात्र आएर हो, उनले फुटबललाई आफ्नो पूर्णकालीन पेसा बनाएको । २०१४ मा उनी डच टिमको सहायक प्रशिक्षक बनिन्, २०१७ मा भने प्रमुख प्रशिक्षक ।


उनको नेतृत्वमा नेदरल्यान्ड्सले १२ ठूला प्रतियोगिता खेलिसकेको छ । पछिल्लो समय टिमको कडा मिहिनेत र संघर्ष गर्ने गुण गज्जब छ । उनी भन्छिन्, ‘अमेरिकी र हाम्रो फुटबल संस्कृति नै फरक छ । नेदरल्यान्ड्समा फुटबल खेल जीवनका लागि महिलाले संघर्ष नै गर्नुपर्ने हुन्छ, नाम कमाउन त अब्बल दर्जाको फुटबल नै खेल्नुपर्छ ।’ उनले डच फुटबलमा आफ्नो स्थान बनाउन यही काम गरेकी छिन् । त्यसैले आइतबारको फाइनल खुबै हेर्नलायक हुनेछ । यो हुनेछ दुई महिला प्रशिक्षकको भिडन्त ।


महिला विश्वकपको पूर्व विजेता

वर्ष टिम

१९९१ अमेरिका

१९९५ नर्वे

१९९९ अमेरिका

२००३ जर्मनी

२००७ जर्मनी

२०११ जापान

२०१५ अमेरिका

२०१९ ?


प्रकाशित : असार २२, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?