३६ वर्षे जवान

(एएफपी)

बेलो होरिजोन्टे, ब्राजिल — ब्राजिली टिमका कप्तान ड्यानी अल्भेस ३६ वर्षको उमेरमा पनि युवा छन् । उनले आफ्नो ट्रफीको संख्यालाई थप गर्दै संन्यास लिने सोचेका थिए भने त्यसलाई बिर्सन सक्नेछन् । ब्राजिलले कोपा अमेरिकाको फाइनलमा आइतबार पेरुविरुद्ध रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा प्रतिस्पर्धा गर्दा अल्भेस मुख्य भूमिका निर्वाह गर्ने तयारीमा छन् । यी फुलब्याकमा पछाडि हट्ने कुनै संकेत देखिएको छैन ।

३६ वर्षे जवान

‘म कति वर्षको भएँ भन्ने मलाई थाह छ र त्यो भनेको फुटबलमा के हो भन्ने अर्थ पनि थाह छ । तर, मानिसहरूले नतिजा चाहन्छन् भन्ने मैले सिकेको छु,’ गत महिना पेरिस सेन्ट जर्मेन छाडेको घोषणा गरेयता क्लबविहीन रहेका अल्भेसले भने, ‘म त्यसप्रति केन्द्रित छु । म मेरो उमेरमा केन्द्रित भइरहेको छैन र मेराबारे मानिसहरू के भन्छन् भनेर पनि । म यहाँ कसैलाई चूप लाउन आएको होइन । सामान्य रुपमा भन्नुपर्दा म यहाँ मेरो काम गर्नलाई आएको हो ।’ उनको ‘ट्रफी क्याबिनेट’ मा यसअघि नै कोपा अमेरिका र अरु केही उपाधि जोडिएका छन् । उनी बाँचेको वर्षभन्दा बढी ट्रफी उनीसँग रहेको छ । उनले च्याम्पियन्स लिग तीनपल्ट जितेका छन् । युरोपेली महादेशीय क्लब स्तरमा पुरानो यूईएफए कप दुईपल्ट, क्लब विश्वकप तीनपल्ट, युरोपियन सुपर कप चारपल्ट हात पारेका छन् । उनले बार्सिलोनासँग ला लिगा ६ पल्ट, पेरिस सेन्ट जर्मेनसँग फ्रेन्च लिग वान दुईपल्ट र युभेन्ट्ससँग सिरी ‘ए’ एकपल्ट जितेका छन् । स्पेन, फ्रान्स र इटालीमा जितेका घरेलु कपका आठ उपाधिलाई उल्लेख गरिरहनु नपर्ला ।


अल्भेसले ब्राजिलसँग सन् २००७ को कोपा अमेरिका र दुईपल्ट कन्फेडेरेसन कपको उपाधि जिते । उनको टिमले कोपा अमेरिकाको सेमिफाइनलमा मंगलदबार अर्जेन्टिनालाई २–० ले हराएको थियो । त्यसमा उनले २० मिनेटभित्र अर्जेन्टिनी तीन खेलाडीलाई छक्याएर रोबर्टो फिर्मिनोलाई बल दिएका थिए र फिर्मिनोको क्रसमा ग्याब्रियल जेससले गोल गर्दै बेलो होरिजोन्टेमा ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसप्रति उनी सन्तुष्ट भएको हुनसक्छन् ।


अल्भेसको कौशल निकै सुन्दर हुने गर्छ । उनले चिप गर्दै मार्कुस एक्युनालाई उछिने, लिएन्ड्रो पाराडेसलाई गलत दिशामा स्लाइड हान्न लगाए र निकोलस टाग्लियफिकोलाई ओझेलमा पार्दै फिर्मिनोलाई पास दिएका थिए । ‘बक्स’ मा ब्राजिल थियो । काउन्टर एट््याकमा म्यानचेस्टर सिटीका जेससको पासमा फिर्मिनोले ‘ट्याप’ गरेर ब्राजिलले जित सुरक्षित गर्‍यो र फाइनलमा स्थान पक्का गर्‍यो ।


त्यो गोलमा अल्भेसको एक्लो दिमागको प्र्रतिबद्धता अर्को उदाहरण हो । बलसँग नहुँदा र रेफ्रीले नदेखेको अवस्थामा उनले मैदानमा सर्जियो अगुइरोसँग नोकझोक गरिहेका थिए । त्यस बेला अगुइरो खेलमा संलग्न भएका थिएनन् तर अल्भेसले कुनै अवसर दिइरहेका थिएनन् । त्यो नियमविपरीत थियो । फाउल थियो । त्यसमा पेनाल्टीसम्म पनि हुनसक्थ्यो । तर त्यसबाट अल्भेस टाढै रहे र सबै हिसाबले जित हात पारे । त्यसमा उनी लामो समयदेखि नै जानकार थिए भन्ने बुझ्न सकिन्छ ।


प्रकाशित : असार २१, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?