विक्रम बेलायतमा बिन्दास

नवीन पोखरेल

(लन्डन) — विदेशका दर्जनौं मुलुक घुमे पनि फुटबलर विक्रम लामालाई बेलायत बेग्लै अनुभूति भएको छ । ‘अरु बेला टिमसँग खेल खेल्न गएको हुन्थें । प्रशिक्षक र अफिसियलका अगाडि स्वतन्त्र हुन मिल्दैनथ्यो’, बुधबार साँझ व्यक्तिगत भ्रमणका लागि लन्डन उत्रिएका विक्रमले कान्तिपुरसँग भने, ‘अनुशासनभन्दा यसपल्ट बिन्दास छ । जता घुमे पनि, भेटे पनि कसैको रोकतोक हुने छैन ।’ 

यो होइन एक्लै भएर उनले बाटो बिराउने छन् । सोहोतिर टहलिने छन् । बरु फुर्सदिलो समय विभिन्न इंग्लिस क्लब र पदाधिकारी भेट्ने, नेपाली समुदायसँग साक्षात्कार गर्ने र लन्डनका केही ऐतिहासिक धरोहर अवलोकन उनको योजना छ ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा पहिलोपल्ट बेलायत आएका थ्रीस्टार क्लबका कप्तान विक्रम फिजियोथेरापी र खेल अभ्यास गर्ने योजनामा पनि छन् । नेपाली फुटबलमा उत्कृष्ट मिडफिल्डर मानिने उनी खुट्टाको चोटका कारण केही समय थलिएका थिए । २०७४ को फागुनमा धरानको बुढासुब्बा गोल्डकपमा खेल्दा घाइते हुँदा उनी झन्डै १ वर्ष थलिएका थिए ।

तीन महिनाअघि कुवेतमा कुवेतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलबाट उनले पुनरागमन गरेका हुन् । ‘राम्रो ठाउँ आएका बेला खुट्टाको फलोअप पनि गर्ने सोचेको छु’, उनले सुनाए, ‘फुटबलको जननी देशमा आउँदा यहाँका क्लब अवलोकन र अभ्यासका लागि कुरा भइरहेको छ । बेलायतको तीन साता बसाइ रचनात्मक काममा खर्चने छु ।’

आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्यान्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा मैत्रीपूर्ण खेल हुने घोषणा स्वागतयोग्य भएको उनले बताए ।

खेलाडी संघ बेलायत र एनआरएनए यूकेले विक्रमसँग साक्षात्कार कार्यक्रम तय गरिसकेको अध्यक्ष क्षेत्रीले जनाए । विक्रम २०१२ देखि राष्ट्रिय फुटबल टोलीसँग निरन्तर आबद्ध छन् । नेपालले २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा उनी महत्त्वपूर्ण खेलाडी थिए । उपकप्तानको जिम्मेवारी निभाउँदै उनले नेपाललाई फुटबलमा २३ वर्षपछि स्वर्ण जिताउन योगदान गरेका थिए । २०१६ मै बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र मलेसियामा आयोजित सोलिडारिटी कप विजेता नेपाली टोलीमा पनि विक्रम उपकप्तान थिए ।

प्रकाशित : असार २०, २०७६ २०:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अध्यागमन नियम फेर्दै बेलायत

पूर्वविदेशमन्त्री तथा प्रधानमन्त्रीका दाबेदार बोरिस जोन्सन ‘पोइन्ट’ मा आधारित अस्ट्रेलियन प्रणालीको पक्षमा
नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्रीका लागि बलियो दाबेदार ठानिएका बोरिस जोन्सनले अध्यागमन नियन्त्रणमा जोड दिएका छन् । प्रधानमन्त्री टेरेजा मेको राजीनामापछि कन्जरभेटिभ दलको नेता चयन प्रक्रियामा उनी निकै बलियो देखिएका छन् ।

प्रधानमन्त्री चयनको दौडमा पहिलो स्थानमा रहेका पूर्वविदेशमन्त्री जोन्सनले ब्रेक्जिटपछि अध्यागमन नियन्त्रण गर्न अस्ट्रेलिया जस्तो पोइन्टमा आधारित प्रणाली ल्याउने अठोट गरेका हुन् ।

सत्तारुढ दल कन्जरभेटिभको नेता बन्न प्रतिस्पर्धामा रहेका जोन्सन र जेरमी हन्ट अहिले विभिन्न बहसमा व्यस्त छन् । दलको नेता नै करिब महिना दिनपछि बेलायतको नयाँ प्रधानमन्त्री हुने निश्चित छ । पूर्वविदेशमन्त्री जोन्सनले बेलायतमा ‘पोइन्ट’ मा आधारित अस्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बनबारे राम्ररी हेर्न माइग्रेसन एड्भाइजरी कमिटीलाई आहृवान गर्ने बताएका हुन् । माइग्रेसन एड्भाइजरी कमिटी सरकारलाई अध्यागमनसम्बन्धी राय सुझाव दिने एक स्वतन्त्र निकाय हो ।

युरोपेली संघबाट बेलायतको बहिर्गमनबारेको जनमतसंग्रहको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जोन्सनले ‘अस्ट्रेलियाली प्रणालीबाट बेलायतले सिक्नुपर्ने’ बताएका छन् । तर, जोन्सनले अस्ट्रेलियन सिस्टमको कस्तो पक्ष अंगाल्न खोजेका हुन् भन्ने प्रस्ट भइसकेको छैन । बोरिसले उच्च शिक्षा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी र बेलायतमा भइसकेकाका परिवार झिकाउन कस्तो नियम चाहेका हुन्,त्यो स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियन प्रणालीमा उमेर, सिप, शैक्षिक योग्यता, अंग्रेजी भाषा ज्ञान, जागिर अफर आदिका आधारमा पोइन्ट दिइन्छ र उच्च स्कोर प्राप्त गर्न सक्नेले भिसा पाउँछन् । त्यसो त बेलायतमा यसअघि नै ईयूबाहेकका नागरिकका हकमा पोइन्टमा आधारित भिसा प्रणाली लागू भइसकेको छ । पढ्न ‘टियर फोर’ छ भने ‘टियर टु’ भिसाअन्तर्गत बेलायतमा जागिर अफर र तलब ‘थ्रेसहोल्ड’ पूरा भए काम गर्न अनुमति (वर्क परमिट) हुनेछ ।

ब्रेक्जिट जनमतसंग्रह हुनु करिब ३ साताअघि जुन २०१६ मा पनि जोन्सन, प्रीति पटेल, माइकल गोभलगायत नेताले अस्ट्रेलियन सिस्टमको समर्थन गरी विज्ञप्ति निकालेका थिए । त्यतिबेला ब्रेक्जिट पक्षधरले अर्को आमनिर्वाचनसम्म पोइन्टमा आधारित अस्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बन गर्ने बताउँदै ईयू नागरिकहरूको निर्बाध रूपमा बेलायत बस्न र काम गर्न पाउने अधिकारसहित ईयूले बेलायतको सामाजिक सुरक्षा प्रणालीमा जमाएको नियन्त्रण अन्त्य हुने जिकिर गरेका थिए ।

बेलायत सरकारको अहिलेको नीतिमा ब्रेक्जिटपछि दक्ष कामदारहरूले रोजगारदाताबाट स्पोन्सरसिपसहित वार्षिक न्यूनतम ३० हजार पाउन्ड तलब हुनुपर्ने प्रावधान छ । न्यून सिप भएका कामदारलाई पनि बेग्लै स्किम छ तर उनीहरूका लागि एक वर्षको मात्र भिसा हुने जनाइएको छ ।

बेलायत ईयूबाट बाहिरिनुपर्ने अभियान (लिभ क्याम्पियन) को प्रमुख मुद्दा नै अध्यागमन नियन्त्रण थियो । कन्जरभेटिभ नेतृत्वको सरकारले सन् २०१० देखि नै खुद आप्रवासन (मानिस बेलायतआउने र छाड्नेबीचको अनुपात)बर्सेनि एक लाखमा झार्नेप्रतिबद्धता व्यक्त गर्दै आएको छ ।यद्यपि, सरकारको यस योजना सोचेजस्तो भएन ।

बेलायत सरकारले ब्रेक्जिटपछि ईयू नागरिकलाई अहिले जस्तो बेलायत आउन र काम गर्न बन्देज लगाउने यसअघि नै घोषणा गरिसकेको छ । ब्रेक्जिट संक्रमणकाल सन् २०२१ पछि दक्ष कामदारहरूका लागि कस्तो अध्यागमन प्रणाली ल्याउने भन्नेबारे पनि परामर्श भइरहेको छ ।

प्रकाशित : असार १४, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×