२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चार विधाको मनोनयन सार्वजनिक : दोहोरिए सावित्रा र प्रिन्स

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड–२०७५ का लागि ४ विधाको मनोनयन सार्वजनिक गरेको छ । स्पोर्टस अवार्ड असार १७ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुँदै छ ।

मञ्चका सचिव गोविन्द रेग्मी संयोजक रहेको खेलाडी छनोट समितिले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । सबै विधामा ५–५ जना मनोनयनमा परेका छन् ।

वर्ष पुरुषको मनोनयनमा पाराग्लाइडिङका एसियाली रजत पदकधारी युकेश गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन् । युकेश १८ औं एसियाली खेलकुदमा नेपालले टिम क्रसकन्ट्रीतर्फ रजत जित्दाका सर्वाधिक स्कोर गर्ने खेलाडी हुन् । पारसको नेतृत्वमा नेपालले यूएईविरुद्ध शृंखला एकदिवसीय अन्तर्राष्ट्रिय जितेको थियो भने नेदरल्यान्डसँग बराबरी खेलेको थियो ।

यूएईसँगको शृंखलाका क्रममा सोमपाल एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । इन्द्रबहादुरले नेपालमा सम्पन्न दक्षिण एसियाली जुडोमा स्वर्ण तथा थाइल्यान्डमै भएको युनिभर्सिटी जुडोमा स्वर्ण जितेका थिए । शुक्रले व्यावसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए भने बंगलादेशमा भएको एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण जितेका थिए ।

वर्ष महिला खेलाडीमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ मनोनयनमा छन् । सावित्रा पिपल्स च्वाइस अवार्डको मनोनयनमा पनि छन् । नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्‍याउन तथा भारतमा भएको हिरो गोल्डकपको फाइनलमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको तथा नेपाललाई ओलम्पिक छनोटको दोस्रो चरणमा पुर्‍याउन मुख्य भूमिका निर्वाह गरेकी खेलाडी हुन् सावित्रा ।

सरस्वतीले एपीएफ क्लबलाई गत वर्ष खेलेका ११ मध्ये १० प्रतियोगिता दिलाउन मुख्य भूमिका खेलेकी थिइन् । त्यसमध्ये ९ प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी बनेकी थिइन् । थाइल्यान्ड वुमन ट्वान्टी–२० स्म्यासमा नेपालका लागि सर्वाधिक १ सय ३८ रनका साथै आईसीसी वुमन्स ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटमा मुख्य भूमिका निर्वाह गरेकी सीता पनि उत्कृष्ट महिला खेलाडीको मनोनयनमा छन् । दक्षिण कोरियाको युनिभर्सिटी तेक्वान्दोमा रजत जितेकी निमा र थाइल्यान्डमा भएको युनिभर्सिटी जुडोमा स्वर्ण तथा दक्षिण एसियाली जुडोमा कांस्य जितेकी मनिता दाबेदारमा छन् ।

युवा खेलाडीको मनोनयनमा एसियाली जुनियर स्वर्ण पदकधारी एथलेटिक्सका अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योन्जन र कराँतेका विजय श्रेष्ठ परेका छन् । प्रिन्स पनि पिपल्स च्वाइसको मनोनयनमा परेका खेलाडी हुन् ।

प्रशिक्षक विधामा एसियाली खेलकुदका रजत विजेता पाराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । वर्ष २०७५ भर गरेको प्रदर्शन आधारमा उत्कृष्ट खेलाडी छनोट गरी मनोनयन गरिएको संयोजक रेग्मीले जानकारी दिए ।

चारै विधाका विजेताको घोषणा अवार्ड समारोहकै दिन गरिनेछ । साथै अन्य विधा लाइफटाइम एचिभमेन्ट अवार्ड, उत्कृष्ट पारा एथलिट अवार्ड, स्पेसल अवार्ड, टिम अफ दी इयर, इन्टरनेसनल स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपुल्स च्वाइस अवार्डको घोषणा कार्यक्रमकै दिन गरिने मञ्चले जनाएको छ ।

पिपल्स च्वाइसमा प्रिन्स र सावित्रासँगै भलिबलकी रेश्मा भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने मनोनयनमा परेका छन् । उनीहरूले मतका आधारमा अवार्ड जित्ने छन् ।

प्रकाशित : असार ११, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?