'ठूला पूर्वाधारमा सरकार केन्द्रित’

कान्तिपुर संवाददाता

काठमाडौँ — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र निर्मित अडिटोरियम हलको सोमबार उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा हल निर्माण सुरु गरिएको थियो । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सोमबार हलको उद्घाटन गरे । सोही हलमा आठौं राष्ट्रिय खेलकुदको समीक्षा तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीबारे छलफल कार्यक्रम भएको थियो । मन्त्री विश्वकर्माले समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताए । उनले खेलकुदमा ठूला पूर्वाधार बनाउन सरकार केन्द्रित रहेको र साग समयमै आयोजना गरिने प्रतिवद्धता जनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद भव्यसँगै सम्पन्न भएसँगै १३औं सागलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा ल्याएको सुनाए । खेलकुद सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले गर्दा आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताउँदै राष्ट्रको प्रतिष्ठासँगै जोडिएको साग निर्धारित समयमै आयोजना हुनुपर्नेमा जोड दिए ।

विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहित सुझाव दिए । १३ औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्यसचिव विष्टको चारवर्षे कार्यकालमा आधारित यात्रा पुस्तक विमोचन गरियो । विष्टको कार्यकाल मंगलबार सकिँदै छ ।

प्रकाशित : असार १०, २०७६ ०८:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जिप दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका २ को कमरेफाँट नजिक मंगलबार बिहान भएको जिप दुर्घटनामा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

हलेसी दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनामा परि मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३१ का ६० वर्षीय अच्यूत लामिछाने र उनकी बुहारी वर्ष ४५ की हेमा लामिछाने भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

बा १३ च ३७९३ नं को जिप अनियन्त्रित भइ सडकबाट दुईसय मिटर तल खसेको थियो। दुर्घटनामा परि घाइते भएकी वर्ष २६ की आस्था लामिछानेलाई उपचारका लागि काठमाडौं लगिएको छ। चालक दीपक लामिछाने सामान्य घाइते भएको र प्रहरीले दुर्घटनाकाे छानबिन गरिरहेको प्रनाउ थापाले बताए।

प्रकाशित : असार १०, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×