१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लायनप्रति बोर्डरको विश्वास

रोयटर्स

लन्डन — अस्ट्रेलिया र इंग्ल्यान्ड मंगलबार विश्वकपमा आमने–सामने हुँदा बलिङ महत्त्वपूर्ण हुने र साबिक विजेता अस्ट्रेलियाले स्पिनर नाथन लायनलाई राउन्ड रोबिन लिगमा प्रयोग गर्नुपर्ने पूर्व कप्तान एलन बोर्डरले बताएका छन् ।

लायनप्रति बोर्डरको विश्वास

१० राष्ट्रसम्मिलित प्रतियोगितामा अस्ट्रेलिया अंकतालिकाको शीर्षस्थानमा छ । न्युजिल्यान्ड र इंग्ल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । श्रीलंकाले शुक्रबार दाबेदार मानिएको इंग्ल्यान्डलाई २० रनले स्तब्ध पार्दा सदाबहार लासिथ मालिङ्गाले उत्कृष्ट तीव्र बलिङ प्रदर्शन गरेका थिए ।


बोर्डरकै कप्तानीमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरी सन् १९८७ को विश्वकप जितेको थियो । आरोन फिन्चको अस्ट्रेलिया पनि यसपालि राम्रै लयमा देखिएको छ । लर्ड्समा हुने क्रिकेटको पुरानो प्रतिद्वन्द्वितालाई हेर्न आफू व्यग्र रहेको बोर्डरले जनाए । देव्रेहाते तीव्र गतिका बलर मिचेल र्स्टाक प्रतियोगिताको संयुक्त उच्च विकेट लिने खेलाडी हुन् ।


अस्ट्रेलियाबाट अहिलेसम्म प्रतियोगितामा नखेलाइएका एकमात्र खेलाडी अफ स्पिनर लायनलाई खेलाइएमा पाँचपल्टको विजेता टोलीको बलिङ अझ सन्तुलित हुने बोर्डरको विश्वास छ । ‘मैदानमा अझै शतप्रतिशत देखिएको छैन, त्यही भएर नाथन लायनलाई बाँकी यी केही खेलमा हेर्नुपर्छ,’ बोर्डरले आईसीसीको मिडियामा भनेका छन्, ‘उनी विकेट लिने खेलाडी हुन्, उनलाई ब्याट्सम्यान कसरी आउट गर्नुपर्छ भन्ने थाहा छ । निश्चय पनि टेस्ट बलिङ फरक हो । तर लायन आक्रामक बलर हुन् र उनमा विविधता छ ।’


लायनको स्थानमा अर्का स्पिनर एडम जाम्पालाई खेलाइएको थियो । उनले त्यसमा ६ ओभरमा ५० रन खर्चन पुगेका थिए । बंगलादेशसँग उनले ६ ओभरमा ६८ रन खर्चेर १ विकेट लिएका थिए । जाम्पा नखेलाउँदा अस्ट्रेलियाले ग्लेन म्याक्सवेललाई अलराउन्डको भूमिकामा उतारिरहेको छ ।

प्रकाशित : असार ८, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?